अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना (तस्वीरसहित)

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन् ।

सरकारले गत आईतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै माईतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् ।

थारु कल्याणकारिणी सभा र थारुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो । उनीहरुले अध्यादेश अविलम्व प्रमाणिकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरी लगायतका आरोपित व्यक्तिहरु निर्दोष रहेका बताउनु भयो ।

उहाँले टीकापुर घटनाको सम्बन्धमा नेपाली काँग्रेसको आधिकारिक धारणा माग गर्नुभयो । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेको भन्दै उहाँले पार्टीको धारणा स्पष्ट पार्न अनुरोध गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘हाम्रो चुनौती छ, एकजना अहिलेसम्म थुना भएका आरोपित एकजना मान्छेलाई त्यो मान्छे हत्यारा हो भनेर प्रमाणित गरेर देखाइदिनुस् । होइन भने नागरिक समाजको अगुवा भनेर सडकमा ओर्लिन पाइदैनँ । गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङले थारुहरुको, उत्पीडित समुदायको, समग्र न्यायप्रेमी जनताहरुको बिरुद्धमा तपाईहरुले भाष्य प्रयोग गर्नुभएको छ । त्यो भाष्यको सम्बन्धमा नेपाली काँग्रेसले आधिकारिक धारणा स्पष्ट गर्नुपर्छ । टिकापुरको घटना हेर्ने नेपाली काँग्रेसको दृष्टिकोणमा परिवर्तन आएको छैन । आधिकारिक धारणा के हो ? खुलेर भन्नुप¥यो । लुकेर भनेर हुँदैन । त्यसपछि हामी पनि हिसावकिताव गरौँला । त्यो हाम्रो चुनौती छ । तपाईहरुले आफ्नो अनुकुलको सरकार बनाउँदाखेरी, आफ्नो अनुकुलको अध्यादेश ल्याउँदाखेरी काम चलाउ सरकार हुँदैन । त्यसको प्रश्न उठ्दैन । गरिव, निर्दोष थारुहरु जेलमा छन् । तिनीहरुलाई रिहाइ गरौँ । बिना प्रमाण हचुवाको भरमा अदालतले गरेको निर्णयलाई त्यही सत्य हो भनेर थारु हत्यारा हुन् भनेर तपाईहरुले बोलिराख्नु भएको छ उहाँहरुलाई हाम्रो चुनौती छ ।’

उहाँले टीकापुर घटनाको सम्बन्धमा नेकपा (एमाले) ले द्वेध चरित्र देखाएको आरोप लगाउनु भयो । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै चौधरीले आफुले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनि एमालले द्वेध चरित्र प्रदर्शन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमालेले बिरोध गर्दैछ । एमालेलाई हाम्रो प्रश्न छ, तपाईहरुले यही विषयमा सम्झौता गर्नुभएको थियो । किन गर्नुभएको थियो ? कसले गर्नु भनेको थियो ? २०७८ साल जेठ १८ गते तपाईहरुले सम्झौता गर्नुभएको छ । नेकपा थियो । उहाँहरुकै सरकार थियो । यहीँ हामी धर्ना बसेको थियौँ । गृहमन्त्री बादल आफैँ यही आउनुभएको थियो धर्ना बस्न । सम्झौता गर्नुभयो कानून अनुसार रिहाइको प्रक्रिया अगाडी बढाउँछु । किन गर्नुभयो त्यो सम्झौता ? तपाईहरुले त्यही सम्झौता गर्दा रिहाइ हुनुपर्छ भन्दा ठिक । अर्को सरकार आउँदा बेठिक ? त्यो बेला गर्दाखेरी चाहीँ कानून अनुसार हुने । अहिले गर्दाखेरी गैर कानूनी हुने । एमालेको द्वेध चरित्र सार्वजनिक भइसक्यो । जवाफ दिने कि नदिने अब ?’
उहाँले अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणिकरण हुनुपर्नेमा जोड दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?