करबाकेली इको ट्रेकमा संग्रहालय सञ्चालन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडास्थित करबाकेली इको ट्रेकमा मगर समुदायमा लोपोन्मुख सामग्रीहरूको संकलन गरेको संग्रहालय स्थापना गरिएको छ । पुन समुदायको कला, संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न स्थापना गरिएको संग्रहालयको सगरमाथा आरोही तथा नायिका दिया पुनले उद्घाटन गर्नुभएको छ ।

लोप हुन लागेको पुन समुदायको कला संस्कृतिको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर संग्र्रहालय स्थापना गरिएको करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले बताउनुभयो । संग्र्रहालय उद्घाटन गर्दै पुनले पुर्खाहरूले दैनिक जीवनयापनका लागि प्रयोग गरेका सामग्री, उनीहरूको कला संस्कृति नयाँ पुस्ताका लागि खोज अनुसन्धान गर्न संग्र्रहालयले सहयोग पुग्ने बताउनुभयो ।

नयाँ पुस्ताका लागि अध्ययनको थलो बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । संग्रहालय उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले संग्र्रहालयले पुर्खाहरूको पहिचानको संरक्षणमा टेवा पुगेको बताउनुभएको छ ।

‘हाम्रो मौलिक कला संस्कृति, भेषभूषा र परम्परागत जीवनशैलीका बारेमा नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ,’ नायिका पुनले भन्नुभयो, ‘संग्र्रहालयले मौलिक कला संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि टेवा मिल्ने विश्वास छ ।’ संग्रहालय उद्घाटनका अवसरमा पुन समुदायको मौलिक पुख्र्यौली नृत्य प्रदर्शन गरिएको थियो ।

पुन समुदायका पुर्खाहरूको दैनिक जीवनयापनमा झल्किने, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरू संकलन गरेर संग्र्रहालयमा राखिएको छ । परम्परागत सामग्री, पोशाक, हातहतियार, भाँडा, गहना, पुराना पुस्तक र धातुका सिक्काहरू पनि संग्र्रहालयमा अवलोकनका लागि राखिएको छ । उद्घाटनसँगै मंगलबारदेखि संग्र्रहालय अवलोकनका लागि खुला गरिएको छ । संग्र्रहालयका लागि परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुईतले भवन निर्माण गरिएको छ ।

संग्र्रहालय बनाउन संस्थागत र व्यक्तिगतरूपमा ८१ लाख ८३ हजार सहयोग जुटेको र ८० लाख ३९ हजार तीन सय ४५ रुपैयाँ खर्च भएको करबाकेली संरक्षण समितिका सचिव रवि पुनले बताउनुभयो । कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीहरूलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने योजना रहेको छ । करबाकेली बाबा संरक्षण समितिका संरक्षक पुनले भन्नुभयो, ‘परम्परागत सीप र सामानको प्रयोगबाट मौलिकता झल्काउने उद्देश्यले निर्मित भवनमा पुन समुदायको अगुवाइमा संग्रहालय स्थापना गरिए पनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाउने योजनासहित संग्रहालय सञ्चालनमा ल्याएका छौँ ।’

हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाँडाकुँडा र दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिने भएको छ । करबाकेली इको ट्रेकमा संग्र्रहालयका साथै जंगल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरता थप विशेषता रहेको छ । समुन्द्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमशृंखलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ ।

बेनीदेखि वैसरीसम्म सवारीसधानको यात्रा र त्यसपछि तीन घण्टाको पदयात्रापछि करबाकेली थान पुग्न सकिन्छ भने सवारीसाधन प्रयोग गरेर तिप्ल्याङ, दोसल्ले, औल, रिम हुँदै करबाकेली पुग्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?