‘व्यवसायीले ऋण नतिर्दा तरलता समस्या’

Read Time = 5 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय उद्योगी व्यवसायीले ऋण नतिर्दा पनि तरलतामा समस्या आएको बताउनुभएको छ । कतिपय व्यवसायीमा बैंकबाट लगेको ऋण नतिर्ने बानी रहेको भन्दै ऋण तिर्ने बानी बसाएमात्र तरलता सहज हुने उहाँले बताउनुभयो । बजारमा भएको अनुशासनहीन, फाइनान्सियल क्षेत्रमा भएको विकृति अप्ठ्यारो बेलामा सुधार्न हुँदैन भन्न थालिए कहिल्यै सुधार नहुने र झन् गाह्रो हुने गभर्नर अधिकारीले बताउनुभयो । बुधबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । साथै उहाँले अहिले ब्याजदर बढ्नु स्वाभाविक भएको पनि बताउनुभयो । अर्थतन्त्रमा संकट आउँदा आयात प्रतिबन्ध, बैंकको ब्याज र ऋण लगानीमा कडाइ गरिएको भन्दै पछिल्लो समय बजारमा तरलतामा केही सहजता आएको दाबीसमेत गर्नुभयो ।

गभर्नर अधिकारीले भन्नुभयो, ‘हामी कसरी तरलता असरलाई सहज गर्छौं भन्ने कुरामा लागिपरेका छौँ । पछिल्ला दिनमा राम्रो खालको रेमिट्यान्स प्रवाह भएकाले पनि तरलतामा सहजता भएको छ । यसलाई अझै सहज बनाउन एक खालको रिसाइक्लिङ बजारमा हुन जरुरी छ ।’

अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक रहेको भन्दै सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको दाबी गर्नुभयो । निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्वपूर्ण पाटोका रूपमा सोचेको र नीतिमै सरकार र निजी क्षेत्रबीचको सम्बन्धबारेमा उल्लेख गरिएको उहाँको भनाइ थियो । समयानुसारका नीति निर्माण गर्दै जान र नीति निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

अर्थमन्त्री शर्माले अर्थतन्त्रलाई गुणात्मकरूपले विकास गर्न चलायमान बनाउने चुनौती रहे पनि सरकार त्यसमा लागिपरेको जिकिर गर्नुभयो । अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिकमात्र नभएको पनि उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकाय र अन्तरमन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । मन्त्रालय र सरकारी निकायबीचको समन्वयको कमीले अवसर हुँदासमेत विकास निर्माणका कामले गति लिन नसकेको भन्दै उहाँले सरकारले अन्तरमन्त्रालय र सरकारी निकायबीचको समन्वयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘निजी क्षेत्रले उठाएका माग निजी क्षेत्रका समस्यामात्रै हुन् भन्ने हिसाबले गलत प्रचार भइरहेको छ तर नेपालको अर्थतन्त्र सही हिसाबले अघि बढेन भने प्रत्येक व्यक्तिको आम्दानी कम हुनेछ । पर्यटन प्रवद्र्धनका कुरामा समस्या देखिनेछ । यस्तै अवस्था रहने हो भने देशकै लागि समस्या सिर्जना हुन्छ ।’

सो अवसरमा संघले आर्थिक पत्रकार सन्तोष रोकायालाई भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कार र सम्झना घिमिरेलाई भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । पुरस्कारको राशि ५०-५० हजार रुपैयाँ रहेको छ । उक्त पुरस्कारका लागि डेढ दर्जन पत्रकारले आवेदन दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?