वडा अध्यक्षको कब्जामा विद्यालयको जग्गा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 8 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । कोहलपुर-१३ स्थित बालशिक्षा माध्यमिक विद्यालय भरैयाको सरकारी जग्गा वडा अध्यक्षको कब्जामा रहेको पाइएको छ । विद्यालयको क्षेत्र कायम गरिएको सरकारी जग्गामा वर्षौंदेखि विभिन्न क्षेत्रबाट आएका व्यक्तिका साथै बहालवाला वडा अध्यक्षले समेत अतिक्रमण गरिरहेको पाइएको हो । विद्यालयको दाबीअनुसार उक्त क्षेत्रमा हाल ५१ जना बढी घरधुरी जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन् । ती मध्येका एक हुनुहुन्छ, कोहलपुर वडा नम्बर १३ का वडा अध्यक्ष डम्बरबहादुर खड्का । उहाँका पाँच भाइले जग्गा अंशबण्डा गरेर जग्गा प्रयोग गरिरहेको पाइएको छ ।

वडा अध्यक्षका साथै विद्यालयकै क्षेत्रभित्र रहेको क्षेत्रमा केही सीमित व्यक्तिले समेत भोगचलन गर्दै आइरहेको विद्यालयले जनाएको छ । अहिलेसम्म नापजाँच केही नभएको तथा समुदायले विद्यालयको नाममा हुने भनी निर्णय गरे पनि बस्ती बस्नुका साथै व्यक्तिले अतिक्रमण गरेर भोगचलन गरिरहेको विद्यालयका प्रधानाध्यापक टर्कबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार विद्यालय स्थापना हुँदाताका विद्यालयको जमिनको क्षेत्रफल चार बिघा थियो । विद्यालयका केही दस्तावेजले विद्यालयको खेतीयोग्य जमिन पहिला केही व्यक्तिलाई ठेक्कामा दिएको पाइएको छ । त्यतिबेला भाडामा दिएको जग्गा अहिले व्यक्तिगत आफैँ भोगचलन गरिरहेको छन् । करिब साढे दुई बिघा जग्गामा ५० भन्दा बढी घरपरिवार सहितको बस्ती बसेको प्रधानाध्यापक खत्रीको भनाइ छ । उनीहरूले खेतीपाती गरिरहेका छन् । उक्त विद्यालयले हाल मात्रै दुई बिघा चार कठ्ठा जमिन मात्रै प्रयोग गरिरहेको छ ।

‘मैले विद्यालयको नेतृत्व सम्हालिरहँदा विद्यालयको सम्पूर्ण अवस्थाको जानकारी लिएँ । जग्गाको विषयमा विवाद रहेछ । यहाँका बस्ती र व्यक्तिलाई आग्रह गर्दा सहमत हुनुभएन,’ उहाँले भन्नुभयो, ‘त्यसैले नगरपालिकालाई सरकारी जमिन हो भने फिर्ता हुनुपर्छ भनेर प्रमाणसहित निवेदन पेश गरेका छौँ । भोलि मावि सञ्चालन गर्दै गर्दा थप जमिनको आवश्यक हुने भएकाले हामीले सरोकारवाला गुहारिरहेका छौँ ।’

यस्तै, समुदायलाई समेत जग्गा जबरजस्ती जोत्नुभएको हो भने फिर्ता गरेर बालबालिकाको उज्ज्वल भविष्यका लागि जमिन सुरक्षित गरिदिनु होस् भनेर अनुरोध गरिएको उहाँ बताउनुहुन्छ । केही सीमित व्यक्ति र अदृश्य शक्तिको आडमा त्यहाँका व्यक्ति सहमत नभएका कारण अहिले पनि विद्यालयको जग्गा अतिक्रमणको चपेटामा छ । ‘यो विशुद्ध सरकारी जग्गा हो । विद्यालय स्थापना गर्दा त्यसैको नाममा हुने गरिएका दस्तावेज भेटिएका पनि छन् । तर, दर्जनौँ घर बनेका छन् । उनीहरू नै जग्गा उपभोग गरिरहेका छन् । अंशबण्डासमेत भएको पाइएको छ । अहिले पूर्णरूपमा अतिक्रमित नै छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर विश्वकर्माको भनाइ छ ।

