‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपालमा तेक्वान्दो खेलको सुरुवात र विकासबारे चर्चा गरिएको छ । नेपालमा तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जेके शिनले लेखेको ‘रूट अफ तेक्वान्दो नेपाल’ संस्मरणात्मक तस्बिर पुस्तकमा तेक्वान्दोबारे इतिहास समेटिएको छ ।

पुस्तकमा नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जेके शिनको योगदान र यसमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरूको  भूमिकाबारे चर्चा गरिएको छ । नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने पुस्तकमा रोचक जानकारी दिइएको छ ।

क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगेडियर जनरल डा. सुधा सेन मल्ल, लेफ्टिनेन्ट् कर्नेल एकनाथ थापा क्याप्टेन र इन्द्र गुरुङ चिफ ग्रान्ड मास्टर जेके शिनका शिष्यहरू हुन् । नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडियर जनरल  डा. मल्ल हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र विकासका लागि जेके शिनले गरेको योगदान सदैव अविस्मरणीय रहने बताउनुभयाे । ‘ओलम्पिकमा हाम्रो नेपाल पछि परेको अवस्थामा हामीले हाम्रो तयारी तीव्र बनाउनुपर्नेछ । तेक्वान्दोजस्ता विश्व परिवेशमा देशलाई परिचित गराउने खेलहरूको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्दछ,’ उहाँले भन्नुभयाे ।

पूर्वमन्त्री केशरबहादुर विष्टले जेके शिन नै नेपालको आधिकारिक तेकवान्दो स्थापक रहेको बताउनुभयाे । नेपाल तेक्वान्दो एसोसिएसनका उपाध्यक्ष एवं पूर्वमन्त्री किसान श्रेष्ठले यस खेलको विकासका लागि आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

चिफ ग्रान्ड मास्टर जेके शिनले नेपालमा मार्सल आट्र्सले जीवनलाई सधैँ ताजा र जीवन्त राख्ने सन्देश दिनुभयाे । उहाँले तत्कालीन समयमा जुन स्तरमा तेक्वान्दो खेलको गुणस्तर विकास भएको थियो, त्यसमा आएको ह्रासप्रति चिन्ता ब्यक्त गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?