आमनिर्वाचन र मतपरिणामले ल्याएको राजनीतिक तरंग

डा. डीआर उपाध्याय
Read Time = 12 mins

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आउन अझै बाँकी छ । संविधान बनेपछिको दोस्रो आमनिर्वाचन हो यो । अहिलेको यो आमनिर्वाचन मतपरिणामले राजनीतिक तरंग ल्याएको छ । किनभने कसैले नसोचेको सिट संख्यासहित नयाँ राजनीतिक शक्ति पनि यो निर्वाचनबाट उदय भएको छ । यसलाई सामान्य रूपमा लिनु हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीको सिट संख्यालाई कसैले कमजोर ठान्नु हुँदैन । पुराना दलहरू प्रतिको वितृष्णाको परिणाम हो यो । पुराना दलहरूले राम्रो काम गरेर देखाएको भए नयाँ राजनीतिक शक्तिको उदय हुने थिएन । देशमा राम्रो काम हुन नसकेपछि जनता बाध्य भएर नयाँ विकल्प खोज्छन । अहिले भएको त्यही हो ।

आजभोलि नयाँ सरकार गठनबारे विभिन्न चर्चा-परिचर्चा हुन थालेका छन् । दलीय अंकगणित पूर्णरूपमा अझै आएको छैन । तैपनि नयाँ सरकार गठनबारे एक खालको बहस चलिरहेकै छ । यो निर्वाचनबाट पुराना दलहरूले पाठ सिक्नुपर्ने भएको छ । पटक-पटक गल्ती दोहो¥याउने छुट अब दलहरूलाई छैन । देश र जनताको भाग्य र भविष्य निर्माणमा दलहरू गम्भीर बन्न जरुरी छ । यो निर्वाचनमा जुन प्रकारको नतिजा सार्वजनिक भएको छ, सम्भवतः निर्वाचन हुनुअघि यस्तो नतिजाको कल्पना प्रमुख भनिएका ठूला दलले गरेका थिएनन् । खासगरी यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदयले राजनीतिक सन्देश दिएको छ ।

संघीयता खारेजीको पक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि एउटा राजनीतिक शक्ति बनेर उदाएको छ । गणतन्त्र नै खारेज हुनुपर्छ भन्ने नारा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि उदय भएको छ । यसले गर्दा आगामी राजनीतिक यात्रा त्यति सहज हुने देखिँदैन ।

गत स्थानीय तहनिर्वाचन परिणामपछि यो स्थिति आउँछ भन्ने धेरैले सोचेका थिए । सत्ता गठबन्धनले भने सोचेजस्तो नतिजा ल्याइरहेको छैन । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसबाट आमनागरिकले आफूले चाहेका प्रतिनिधि छनोट गर्न पाउँछन् । निर्वाचनमा हारजित हुनु स्वभाविक प्रक्रिया हो । निर्वाचन परिणामले आममतदाता पुराना दल र तिनका नेतासँग निकै असन्तुष्ट छन् भन्ने स्पष्ट देखाउँछ । अधिकांश ठाउँमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेका शीर्ष नेताहरूले हार व्यहोनु परेको छ । चर्चामा रहेका ठूला नेताले हारेका छन् । निर्वाचन नतिजाले आगामी दिन देशका लागि त्यति सहज नहुने स्पष्ट संकेत गरेको छ । एकातिर नितान्त संघीयता, पहिचान र जातीय–क्षेत्रीय मुक्तिको मुद्दा उठाएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको उदय भएको छ भने अर्कातिर संघीयता खारेजीको पक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि एउटा राजनीतिक शक्ति बनेर उदाएको छ । गणतन्त्र खारेज हुनुपर्छ भन्ने नारा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि उदय भएको छ । यसले गर्दा पनि आगामी राजनीतिक यात्रा त्यति सहज हुने देखिँदैन ।

अहिलेको यो निर्वाचन परिणामले ठूला राजनीतिक दलहरूलाई नराम्रोसँग झस्काएको छ । उनीहरूले सोचे जस्तो परिणाम हात पार्न सकेनन् । जसले गर्दा आज ठूला राजनीतिक दलहरू छटपटीमा छन् । विचार र सिद्धान्त नमिल्नेसँग गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र समाजवादी पार्टीको सिट संख्या सोचेजस्तो आएन् । अबको राजनीति के हुन्छ यसै भन्न सकिने अवस्था छैन । पाँच महिनाअघि मात्र गठन भएको रवी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आमजनताले सोचेभन्दा बढी सिट संख्या ल्याएको छ । यसले गर्दा राजनीतिमा एक खालको तरंग उत्पन्न भएको छ । पुराना दलहरूले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाएको भए यो स्थिति आउँने थिएन । पुराना दलहरू प्रतिको वितृष्णाको परिणाम हो यो । कुनै दलको प्रष्ट बहुमत नआएपछि अब राजनीतिक अस्थिरता बढने खतरा बढेर गएको छ । आगामी पाँच वर्ष सरकार बनाउने र गिराउने खेलमात्र हुने संकेत देखापरेको छ । जसले गर्दा राजनीतिक अन्योलता देखिन्छ । यो निर्वाचन परिणामले युवा नेतृत्व खोजेको संकेत देखाउँछ । अबको नयाँ नेपाल निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहने देखिन्छ । नेपालको राजनीतिमा युवाको आगमनले केही उत्साह भने पक्कै थपेको छ । पुराना दल र तिनका शीर्ष नेताहरूको वरिपरि घुमेको राजनीतिलाई अब युवाले चिरेर अघि बढ्न सके भने अझै केही आश गर्ने ठाउँ छ ।

