‘तरलता अभाव समस्या चाँडै समाधान हुन्छ’

Read Time = 6 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता समस्या चाँडै समाधान हुने बताउनुभएको छ । बैंकिङ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इण्डिया-नेपाल सेन्टर, पिएचडी चेम्बर अफ कमर्स भारतको सहकार्यमा नेपाल इण्डिया बिएफएसआई पार्टनरसिप समिट–२०२२ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल र भारतमा समेत छोटो समय देखिएको तरलता अभाव चाँडै नै समाधान हुने उहाँको भनाइ छ । विगत तीन महिनामा निर्यात वृद्धि भएकाले भुक्तानी सन्तुलन सकारात्मक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा दुई देशबीच बैंक, वित्तीय संस्था र इन्स्योरेन्स क्षेत्रका रेगुलेटरी र कमर्सियल नीति थप प्रभावकारी बनाउनुपर्ने विज्ञहरूले जोड दिएका छन् ।

उक्त सत्रको चेयर राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गर्नुभएको थियो भने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, डा. प्रकाशकुमार श्रेष्ठ, रामु पौडेल, गुरूप्रसाद पौडेलले दुई देशबीच देखिएका व्यावहारिक र नीतिगत व्यवस्थाका सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

भारतका बिएफएसआई विज्ञ अनुकुल भट्नाकरले सहकार्यका क्षेत्र र टेक्नोलोजीको विकासले वित्तीय क्षेत्रमा पार्ने प्रभावबारे चर्चा गर्नुभएको थियो भने सुदिन राय चौधरीले दुई देशबीचको बीमा क्षेत्रमा थप सहकार्य गर्न सकिने बताउनुभएको थियो ।

दुई देशबीच बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स क्षेत्रमा सम्भावित सहकार्यका सम्बन्धमा नेपालमा जलविद्युत्का साथै कृषिमा समेत लगानीको सम्भावना रहेको विज्ञहरूले बताए । पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अध्यक्षता गर्नभएको उक्त सत्रमा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रधुमन पोखरेल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधर, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, नेपाल एसबिआई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत एमडी रिजवान आलमले नेपालतर्फबाट बोल्नुभएको थियो भने भारततर्फबाट केएलएसएन राव साउदन इण्डिया बैंकर्स स्टाफ ट्रेनिङ कलेजका प्रिन्सिपलले बोल्नुभएको थियो । बैंक तथा वित्तीय क्षेत्रमा भारतले गरेको प्रगति र अनुभवबाट नेपालले टेक्नोलोजी टान्सफर, लगानी प्रवद्र्धन र सहकार्यका सम्बन्धमा हाल भइरहेको लगानी र थप लगानीका क्षेत्र तथा नीतिगत सुधारका सम्बन्धमा सहभागीहरूले जोड दिएका थिए ।

अनुकुल भट्नाकरले अध्यक्षता गर्नुभएको उक्त सत्रमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीको वातावरण र हाल भइरहेको लगानीका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र भारततर्फबाट सीमा जागरण मार्चले लगानी विस्तार र सहकार्यमा जोड दिनुभएको थियो ।

कार्यक्रमका विभिन्न सत्रहरूमा नेपालमा लगानीका अवसर, विद्यमान नीतिगत व्यवस्था, समस्या र बैंक तथा वित्तीय संस्था र नियामक निकायका सम्बन्धमा कार्यक्रममा छलफल भएको थियो । इण्डिया-नेपाल सेन्टर, पिएचडी चेम्बर अफ कमर्सका नोडल कोअर्डिनेटर अतुल ठाकुरले अध्यक्षता गर्नुभएको उक्त सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले इण्डष्ट्रियल रिलेसन वि टु इन नेपाल एण्ड इण्डिया विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका डेपुटी कार्यकारी निर्देशक सुयस खनाल, सूर्य नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रवि रायवरम, डाबर नेपालका बिजनेस हेड एचएस वेदीले लगानी विस्तार र नीतिगत सुधारमा जोड दिनुभएको थियो ।

उक्त कार्यक्रममा दुई देशबीचका बैंक तथा वित्तीय संस्थाबीच लगानी, रेमिट्यान्स, व्यापार, बैंकिङ क्षेत्रका समस्या र समाधानका लागि नीतिगत सुधार र सहकार्यको उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?