जेसिज कप फुटबलको उपाधि शारदा माविलाई

हिमालय टाइम्स
Read Time = 5 mins

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न २०औँ अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधि शारदा मावि छिसबाङले हात पारेको छ । फाइनलमा बेनीको प्रकाश माविलाई एकका विरुद्ध दुई गोल गर्दै मंगला गाउँपालिका-५ मा रहेको शारदा माविले पहिलोपटक जेसिज कपको उपाधि जितेको हो ।

यसै वर्षमात्रै कक्षा १० को पठनपाठन सुरु गरेको शारदा माविले गत वर्षदेखि मात्रै जेसिज कपमा सहभागिता जनाएको थियो । बेनीको खुलामञ्चमा भएको फाइनलको पहिलो हाफमा प्रकाश माविले एक गोल गर्दै शारदा माविलाई दबाबमा राखेको थियो । दोस्रो हाफमा लयमा फर्किएका शारदा माविका खेलाडीले दुई गोल गरी प्रकाश माविलाई एक गोलमै रोकेपछि जेसिज कपको उपाधि चुमेका हुन् ।

प्रतियोगितामा विजेता शारदा माविका खेलाडीलाई जेसिज कप रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५२ हजार २२२ र उपविजेता प्रकाश माविका खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद ३२ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी, पूर्वराष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दीप खत्री, संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका-७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले विजेता र उपविजेता खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

फाइनल खेलमा शारदाका सिमन सिउथानी उत्कृष्ट खेलाडी घोषित हुँदा उत्कृष्ट गोलरक्षकको पुरस्कार शारदाकै देवेन्द्र पुर्जाले हात पार्नुभयो । प्रतियोगितामा प्रकाश माविका रिजन पुन सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाउन सफल हुनुभयो भने प्रकाश माविकै सुमन पुन उत्कृष्ट डिफेन्डर र सन्देश तामाङ उत्कृष्ट स्ट्राइकर बन्न सफल हुनुभएको छ । प्रतियोगितामा केबी एकेडेमीका दीक्षित पुन राइजिङ प्लेयर, बालमन्दिर आधारभूत विद्यालयका शिक्षक बिर्सना चोखाल उत्कृष्ट कोच र केवी एकेडेमी अनुशासित टिमका रूपमा पुरस्कृत भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राइजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद दुई हजार ५०० का साथमा ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ भने अनुशासित टिमलाई नगद सात हजार ७७७ का साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

मंसिर २१ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागिता जनाएका थिए । म्याग्दी जेसिजले हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस वर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकका रूपमा आर्थिक सहयोग गरेको थियो । ‘जेसिज कप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?