प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा चुनौती !

बहिष्कार अभियानमा साना कम्युनिष्ट पार्टी, सरकार चनाखो

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । दलहरू चुनावी अभियानमा व्यस्त छन् । विभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरघरमा पुगिरहेका छन् । निर्वाचन आयोगले पनि निर्वाचनको तयारी तीव्रताका साथ गरिरहेको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । एकातिर निर्वाचनको तयारी व्यापक रूपमा भइरहँदा अर्कोतिर एउटा समूह भने निर्वाचन बिथोल्ने अभियानमा लागेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा र स्थानीय चुनावमा नेकपाबाटै विभाजन भएर बनेको नेकपा (बहुमत)लगायतका दलहरूले चुनाव बहिष्कार अभियानमा छन् । उनीहरूले ठाउँठाउँमा चुनाव बहिष्कारका नाममा भण्डाफोर सभा गरिरहेका छन् । नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपाल नामका पार्टीले गत बुधबार काठमाडौंमा चुनाव बहिष्कार सभा गरेका थिए ।

सभामा बहुमतका संयोजक धमेन्द्र बास्तोला, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैैद्य किरण लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेकपा (बहुमत)का संयोजक कञ्चनले संसदीय चुनावका कारण देश र जनताले हार्ने तर साम्राज्यवादले जित्ने भएकाले यसको सशक्त अवज्ञा/बहिष्कार गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, चुनाव खारेज÷बहिष्कारको कार्यनीति लिएका तीन कम्युनिष्ट पार्टीले शनिबार पूर्वको इटहरीमा भण्डाफोर सभा गरेका थिए । विप्लव नेकपासहितका तीन दलले चुनावविरुद्ध देशव्यापी विरोध तथा जनपरिचालन गरिरहेका छन् । भण्डाफोर सभा गर्ने मात्रै होइन उनीहरू संसदीय चुनावविरुद्ध घरदैलो कार्यक्रमसमेत गरिरहेका छन् । देशका विभिन्न ठाउँमा उनीहरूले चुनाव बहिष्कार गर्न भित्ते लेखनदेखि मसाल जुलुससम्म गर्दै आएका छन् । यसपालि चुनाव बहिष्कारको नीति लिएका यिनै कम्युनिष्ट पार्टीहरू सुरक्षा चुनौतीका रूपमा देखिएका छन् ।

शान्तिपूर्ण चुनावी खारेज अभियानमा बल प्रयोग गरे कडा प्रतिवाद गर्छौं : प्रकाण्ड
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दलालहरूको सेवा र संरक्षण गर्ने निर्वाचन बहिष्कार र खारेज गर्नु आफूहरूको दायित्व भएको बताउनुभएको छ । सोमबार बुटवलमा आयोजित चुनाव बहिष्कार सभालाई सम्बोधन गर्दै उहाँले मंसिर ४ को निर्वाचनले दलाल पुँजीपतिहरूको सेवा र संरक्षण गर्ने र जनताको समस्या जस्ताको तस्तै हुने भएकोले निर्वाचन बहिष्कार गर्नुको विकल्प नभएको बताउनुभएको हो । ‘देशको अस्तित्व र जनताको अधिकारलाई दबाउने संसदीय व्यवस्थाको निर्वाचन बहिष्कार गरेरै छाड्छौँ,’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचारी, दलाल र अपराधीलाई चोख्याउन निर्वाचन आयोगले एउटा लाइसेन्स दिएर आयोजना गरिएको हुनाले यसलाई सबै नेपाली जनताले खारेज गर्नुपर्छ । यो नेपाल र नेपालीहरूको लागि दुःख निम्त्याउने निर्वाचन हो ।’ चुनाव खारेजी अभियान शान्तिपूर्ण हुने बताउँदै उहाँले सरकारले बल प्रयोग गरे प्रतिवाद गर्ने चेतावनीसमेत दिनुभयो । ‘हाम्रो शान्तिपूर्ण चुनावी खारेज अभियानलाई जसले बल प्रयोग गर्छ, त्यसको कडा प्रतिवाद गर्छौं,’ उहाँले भन्नुभयो, ‘क्रान्तिकारी पार्टी र क्रान्तिकारी जनताले त्यसै छोड्नेवाला छैन । खरानी बनाएर छाड्छौँ ।’

निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुन दिइन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया
विप्लव सहितका दलहरूले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेसँगै सरकार र सुरक्षा निकाय चनाखो बनेका छन् । प्रहरीले निर्वाचनविरोधी गतिविधि गर्नेलाई निगरानी गरिरहेको जनाएको छ । चुनाव बिथोल्ने गतिविधि गरिरहेको अवस्थामा केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन बिथोल्ने खालका गतिविधि गर्ने सम्भावना बढेपछि सुरक्षा रणनीतिसमेत परिवर्तन गर्ने आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सुरक्षा निकायहरूसँग गम्भीर रूपमा छलफलमा भइरहेको बताउनुभयो । शान्तिपूर्ण रूपमा कसैले चुनावमा भाग लिन्न भन्न पाउने तर बिथोल्ने गतिविधि गर्न नमिल्ने उहाँको भनाइ छ । निर्वाचन बिथोल्ने खालका कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने उहाँको भनाइ छ । ‘जुन राजनीतिक समूहले जे भनेको छ, त्यो विषयलाई लिएर हुने दंगाहरूको सम्बन्धलाई गम्भीर रूपमा लिएर छलफलमा गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘तदनुसार नै सुरक्षा योजनाको पुनरवलोकन गर्छौँ । यो निर्वाचन बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिइन्न । ’

मतदातालाई आतंकित पारे सरकार चुप लाग्न सक्दैन : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले निरन्तर निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताउँदै आउनुभएको छ । कसैले निर्वाचन बिथोल्ने प्रयास गरे सरकारले कारबाही गर्ने उहाँको भनाइ छ । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरूको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ गृहमन्त्री खाँणले भन्नुभयो, ‘कुनै दल वा समूहलाई निर्वाचन बिथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन,’ उहाँले भन्नुभयो । यसै सन्दर्भमा सरकारले निर्वाचन बिथोल्ने अभियानमा लागेको नेकपासँग सरकारले वार्तासमेत गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा प्रवक्ता प्रकाण्डसँग गत मंगलबार वार्ता गर्नुभएको थियो । नेकपालाई मूलधारको राजनीतिमा ल्याउन वार्ता भएको गृहमन्त्री खाँणले बताउनुभयो । रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री खाँणले जेलमा नेकपा कार्यकर्तालाई प्रक्रिया मिलाएर छोड्ने विषयमा छलफल भएको बताउनुभएको थियो । ‘उहाँहरू शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट धरपकड हुनेछैन,’ उहाँले भन्नुभयो, ‘तर, मतदातालाई आतंकित पारे सरकार चुप लाग्न सक्दैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?