डोजर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कर्णाली करिडोरको कालीकोट खण्डमा डोजर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उपचारको क्रममा कालीकोटको रास्कोट ७ का २२ वर्षीय मिलन शाहीको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुभराज बमका अनुसार कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खस्दा सान्नीत्रिवेणी १ का १७ वर्षीय चरित्र विक र १४ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

डोजर चालक कैलालीका २२ वर्षीय कमल सोडारी, सान्नीत्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम विक बेपत्ता भएको र उहाँहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ । नदीमा डुबेको डोजरमै उहाँहरू च्यापिएको हुनसक्ने अनुमानमा डोजर निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक बमले बताउनुभयो ।

डोजर निकाल्दा पनि वेपत्ता भएका नभेटिए खोजीका लागि गोताखोरलाई अनुरोध गरिने उहाँले बताउनुभयो । खाडाचक्र ११ बरातुका विकाश भारती र आशिष भारतीको भने जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ ।

शनिबार दिउँसो ४ सय ८० मेगावाटको फुकोट हाइड्रोपावरको सुरुङ्भित्र पानीको अवस्था परीक्षण गरेर फर्किएको डोजर दुर्घटनामा परेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?