दिगो विकास लक्ष्यका लागि शिक्षामा जोड

Read Time = 4 mins

काठमाडौं । दिगो विकासका लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गरिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । काठमाडौंमा शिक्षा पत्रकार समूहद्वारा आयोजित दिगो विकास लक्ष्यः कार्यान्वयनको स्थिति, चुनौती र अवसर विषयक अन्तरक्रियामा उनीहरूले यस्तो जोड दिएका हुन् । तीनवटै सरकारले लगानीको प्रतिबद्धता जनाए दिगो विकासका लक्ष्य हासिल हुने उनीहरूको दाबी थियो । कार्यपत्र प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि बजेट अभाव देखिए पनि निर्धारित समयमा लक्षित उपलब्धि हासिल हुने जिकिर गर्नुभयो ।

तत्कालका लागि बजेटको कमी रहेको स्वीकार गर्दै उहाँले शिक्षामा लगानी गरिएको बजेटको ठूलो हिस्सा शिक्षक, कर्मचारीको तलबमा खर्च हुने भएकाले विद्यालयमा थप कार्यक्रम सञ्चालन गर्न समस्या भएको बताउनुभयो ।

विद्यालय तहमा अझै ५३ हजार शिक्षकको दरबन्दी कमी रहेको तथा १८ सय माध्यमिक विद्यालय अझै दरबन्दीविहीन रहेको भए पनि तीनवटै तहका सरकारले साझेदारी लगानीमा लक्ष्य हासिल गर्नुपर्ने उहाँको भनाइ थियो ।

स्थानीय तहका जनप्रतिनिधिले भने संघीय सरकारले आवश्यक बजेट व्यवस्था नगरे शिक्षामा दिगो विकास लक्ष्य हासिल हुन कठिन हुने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कोषाध्यक्ष उमेश भट्टले संघले स्थानीय तहमा योजना र जिम्मेवारीमात्रै दिएको तर कार्यान्वयनका लागि बजेट नदिएको गुनासो गर्नुभयो ।

पञ्चदेवल विनायक नगरपालिका अछामकी मेयर अम्बिका चलाउनेले बजेट अभावमा स्थानीय तहले शिक्षालाई गुणस्तरीय बनाउने गरी त्यसको पूर्वाधार विकासमा काम गर्न सक्ने अवस्था नरहेको, पद्मकन्या मावि डिल्लीबजारकी प्रधानाध्यापक रिता तिवारी हुमागाईंले कार्यान्वयनको प्रमुख पक्ष विद्यालय र शिक्षकलाई बेवास्ता गर्दै बनेका शिक्षाका योजनाले लक्षित उपलब्धि हासिल नहुने बताउनुभयो भने पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले शिक्षकका समस्या समाधानबिना शिक्षा क्षेत्रका समस्या समाधान नहुने बताउनुभयो ।

शिक्षाविद् वाइपी आचार्यले राजनीतिक प्रतिबद्धता नहुँदा लक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै सबैलाई जीवनपर्यन्त शिक्षासँग जोड्ने शिक्षा नीति हुनुपर्ने बताउनुभयो । युनेस्को काठमाडौंका शिक्षा प्रमुख धु्रव रेग्मीले सबै पक्षको प्रतिबद्धता र सहकार्यले दिगो विकास लक्ष्य हासिल हुने बताउनुभयो । तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले भने सरकार शिक्षामा दिगो विकासका लक्ष्य हासिल गर्ने गरी अघि बढिरहेको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?