किसानको पीडा, गाउँमा दही बिक्री नहुँदा ५० किलोमिटरको दूरी धाउँन बाध्य

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । दाङको देउखुरीको राजपुर गाउँपालिका-३ खरदरिया निवासी हरिप्रसाद यादवको उमेर साढे चार दशक बढी भयो । खरदरिया निवासी ४६ वर्षीय यादवको दैनिकी घोराही बजारमा दही बेचेर बित्ने गरेको छ । व्यावसायिक रूपमा भैसीपालन गर्नुभएका यादव गाउँमा दही बिक्री नहुँदा हरेक दिन करिब ५० किलोमिटरको दूरी पार गरेर राजपुरबाट घोराहीसम्म आउनुहुन्छ ।

वैशाख-जेठको गर्मी मौसम होस् वा पुस-माघको चिसो मौसम होस् हरिदप्रसाद निरन्तर रूपमा बिहान थाप्लोमा दहीको भाँडो राखेर देउखुरीबाट घोराहीसम्म आउने गर्नुहुन्छ । घोराही आउन नभ्याउँदा उहाँ देउखुरीको लमही बजारमा दही बेच्ने गरेको बताउनुहुन्छ । देउखुरीको बजार सानो भएको र गाउँमा दही बिक्री नहुँदा दिनहुँ राजपुरबाट घोराहीसम्म दही बिक्रीका लागि आउने गरेको उहाँ बताउनुहुन्छ । यादवले प्रतिलिटर करिब ५० रुपैयाँ लिटर दही बेच्नुहुन्छ । बजारमा गाउँबाट ल्याएको दही बिक्रीमा समस्या हुँदैन । ‘गाउँमा सबैका घरमा भैँसी हुन्छन् । त्यसैले दही बिक्री हुँदैन’, उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘जसले गर्दा राजपुरबाट भए पनि दहीको भाँडो बोकेर हरेक दिन घोराही दही ल्याएर आउने गरेको छु । घोराहीमा दही राम्रो बिक्री हुने गरेको छ ।’

हरिप्रसाद यादव मात्रै होइन देउखुरी राजपुर क्षेत्रका धेरै स्थानीय घरमा उत्पादन भएको दही बिक्रीका लागि देउखुरीका गढवा, लमही र भालुवाङ बजारसँगै दाङ उपत्यकामा रहेका घोराही र तुलसीपुरसम्म आउने गरेका छन् । देउखुरीका तुलनामा घोराही र तुलसीपुरमा दहीको बढी माग हुने भएका कारण निरन्तर रूपमा आउने गरेका छन् । व्यावसायिक भैँसीपालनका लागि जिल्लामै पकेट क्षेत्रका रूपमा रहेको खरदरियाका अधिकांश स्थानीयले दुईदेखि १० वटासम्म भैँसी पाल्न गरेका छन् ।

किसानहरूले व्यावसायिक रूपमा पालन गरेको भैँसीको दूध डेरीहरूले ल्याउने गरेका छन् । डेरी घरमै गएर कम मूल्यमा दूध किन्ने गरेपछि केही स्थानीयहरू भने आफैँ दही तथा दूध बिक्रीका लागि जिल्लाका विभिन्न बजारहरूसम्म पुग्ने गरेको खरदरियाका अर्का किसान देवप्रसाद यादव बताउनुहुन्छ । ‘भैँसीको दूध तथा दही गाउँबाटै डेरीले लग्ने गरेका छन् । बिक्रीका लागि समस्या छैन’, उहाँले भन्नुभयो, ‘तर, आफैँ बजारसम्म लगेर बिक्री गर्दा डेरीवालाले लग्नेभन्दा केही रुपैयाँ महँगोमा बिक्री गर्न सकिने भएकाले केही व्यक्तिले बिक्रीका लागि जाने गरेका छन् ।’

दही बिक्रीका लागि देउखुरीबाट घोराहीसम्म आउँदा राम्रो आम्दानीसमेत हुने उनीहरू बताउँछन् । स्थानीयले दही तथा दूध बिक्री गरेर उनीहरूले घर व्यवहारसँगै छोराछोरीको पढाइ खर्च जुटाउने गरेका छन् । व्यावसायिक रूपमा जिल्लाका विभिन्न ठाउँमा भैँसीपालन गरिए पनि देउखुरीको राजपुर गाउँपालिकाअन्तर्गत रहेको खरदरिया गाउँ भैँसी पकेट क्षेत्रका रूपमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?