नेपाल टी-२० लिग अन्यौंलमा, काठमाडौंले हात झिक्यो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि-२० लिगको आयोजना अन्यौंलमा परेको छ । लिगको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले प्रतियोगिताबाट हात झिकेपछि लिग अन्यौलमा परेको हो । मंसिर २६ देखि सुरु हुने भनिएको प्रतियोगिता सुरु हुनु दुई हप्ताअघि कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले नाम फिर्ता लिएको हो । क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले कान्तिपुर आधिकारिक रुपमा नै बाहिरिएको बताउनुभयो ।

‘काठमाडौं आधिकारिक रुपमै बाहिरिएको हो’, मल्लले हिमालय टाइम्ससँग भन्नुभयो, ‘हाम्रो बाँकी सबै तयारी भएको छ । काठमाडौंको ठाउँमा अब अर्को फ्रेन्चाइज आउँछ ।’ मल्लले प्रतियोगिता एकहप्ता पछि सर्नसक्ने बताउनुभयो । उहाँले आइसिसीमा नयाँ मितिका लागि अनुरोध गर्नुपर्ने बताउनुभयो । कान्तिपुर गोर्खाज टिमले भने अदालतमा मुद्दा रहेको र भविष्य सुनिश्चित नभएका कारण आफूहरूले प्रतियोगिताबाट हात झिकेको बताएको छ ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) ले क्यान र भारतीय कम्पनीबीच भएको सम्झौता नेपालको कानुन विपरित रहेको र यो प्रक्रिया पारदर्शी नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । उसले भारतीय कम्पनीलाई बिना प्रतिस्पर्धा आयोजनाको अधिकार दिने निर्णय तत्काल रोक्का गर्न (स्टे अर्डर) गर्न माग समेत गरेको छ । क्यानले विना खुल्ला प्रतिस्पर्धा विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टि–२० लिग आयोजना अधिकार आठ वर्षका लागि ३३ करोडमा बेचेको थियो ।

दुई सातापछि सुरु हुने भनिएपछि लिगको हालसम्म कुनै तयारी गरिएको छैन । कान्तिपुर गोर्खाजका एक सदस्यले प्रतियोगिताको कुनै टुंग्गो नभएकाले आफ्नो लगानी जोखिममा पार्न नचाहेको बताउनुभयो । प्रतियोगिता यही महिनाबाट हुने भने पनि अदालतको प्रक्रिया नटुंग्गिएको तथा कानुनी कुरामै प्रष्ट नभइसकेकाले प्रतियोगिताबाट बाहिरिनुपरेको उहाँले बताउनुभयो ।

काठमाडौं फ्रेन्चाइजकी सिइओ भावना घिमिरेले यो मालिकहरूको कुरा हुँदा आफू बोल्न नमिल्ने बताउनुभयो । नेपाल टि-२० लिगमा काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।

कान्तिपुरले विदेशी खेलाडी श्रीलंकाका थिसरा परेरा, कामिन्दु मेन्डिस, धनन्जय डि सिल्भा, दर्शनप्रिय विराकोडी र मलेसियाका विरनदीप सिंहलाई अनुबन्ध गरेको थियो । कान्तिपुरको टोलीमा ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी नेपाली खेलाडीका रुपमा रहनुभएको थियो । कान्तिपुरले हात झिकेपछि अब यी खेलाडीको के हुन्छ भन्नेबारे क्यानले केही बताएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?