गठबन्धन पाँच वर्ष रहन्छ, प्रधानमन्त्रीबारे शीर्ष नेता बसेर निर्णय हुन्छ : गृहमन्त्री खाँण

हिमालय टाइम्स
Read Time = 5 mins

रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका बालकृष्ण खाँणले अब पाँचदलीय गठबन्धनको सरकार बन्ने बताउनु भएको छ ।

भैरहवामा आइतबार भएको पाँचदलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाँणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई मजबुत बनाउँदै जनताको अवस्था सुधार्न गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यहीअनुरुप अगाडि बढिने बताउनुृ भयो । यो गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने पनि खाँणले बताउनु भयो।

प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने गृहमन्त्री खाँणको भनाइ छ । ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ,’ गृहमन्त्री खाँणले भन्नुभयोे, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्रीसमेत रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ । पाँचदलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका खाँणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको वताउनु भयो। खाँण राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरासँग पराजित हुनुभएको थियो ।

‘निर्वाचनमा पराजयलाई सहजतापूर्वक लिन गाह्रो हुन्छ । तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ । तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ गृहमन्त्री खाँणले भन्नुभयो । आफू गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफै उम्मेदवार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको र त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको खाँणले बताउनु भयो।
गृहमन्त्रीका रुपमा प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रुपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको खाँणले बताउनु भयो ।

जनताको लामो संघर्षपछि आएको व्यवस्थालाई मजबुत बनाउन गठबन्धन निर्माण गरेर त्यसलाई पाँच वर्ष चलाउनुपर्छ भन्ने विषयको सुत्रधार भएकाले गठबन्धन विरोधीहरुको तारोमा आफू परेको पनि गृहमन्त्री खाँणले बताउनु भयो। आफूले निर्वाचनमा पराजय व्यहोरेपनि गठबन्धलाई टिकाइराख्न भरमग्दुर प्रयास गरिरहने उहाँको भनाइ थियो । गठबन्धन नगरी मुलुकको राजनीति सम्हाल्न र मुलुकमा विकासको गति अगाडि बढाउन नसकिने उहाँको दावी थियो ।

आफ्नै पार्टीका केही नेता गठबन्धनको विरुद्धमा लागिरहेको भन्दै त्यो प्रयास सफल हुँन नदिने गृहमन्त्री खाँणको भनाइ थियो । आफू सरकारमा भएपनि नभएपनि गठबन्धनका पक्षमा रहने र सफल पार्न लागिरहने उहाँको भनाइ थियो । बैठकमा बोल्ने अन्य नेताहरुले गठबन्धनमा रहेका दलहरुका आन्तरिक कारणले राम्रो जनमत हुँदाहुँदै पनि पराजय व्यहोर्नुपरेको बताउनु भयो।

बैठकमा गठबन्धनकातर्फबाट उम्मेदवार भइ प्रदेश सभा ३ (१) मा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष कुमार पाण्डेयलाई गृहमन्त्री खाँणले सम्मान गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?