यही भदौ ५ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको स्थापना कालदेखि हालसम्म विद्यालयको जग्गा नाप तथा नक्सांकन नभएकाले नक्सांकन गराई भोगाधिकार गर्नका लागि वडा कार्यालयको सिफारिससहित नगरपालिकामा पेस गर्ने निर्णय भएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । यस्तै, भदौ १३ गते वडा नम्बर १३ को कार्यालयले विद्यालयको जग्गा नाप तथा नक्सांकन नभएकोले उक्त जग्गाको नक्सांकन गरी भोगाधिकार कायम गर्न आवश्यक सहयोग गरिदिन कोहलपुर नगरपालिकालाई आग्रह गरेको छ । ‘विद्यालयले स्थापना कालदेखि हालसम्म पूर्व सिराहा गाउँ, पश्चिम रोहिणी खोला, उत्तरतर्फ सिराहा गाउँ र दक्षिण दुई खोला दोभान तथा जंगलतिर चार किल्ला भित्रको अन्दाजी ज.वि.४-०-० भित्र चलन गरी आएको थियो ।

अतिक्रमण गरेको होइन संरक्षण गरेको हो : वडा अध्यक्ष खड्का
हालको बालशिक्षा मावि भरैयाका संस्थापक हुनुहुन्छ, कुमबहादुर खड्का । उहाँले लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर पनि काम गर्नुभयो । २०६५ सालमा दिवंगत हुनुभएका खड्काले विभिन्न समयमा खेतीयोग्य जमिन ठेक्कामा लिएको दस्तावेजमा पुष्टि भइसकेको छ । अहिले उहाँका पाँच भाइ छोरा छन् ।

तीमध्येका एक हुनुहुन्छ, वडा नम्बर १३ का अध्यक्ष डम्बरबहादुर खड्का । कुल ५१ जनाले त्यहाँ घर बनाएर बसिरहेका छन् । वडाध्यक्ष खड्काले पनि विद्यालय क्षेत्रको जमिन प्रयोग गरिरहनु भएको छ । उहाँ मात्रै होइन खड्काका अरू चार भाइले पनि यहाँको जग्गा उपभोग गर्दै आएका छन् । विद्यालय व्यवस्थापनको दाबी छ, ‘विद्यालयको चार किल्ला भित्रको क्षेत्रभित्र खड्का दाजुभाइहरूले जग्गा अंश बण्डा गरेर उपभोग गरिरहेका छन् ।’

खड्का आफूले अहिले पनि जमिन उपभोग गरिरहेको स्वीकार गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘यहाँ ५१ घर छन् । मेरो पाँच भाइ छौँ । मैले पनि भोग चलन गरिरहेको छु । भोगचलनभन्दा नि संरक्षण गरिरहेका छौँ । त्यो जमिन सरकारीभन्दा पनि जंगली हो । संकटकालमा सबैले भोगचलन गरे । हामीले ग¥यौँ । त्यहाँ चार किल्ला छ । हाम्रो माग स्थानीय सरकारले सबैलाई व्यवस्थापन गरोस् भन्ने छ । दुई/चारजना, आठ/१० जनालाई मात्र हटाउने अरूलाई राख्ने भयो भने मान्य हुँदैन । सम्पूर्ण रूपमा व्यवस्थापन होस् भन्ने पक्षमा म छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इरानमा लगातार सातौं रात हवाई आक्रमण गरेको अमेरिकी सेनाको दाबी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको सम्भावना मुक्ति घोषणाको चार वर्षपछि पनि हरवाचरवा समुदाय पहिचान र अधिकारबाट वञ्चित पुस्तक समीक्षा : ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो सरकारको नियतमाथि शङ्का नगर्न आग्रह गर्दै रवि लामिछानेले भने: समस्या देखिए निर्णय… राजविराज कारागारमा विवाद : पाँच कैदीबन्दीद्वारा आत्मदाह प्रयास गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिने इरानमा अमेरिकी आक्रमण जारी, पछिल्लो आक्रमणमा ३८ जनाको मृत्यु ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