दाङ सर्यो लुम्बिनी मुख्यमन्त्रीको कार्यालय

विवेक खड्का दाङ, संवाददाता
Read Time = 7 mins

दाङ । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी दाङमा मुख्यमन्त्रीको कार्यालय सारिएको छ ।

मुख्य मन्त्रीको कार्यालय र मुख्य सचिवका सबै सामाग्री आइतबार राति नै सारिएका हुन । ती कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री राति नै ट्रकमा ल्याइएको छ । यो संगै अब यसबाट स्थायी राजधानी कार्यान्वनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य मन्त्री कुलप्रशाद केसी (सोनाम) आफ्नै कार्याकालमा राजधानी कार्यान्वनका लागि पछिल्लो केही समय रातदिन दाङको राप्ती गाउँपालिकामा बस्दै आउनु भएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा अब नयाँ प्रदेशसभा सदस्यको शपथ र सभा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । दाङ देउखुरीको लालमटियामा निर्माणाधीन प्रदेशसभा भवन निर्माण कार्य पुरा भइसकेको छ । यहीबाट प्रदेशसभा सञ्चालनको अन्तिम तयारी भइ रहेको छ ।

स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने निर्णय गरे पनि पूर्वाधार अभावको कारण राजधानीको कामकाज अस्थायी मुकाम बुटवलबाटै हुँदै आएको थियो । प्रदेशसभा सदस्यको शपथ र सभा सञ्चालन स्थायी राजधानीमा निर्माण भएको प्रदेशसभा भवनबाट गर्ने योजना सरकारले तय गरेको छ । अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको पनि शपथग्रहण स्थायी राजधानीमै गर्ने तयारी थालिएको छ । दाङमा यसअघि नै दुईवटा मन्त्रालय स्थान्तरण भइ सकेका थिए । तर काम भने बुटवलबाट हुँदै आएको थियो ।

निर्वाचन आचार संहिता सकिने बितिक्कै एक औपचारिक समारोह गरेर स्थायी राजधानीलाई कार्यान्वायनमा ल्याउने तयारीमा सरकार जुटेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बस्ने भवन मर्मतको काम तीब्र रुपमा भइ रहेको छ । राप्ती प्राविधिक शिक्षालयले प्रशिक्षणको लागि प्रयोग गर्दै आएको भवनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रुपमा बिकास गर्न थालिएको छ ।

भवनमा रङ रोगन गर्ने, भित्री कोठा मर्मत गर्ने, शौचालय थप गर्ने, मन्त्रिपरिषद् बैठक बस्ने कक्ष तयार पार्ने काम तीब्र रुपमा भइर भइ रहेको छ । प्रदेशको प्रशासनिक केन्द्र निर्माणको लागि तत्काल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास व्यवस्थापनको कामपनि सोही गतिमा भइरहेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले मन्त्रीपरिषद्को कार्यालय तत्काल तयार पार्ने योजनाअन्तर्गत काम भइरहेको बताउनुभयो ।

तत्कालका लागि राप्ती प्राविधिक शिक्षालयका संरचनाबाट कामकाज सुरु गर्ने योजना रहेको उहाँले वताउनुभयो । यहाँ साना ठूला गरी २४ वटा भवन तयारी अवस्थामा छन् । यी संरचना संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गसिकेको छ ।

प्राबिधिक शिक्षालय राप्तीपारिको गढवा गाउँपालिकामा स्थान्तरण गरि सकिएको छ । लुम्बिनी प्रदेशको नाम र स्थायी राजधानी सार्ने निर्णय २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले गरेको हो । उक्त दिन मतदान प्रक्रियामार्फत दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको राप्ती उपत्यका र नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव पारित गरेको थियो ।

राजधानी तोक्ने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ जनाले मतदान गरेका थिए । प्रदेशसभाका ८७ सदस्य मध्ये उक्त दिन ८२ सांसदमात्र उपस्थित थिए । प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा चार जनाले मात्रै मतदान गरेका थिए । स्थायी राजधानीको क्षेत्रभित्र दाङको राप्ती गाउँपालिका, गढवाका तीन वटा र अर्घाखाँचीको शीतगंगा नगरपालिका दुई वडा पर्दछन ।

नेपाली कांग्रेसका साविक लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले विपक्षमा मतदान गरेका थिए भने पार्टीको ह्वीप उल्लंघन गर्दै राप्ती पारिका चार सांसदले पक्षमा मत दिएका थिए ।

तत्कालीन सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका सबै सांसदहरुले भने दाङलाई स्थायी राजधानी बनाउने पक्षमा मतदान गरेका थिए । अहिले पनि लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षमा एमालेले १८ सिट जितेको छ । कांग्रेसले प्रत्यक्षमा १७, नेकपा माओवादी केन्द्रले ५ सिट जितेको छ । प्रदेशसभामा पाँच राजनीतिक दलको उपस्थिति थियो । तर, अहिले प्रत्यक्ष र समानुपातिक गरी आठवटा राजनीतिक दल बढीले प्रवेश पाउने अवस्था देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?