नेपालगञ्ज क्षेत्रमा थप पूर्वाधार निर्माण गर्दै प्राधिकरण

Read Time = 7 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधार सञ्जाल निर्माण गर्ने भएको छ । प्राधिकरणले नेपालगञ्ज तथा कोहलपुर र आसपास क्षेत्रमा सन् २०५० सम्म वृद्धि हुनसक्ने विद्युत्को सम्भावित माग प्रक्षेपण गरी उक्त मागलाई धान्ने गरी भरपर्दो र विश्वसनीय विद्युतीय भार बहन गर्ने उच्चस्तरका प्रसारण तथा वितरण लाइनतर्फका पूर्वाधार संरचना चरणबद्धरूपमा निर्माण गर्ने भएको हो । सो क्षेत्र आसपासमा भइरहेको शहरीकरण र औद्योगीकरणका आधारमा सन् २०५० भित्रमा सो क्षेत्रको विद्युत् माग करिब आठ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।

देशभित्र उत्पादित विद्युत् आन्तरिकरूपमै खपत बढाउन र पर्याप्त, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्तिका लागि वितरण प्रणाली सञ्जाल विस्तार र सुदृढीकरण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्तिको तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचना सुदृढीकरण/स्तरोन्नति र विस्तार गरिने र दीर्घकालीन माग सम्बोधन गर्न र विद्युत् खपत बढाउन चार सय, दुई सय २० र एक सय ३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार नेपालगञ्ज क्षेत्रको स्थलगत भ्रमण गरी विद्यमान प्रसारण र वितरण लाइन तथा सबस्टेसन स्तरोन्नति/सुदृढीकरणका लागि तत्काल गर्नुपर्ने कामबारेमा जानकारी लिएको छ ।

परामर्शदातासमेत सम्मिलित टोलीले भविष्यको विद्युत् माग सम्बोधन गर्न बनाउनुपर्ने नयाँ लाइन तथा सबस्टेसन निर्माणस्थल, रुटको पहिचानलगायतका विषयमा स्थलगतरूपमा अनुगमन गरेको थियो ।

सो क्षेत्र आसपास भइरहेको शहरीकरण र औद्योगीकरणका आधारमा सन् २०५० भित्रमा विद्युत् माग करिब आठ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।

कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले बेहोर्दे आएको तत्कालको समस्या समाधान गर्न ११ तथा ३३ केभी लाइन तथा सबस्टेसनको सदृढीकरण र विस्तार गरिने बताउनुभयो । ३३ र ११ केभी लाइन सुधारका लागि आवश्यक काम भइरहेको कार्यकारी निर्देशक घिसिङले स्पष्ट पार्नुभयो । हाल चालु रहेका प्रसारण तथा वितरण प्रणालीले गर्मीयाममा नधान्दा नेपालगञ्ज क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ, भोल्टेज डाउनलगायतका समस्या उपभोक्ताले बेहोर्दै आएका छन् । प्राधिकरणले कोहलपुरमा एक सय ३२ केभीको नयाँ सबस्टेसन निर्माण गर्न लागेको छ । सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ । अहिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताहरूको प्रस्ताव मूल्यांकन भइरहेको छ । उक्त सबस्टेसनबाट एक सय ३२ केभी प्रसारण लाइनलाई नेपालगञ्जस्थित ३३/११ केभी सबस्टेसन विस्तार गरी एक सय ३२ केभी बनाएर लाइन छिराउने योजना छ । हाल नेपालगञ्जमै रहेको अर्को ३३/११ केभी सबस्टेसनको पनि क्षमता विस्तारको काम भइरहेको छ । जसबाट नेपालगञ्ज क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘भविष्यमा नेपालगञ्ज क्षेत्रमा हुने विद्युत् माग सम्बोधन गर्न दाङको लमहीबाट राप्ती नदीको आसपासबाट बाँके, बर्दियाको मैनापोखरी हुँदै कैलालीको टीकापुरसम्म दक्षिण करिडोर चार सय/दुई सय २० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरिरहेका छौँ साथै भारतसँगको थप विद्युत् व्यापारका लागि कोहलपुरबाट भारतको नानपारासम्म उच्च क्षमताको लाइन बनाउन लागेका छौँ, यसबाट भोल्टेज सुधार हुनेछ, भविष्यमा यो क्षेत्रमा हुने बस्ती विकास र खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति दिन सकिनेछ, बढी भएको विद्युत् निर्यात गर्न पूर्वाधारसमेत तयार हुनेछ ।’

प्राधिकरणले भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर चार सय केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसन निर्माण गर्ने योजना अघि बढाएको छ । प्राधिकरणका अनुसार चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट चार सय केभी र तल्लो दुई सर्किट एक सय ३२ केभीमा सञ्चालनमा ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिनेछ । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि ठाउँ-ठाउँमा सबस्टेसन निर्माण गरिनेछ । अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसन रहने स्थान तय गर्ने काम भइरहेको छ । कोहलपुरबाट कर्णाली प्रदेशको सुर्खेतसम्म एक सय ३२ केभी प्रसारण लाइन निर्माणाधीन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?