धानको समर्थन मूल्यको कार्यान्वयन नभएपछि किसान सडकमा

हिमालय टाइम्स
Read Time = 5 mins

-प्रणय साह

वीरगञ्ज । सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै वीरगञ्जमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघलगायत किसानहरूले संयुक्त रूपमा आन्दोलन गर्दै विरोध र्यालि निकालेका छन्। सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै किसानहरूले सरकारबिरुद्व आन्दोलन गरेका हुन्।

धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भए पनि मङ्सिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेको कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको पनि उनीहरूको गुनासो छ। किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष शमरुम राउत गद्दीले नेपाललाई किसानको देश भनिएपनि त्यो भनाइमा मात्र सीमित रहेको गुनासो गर्नुभयो। उहाँले आज मात्रै २५ सय रुपैयाँ क्विन्टलमा आफू नै धान बेचेर आफ्नो बच्चाको विद्यालयको शुल्क तिर्न बाध्य भएको बताउनु भयो।

शमरुम राउतले भन्नुभयो, ‘खेतीपातीका लागि अहिले मलखादलगायत सबै सामाग्रीको आवश्यक छ। अब खेती गर्ने समय चलिरहेको बेला न खाद पाएका छौँ। न त सरकारले निर्धारण धानको मूल्यमा धान नै बेच्न पाएका छौँ। अन्य खेती गर्न विभिन्न सामाग्री जोहोको लागि हामी किसानहरूले धान बेच्नै पर्ने बाध्यताले वर्षेनी सस्तोमा धान बेचिरहेका छौँ तर हाम्रो दुखेसो सुनिदिने कोही छैनन् , न त नेता , न सांसद , न मन्त्री। त्यसैले हामी आफ्नो हकका लागि आफै सडकमा आउनुपरेको हो।’

त्यस्तै किसान महासंघका जिल्ला अध्यक्ष अमर प्रसाद यादवले सरकारले धान समयमा निर्धारित मूल्यमा नलिदा विचौलियाले फाइदा लिइरहेको तथा खेतीपातीका लागि धान बेच्न नपाएको र खाद समेत नपाएकोमा अवस्थामा अन्य खेतीपातीलाई ढिलो हुँदा किसानहरूलाई ठुलो नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्दै सरकारले नसुनेको कारण बाध्यताले आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो।

किसान अगुवा किशोरी प्रसाद साहले भन्नुभयो, ‘किसानले भोग्दै आएको समस्यामा झन् समस्या थपिदै गएको तथा सरकारले धानको मूल्य निर्धारण गरेपनि त्यो अनुसारको मूल्यमा धान बेच्न समेत नपाएको अवस्था छ। त्यसैले आज सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्नका लागि आन्दोलन गर्नुपरेको हो।’

कार्तिक १६ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोके पनि यो मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको कारण सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो दिन किसानहरूले खाद व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा आधा घण्टा धर्नासमेत दिएका छन्।

यसअघि किसान महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत नै मंसिर २५ गते आज खाद्य कम्पनीको देशभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिईएको हो। निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ।

 

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?