संस्कृत गुरुकुल ब्युँताउन धार्मिक महोत्सव

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनः सञ्चालनको उद्देश्य राखेर बागलुङमा ‘बिहुँकोट धार्मिक महोत्सव-२०७९’ सुरु गरिएको छ । काठेखोला गाउँपालिका-५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाट धामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गर्नुभयो । रामकोट धामका संस्थापक दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०३१ मा स्थापना गर्नुभएको उक्त गुरुकुल विसं २०५६ मा बन्द भएको थियो । गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाट धाममा रहेको गुरुकुल विद्यापीठमा लगिएको थियो । पुनः रामकोट धामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख संकल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताउनुभयो ।

यही मंसिर २८ गतेसम्म चल्ने महोत्सवमा देशभरबाट सन्त, महात्माहरूको उपस्थिति रहने जनाइएको छ । झाँकी प्रदर्शनी, हेलिकप्टरबाट पुष्पवृष्टि, धार्मिक स्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्र्कीतन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । महोत्सवबाट संकलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिनेछ ।

‘महोत्सव सुरु हुनुभन्दा अगावै ६५ लाख जति जुटिसकेको छ, त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ’, उहाँले भन्नुभयो । महोत्सवबाट तीन करोड बढी आर्थिक सहयोग जुटाउने लक्ष्य लिइएको छ । गुरुकुल पुनः सञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाले देशविदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ ।

बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको हो । संस्कृत पाठशाला पुनः सञ्चालन भएमा संस्कृत विद्या र सनानत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । परमानन्द संन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले राजनीतिक परिवेश प्रतिकूल हुँदा गुरुकुललाई रामकोट धामबाट देवघाट लैजानुपरेको उल्लेख गर्नुभयो ।

‘अब फेरि रामकोट धाममा गुरुकुल पुनः प्रतिस्थापन गर्न सकिन्छ कि भनेर यो संकल्प लिएका छौं’, उहाँले भन्नुभयो, ‘सबैको साथ सहयोगको खाँचो छ ।’ आर्थिक स्रोत र संरचनाको जोहो भएमा छिट्टै गुरुकुल सञ्चालनमा आउने उहाँको भनाइ छ ।

गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्ने ज्ञानानन्द सरस्वतीले बताउनुभयो । ‘संस्कृतले नै संस्कृतिको व्याख्या गर्छ’, उहाँले भन्नुभयो, ‘धर्म संस्कृतिको प्रचार, दर्शन शास्त्रसँगै आधुनिक शास्त्रको प्रवद्र्धनमा पनि गुरुकुल शिक्षाले टेवा पु¥याउँछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?