‘विदेशमा बसेर लगानी गर्ने स्रष्टाले दुःख भोग्नु परेको छ’

Read Time = 4 mins

काठमाडौं । देशबाहिर रहेर पनि नेपाली गीतसंगीत तथा कला संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएको नाम हो अनुराधा शाह अर्थात् अनु शाह । उहाँ अमेरिकाको बोष्टन राज्यमा बसोवास गर्दै आउनुभएको छ । गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र निर्मात्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको उहाँले विद्यालय जीवनदेखि नै राष्ट्रिय नाँच घरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रंगमञ्चमा अभिनय गर्न सुरु गर्नुभएको थियो । शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रूपमा समेत देखापर्नु भएको थियो । काठमाडौं सीतापाइलामा स्वर्गीय पिता लालविक्रम शाह र माता दयादेवी शाहकी प्रथम सन्तानको रूपमा जन्मिएकी शाह उच्च शिक्षा हासिल गर्न अमेरिका पुग्नुभएको थियो । उहाँले अमेरिकाको नर्थ वेष्टर्न विश्वविद्यालयबाट बाल मनोविज्ञानमा स्नातकोत्तर गर्नुभएको छ ।

सानैदेखि कला क्षेत्रमा प्रवेश गर्नुभएकी शाहले आफ्ना दुई सयभन्दा धेरै गीत रेकर्डिङ भएको बताउनुहुन्छ । यस्तै दुइ दर्जन जति गीतका भिडियो उहाँ आफैँले निर्माण गर्नुभएको छ । शाह लेखनसँगै अभिनय र निर्माणमा समेत आफूलाई सक्रिय बनाउँदै आउनुभएको छ । चलचित्र ‘भीमदत्त’मा सहनिर्मात्री रहनुभएकी उहाँले ‘सुक्का मानो’ र ‘उफ्फ यो मन’ नामका चलचित्र निर्माण गर्नुभएको छ । बहुप्रतिभाकी धनी शाहले नेपाली भाषामा मात्र नभएर हिन्दी, अंग्रेजी, नोवारी र मैथली भाषामा पनि थुप्रै गीत र कविता लेख्नुभएको छ । उहाँको ‘कम टेक माई हृयाण्ड, हृवोइन आइएम फिलिंग डाउन’ गायिका शीतल मोक्तानले गाएको लोकप्रिय अंग्रेजी गीत हो ।

गीतकार संघको आजीवन सदस्य रहनुभएकी शाह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र ज्योति साहित्य प्रतिष्ठानमा लाइफटाइम सदस्य हुनुहुन्छ भने रेडियो हिमालयनको गार्जेन मेम्बर हुनुहुन्छ । कला साहित्य विधामा उल्लेखीय योगदान पुर्‍याउँदै आउनुभएकी शाहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा अवार्ड हासिल गर्नुभएको छ । सामाजिक कार्यमासमेत उत्तिकै रुचि राख्ने उहाँले नेपालका धेरै संघसंस्थामा आश्रित अनाथ असहाय, दुःखी पीडित बेसहारालाई सहयोग गर्दै आउनुभएको छ ।

समग्र नेपाली कला क्षेत्रमा करडौ लगानी गर्नुभएकी शाहलाई केही संगीतकार, चलचित्र निर्माता, निर्देशकदेखि अन्य व्यक्तिले ठगी गरेको गुनासो गर्नुहुन्छ । ‘सुरुमा मीठो र राम्रो राम्रो कुरा गरी विश्वास दिलाएर काम र पैसा लिन्छन पछि कुनै काम समयमा गर्दैनन् त्यसैले नेपालमा पैसा लगानी गर्नु भन्दा पहिले सोच्नु पर्ने रहेछ’, उहाँले गुनासो गर्नुभयो । विश्वासको आधारमा लगानी गरेर आफू डुबेको उहाँ सुनाउनुहुन्छ । केही संगीतकार र चलचित्रकर्मीहरूले ठगी गरेको उहाँको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?