आमनिर्वाचनमा युवाको जबर्जस्त प्रवेशले शीर्ष नेताहरूको टाउको दुखाइ अवश्य नै हुने छ । दलहरूले विचार र सिद्धान्तलाई बिर्सेर सत्ता स्वार्थको जुन राजनीति गर्दै आएका थिए त्यो अब अन्त्य हुनुपर्छ । अबको राजनीतिक पार्टीको विचार र दृष्टिकोण प्रष्ट हुनुपर्छ । जनतालाई ढाँटेर गरेको राजनीति टिक्दैन । माओवादी केन्द्र झन्झन् खस्किँदै गएको छ । कारण के हो ? अब माओवादी केन्द्रले आत्मसमीक्षा गर्नुपर्ने देखिएको छ । सबै राजनीतिक दलको चुनावी नारा भनेको समृद्ध नेपाल हो । देशको विकास र जनताको समृद्धि नै आजको आवश्यकता हो ।

यो दिशातर्फ दलहरू अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । पुराना दलहरू इमानदार नहुँदा नयाँ राजनीतिक शक्तिको उदय भएको हो । यो कुरालाई सबैले स्वीकार गर्न सक्नुपर्छ । देश आर्थिक रूपमा कमजोर भइरहँदा, भ्रष्टाचार मौलाइरहँदा, रोजगारीको अवसर सिर्जना नहुँदा नयाँ राजनीतिक शक्तिको उदय भएको हो । अति भयो भने जनता विकल्प खोज्छन् । अहिले त्यही भएको हो । अबको राजनीतिमा हिजोको जस्तो गलत परिपाटी चल्दैन । अब देश नयाँ ढंगले चल्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको जर्बजस्त उदय, स्वतन्त्र उम्मेदवारको विजयले पुराना दलहरूलाई केही पाठ सिकाएको छ ।

अब पुराना राजनीतिक दल नसच्चिए आगामी निर्वाचनमा कमजोर हुने निश्चित छ । अहिलेको आमनिर्वाचनले सबै कुरा प्रष्ट पारेको छ । नयाँ पुस्ताको आगमनले साँच्चै नेपालको राजनीतिलाई तरंगित बनाएको छ । अब यथास्थितिमा मात्र देश चल्न सक्दैन ।

अब पुराना राजनीतिक दल नसच्चिए आगामी निर्वाचनमा कमजोर हुने निश्चित छ । अहिलेको आमनिर्वाचनले सबै कुरा प्रष्ट पारेको छ । नयाँ पुस्ताको आगमनले साँच्चै नेपालको राजनीतिलाई तरंगित बनाएको छ । अब यथास्थितिमा देश चल्न सक्दैन । व्यवस्था बदलियो तर जनताको अवस्था बदलिन सकेन । लामो समयसम्म जनता भ्रममा परे । नेताहरू मोटाउने जनता दुब्लाउँदै जाने परिपाटी चल्यो । देशमा यति ठूलो परिवर्तनपछि पनि जनता हिजो जुन अवस्थामा थिए आज पनि त्यही अवस्थामा छन् ।

देशमा बेरोजगारी समस्या झन्झन् बढ्दै गएको छ । यो एउटा ठूलो समस्या हो । यो समस्या समाधान नभएसम्म देश अघि बढ्न सक्दैन । चुनाव सम्पन्न भए पनि देशका समस्या ज्युँका त्युँ छन् । यी समस्या समाधान गर्न नयाँ बन्ने सरकारले पहल कदमी चाल्नुपर्छ । परम्परागत पाराले अब देश चल्दैन । नयाँ ढंगले सोचबुझका साथ देशलाई अघि बढाउनुपर्छ । कुनै दलको प्रष्ट बहुुमत नभएपछि फेरि पनि मिलिजुली सरकार गठन हुने हो । अब बन्ने मिलिजुली सरकारले राम्ररी काम गर्न नसक्ने स्थिति देखिएको छ । धेरैभन्दा धेरै दल मिलेर सरकार बनाउनुपर्ने अवस्था आउन सक्छ । त्यो सरकारले गतिशील भएर काम गर्न नसक्ने प्रष्ट छ ।

राजनीतिक स्थायित्व र विकास सबैको चाहना हो तर त्यो हुनसक्ने अवस्था देखिँदैन । जबसम्म राजनीतिक स्थायित्व हुँदैन तबसम्म देशको विकास हुन सक्दैन । जनताले विकास र समृद्धि खोजेका छन् तर दलहरू फेरि पनि सत्तास्वार्थको खेलमा लाग्ने देखिन्छ । यो निर्वाचनबाट फेरि पनि अधिकांश नेता पुरानै अनुहारका दोहोरिएका छन् । फेरि पनि उनै सत्तामा जाने हुन् । अब जनताले उनीहरूबाट के आश गर्ने ? जनमतको कदर त सबैले गर्नुपर्छ तर मुलुक बनाउने नेताहरू यो देशले खोजिरहेको छ । अब बन्ने सरकारको नेतृत्व युवा नेताले गर्नुपर्छ भन्ने आवाज उठेको छ । युवा नेताको हातमा सरकारको नेतृत्व जान्छ कि जाँदैन त्यो त हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?