भारत र चीनद्वारा सीमामा भएको सैनिक झडपबारे व्यक्तव्य जारी

Read Time = 3 mins

एजेन्सी/भारत र चीनले अरुणाचल प्रदेशको तवाङ सेक्टरको याङ्त्से क्षेत्रमा डिसेम्बर ९ मा चिनियाँ र भारतीय सैनिकबीच भएको झडपलाई लिएर वक्तव्य जारी गरेका छन् । डिसेम्बर ९ मा दुई देशका सैनिकबीच झडप भएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले संसद्मा चिनियाँ सेनाले तवाङ सेक्टरको याङ्त्से क्षेत्रमा रहेको वास्तविक नियन्त्रण रेखामा अतिक्रमण गरेर यथास्थितिलाई एकतर्फी रूपमा परिवर्तन गर्ने प्रयास गरेको तर भारतीय सेनाले त्यसलाई असफल बनाएको बताउनुभएको छ ।

‘हाम्रो सेनाले दृढताका साथ चीनको यो प्रयासको सामना गर्‍यो । यो भिडन्तमा झडप भयो । भारतीय सेनाले बहादुरीका साथ चिनियाँ सैनिकहरूलाई हाम्रो भूमिमा अतिक्रमण गर्नबाट रोक्यो र उनीहरूलाई आफ्नो पोष्टमा फर्कन बाध्य तुल्यायो । यस झडपमा दुवै पक्षका केही सैनिक घाइते भए पनि कुनै सैनिकको मृत्यु भएको छैन’, राजनाथ सिंहले भन्नुभएको छ ।

यस्तै, समाचार एजेन्सी एएफपीका अनुसार चीनले भारतसँगको सीमामा स्थिति स्थिर रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतसँग सैन्य र कूटनीतिक तहमा वार्ता भइरहेको बताउनुभएको छ ।

चीन र भारतबीचको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखामा अनेकौं विवादित स्थान छन् जसमा दुवै पक्षले दाबी गर्ने गरेका छन् । तर अन्य स्थानका केही इलाकामा चीनले दाबी गरेको भए पनि भारतको पूर्वोत्तर क्षेत्रमा रहेको अरुणाचल प्रदेशलाई चाहिँ उसले दक्षिण तिब्बत भन्ने गरेको छ र त्यसमा नियन्त्रण कायम गर्न कोशिश गर्दै आएको छ ।

यसअघि सन् २०२१ को अक्टोबर महिनामा पनि यांग्त्से र बुम ला पास नामक स्थानको बीचको क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका २०० जति जवान भारतीय भूमिमा प्रवेश गरेको अनि खाली बंकरलाई नष्ट गर्न खोजेको खबर आएका थिए । सन् १९९९, २०११ र २०१६ मा पनि यस्ता किसिमका घटनाहरू भएको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?