बैतडीमा प्रत्यक्षतर्फ ८ हजार बढी मत बदर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीमा प्रत्यक्ष तर्फ ८ हजार बढी मत बदर भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ मात्रै ८ हजार ७९५ मत बदर भएका सहायक निर्वाचन अधिकृत तिर्थराज आचार्यले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फ ७७ हजार ४६० मत खसेको थियो । जसमध्ये ४ हजार ९६२ मत बदर भएका छन् । प्रतिनिधिसभा तर्फ खसेको मत मध्ये ७२ हजार ४९८ मत सदर भएका हुन् ।

प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश सभाको प्रत्यक्ष तर्फ ३ हजार ८३३ मत बदर भएका छन् । प्रदेश सभा (क) मा ४० हजार १५५ मत खसेकोमा २ हजार १३ मत बदर भएका सहायक निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।

प्रदेश सभा (क) मा ३८ हजार १४२ मत सदर भएका छन् । यस्तै प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ १ हजार ८२० मत बदर भएका छन् । ३७ हजार २८० मत खसेकोमा १ हजार ८२० मत बदर भएको सहायक निर्वाचन अधिकृत तिर्थराज आचार्यले बताउनुभयो । यहाँ ३५ हजार ४६० मत सदर भएका छन् ।

यसैगरी प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक तर्फको बदर मतको संख्या प्रत्यक्षको भन्दा बढी छ । प्रतिनिधि सभा समानुपातिक तर्फ ७७ हजार ७६१ मत खसेकोमा ७२ हजार ३४० मत सदर भएका छन् भने ५ हजार ४२१ मत बदर भएका छन् । प्रदेश सभा सदस्य समानुपातिक तर्फ ७७ हजार ४२३ मत खसेकोमा ७२ हजार ३६८ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै ५ हजार ५५ मत बदर भएका छन् ।

निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा प्रत्येक निर्वाचनमा यहाँमा मत बदर हुने गरेका छन् । यता जिल्ला निर्वाचन कार्यालय बैतडीमा प्रमुख माधव प्रशाद फुयाँलले मतदाता शिक्षा कार्यक्रम प्रभाकारी भएको दावी गर्दै राजनितिक दलका कारण मत बदर भएको बताउनुभयो । ‘सबै दलका उम्मेदवारहरु मत माग्न गए , मतदाता अलमलमा परे र मत बदर भए’ उहाँले भन्नुभयो ।
प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी यहाँ १९ हजार २७१ मत बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?