गण्डकीका दुई खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । बंगलादेशको राजधानी ढाकामा हुने ‘बंगबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू-२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा पर्नुभएको छ । नेपाली भलिबल संघले घोषणा गरेको १४ सदस्यीय यू-२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनोटमा पर्नुभएको हो । २२ वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो हुनुहुन्छ ।

आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग लिनेछ । देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये एक महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ जना खेलाडीको अन्तिम छनोट गरिएको संघले जनाएको छ ।

भलिबल खेलको इतिहासमा पहिलोपटक यू-२३ राष्ट्रिय टिम तयार पारी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रूपबहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा हुनुहुन्छ ।

गलकोट नगरपालिका-७ मल्मका केसी भलिबलमा उदाउँदो प्रतिभा हुनुहुन्छ । यू–२३ राष्ट्रिय टिममा परेसँगै उहाँको खेल करिअर नयाँ मोडमा आइपुगेको छ । देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साकार हुन लागेको केसीले जानकारी दिनुभयो ।

‘टिममा पक्कै पर्छु भन्ने लागेको थियो, मिहिनेत पनि त्यसै अनुसार गरेको थिएँ, छनोटमा पर्दा खुसी छु,’ उहाँले भन्नुभयो । केसी छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुनुहुन्छ । दुई वर्षअघि काठमाडौंमा भएको ‘एनभिए कप’बाट उहाँले राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गर्नुभएको थियो ।

गलकोट स्पोर्ट्स क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जित्नुभएको थियो । त्यसयता उहाँले ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेल्नुभएको थियो ।

जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगेश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताउनुभयो । उहाँले केसीलाई भलिबलमा भविष्य बोकेको खेलाडीका रूपमा लिनुभयो । बंगलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एसोसिएसनको संयोजनमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?