यात्रुलाई सास्ती, अझै सुरु भएन नाला र सडक मर्मत

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । गत असोज १८ गतेदेखि लगातार पानी पर्‍यो । त्यसको असर लमही-घोराही सडक खण्डमा नराम्रोसँग पर्‍यो । कुलमोहरदेखि चौपट्टा सम्मको १५ किलोमिटर सडक खण्डमा ५० बढी साना तथा ठूला पहिरा झरे । जसको असरले तीन दिन सडक अवरुद्ध हुन पुग्यो । एकतर्फी खुलेको सडक पछि दुईतर्फी चल्यो तर यो सडक खण्डलाई पहिरोबाट हुने क्षति कम गर्न सरकारी निकायबाट कुनै प्रयास हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय दाङले पुरानै बजेटबाट सडक र नाला सामान्य मर्मत एवं निर्माणबाहेक ठूलो मात्रामा काम अघि बढाउन सकेको छैन । बजेट अभावका कारण ठूलो पहिरो झरेको ठाउँको नाला र सडक मर्मतको काम अझै शुरु हुन नसकेको हो । यो सडकखण्ड भएर यात्रा गर्ने यात्रु र सवारी साधनले सास्ती खेप्नुपरेको छ । धुलाम्मे सडकका कारण मोटरसाइकलको यात्रा झनै जोखिमपूर्ण छ । रेशु घिमिरे घोराहीबाट लमही आउन मोटरसाइकलको यात्रामा निस्कनुभयो । जब उहाँ चौपट्टाबाट ओरालो लाग्नुभयो, यात्रा जोखिमपूर्ण बन्यो । पहाडबाट झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा रहे पनि अझै धुले पहिरोको जोखिम भने कायमै छ । एक झर पानी पर्‍यो भने पनि उस्तै पहिरो खस्ने डर । कालोपत्रे उप्किएर बनेको खाडलले थप जोखिम थपेको छ । ‘मोटरसाइकलको यात्रा झन सकसपूर्ण छ । धुलोले हिँडिनसक्नु छ’, उहाँले भन्नुभयो- ‘यो सडकलाई पहिरोमुक्त बनाउन जरुरी छ ।’

साँघुरो र लथालिंग सडकका कारण पटक-पटक सवारी जाम हुने, दुर्घटना हुने गरेको छ । सडक डिभिजन कार्यालयले केही ठाउँको घुम्तीको ढिस्को काटेर फराकिलो बनाउने काम सुरु गरे पनि त्यसले पूर्णता पाउन सकेको छैन । अझै त्यो काम जारी छ । ‘यो बाटो भएर यात्रा गर्न रहर हुँदैन । कति बेला पहिरोमा अडिएको ढुंगा खस्ला भन्ने डर लागिरहन्छ’- चित्रबहादुर ओलीले भन्नुभयो- ‘दैनिक यात्रा गर्छु । पूरा यात्रा नगर्दासम्म एक प्रकारको भय हुन्छ ।’ सवारी साधनले पनि मार खेप्ने गरेका छन् । ‘बाटो राम्रो नहुँदा सवारी साधनलाई मार पर्छ । पट्टा भाँच्चिने, टायरहरू चाँडै खिइने हुँदा खर्च बढ्ने गरेको छ’, बसधनी माधव पोख्रेलले भन्नुभयो, ‘पहिरो नझर्ने गरी टेवा पर्खाल बनाउँदा हुन्थ्यो तर पहिरो झरेको ठाउँमा कुनै काम नै भएको छैन । बाटोमा झरेको पहिरो सफा गर्नेबाहेक अरु काम भएन ।’

काम गर्न बजेट छैन
सडक डिभिजन कार्यालय दाङले लमही-घोराही सडक खण्डको पहाडी क्षेत्रमा पुरानै बजेटबाट मर्मतको काम भइरहेको बताएको छ । सानो पहिरो झरेको ठाउँमा मात्रै मर्मतको काम चलेको छ । ठूलो पहिरो झरेको ठाउँमा काम गर्न बजेट अभाव रहेको सडक डिभिजन कार्यालय दाङका सव-इञ्जिनियर नवराज गिरीले जानकारी दिनुभयो । ‘सानो पहिरो झरेको ठाउँमा टेवा पर्खाल उठाउने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘ठूलो पहिरो झरेको ठाउँमा काम गर्न बजेट छैन ।’ असोज महिनामा परेको पानीले सडक खण्डमा सोचेको भन्दा बढी क्षति गरेको भनाइ उहाँको छ । अब पनि पानी परेमा पहिरो झर्ने जोखिम कायमै रहेको छ । पुरानै ठेक्काको बजेटबाट साँघुरो घुम्तीको ढिस्को काटेर फराकिलो बनाउने, सडक माथिबाट कालोपत्रे थपेर सफ्रेसको काम भने चलिरहेको छ । यो सडक खण्डमा काम गर्न २५ करोड बजेट लाग्ने स्टिमेट तयार थियो । तर, केन्द्र सरकारले स्टिमेटको आधारमा बजेट विनियोजन नगर्दा सडक अस्तव्यस्त बनेको छ ।

फोरलेन ठेक्कामा छुट्यो
लमहीदेखि तुलसीपुरसम्म फोरलेन सडक बनाउने परियोजना लागू छ तर कुइरेपानीदेखि मात्रै फोरलेन सडकको ठेक्का खोलिएको छ । परियोजनाको नाममा लमही–घोराही-तुलसीपुर फोरलेन सडक भनिएको छ । ठेक्का खोल्दा पनि पहाडको भाग छोडेकाले केही समय त कसले मर्मत गर्ने भन्नेसम्म टुंगो थिएन । पछि सडक डिभिजन कार्यालयले आफैँ यसमा काम गर्न थाल्यो । मर्मतको काम भइरहे पनि सडक पुनर्निर्माणको बारेमा भने कुनै योजना छैन । पहाडी भेगमा वैकल्पिक मार्गको समेत चर्चा छ । यसका अतिरिक्त सुरुङ मार्गको समेत अध्ययन गर्ने भनिएको छ तर अहिलेसम्म टुंगो भने छैन । ‘ठेक्का खोल्दा फोरलेनमा छुट्यो । वैकल्पिक मार्ग बनाएर चाप घटाउने योजना पनि सुनिएको हो’, सव–इञ्जिनियर गिरीले भन्नुभयो– ‘तर नयाँ योजनाबारे आधिकारिक जानकारी प्राप्त भएको छैन ।’ पहाडी भेगमा सडक चौडा गर्न धेरै खर्च लाग्ने भएपछि थप अर्काे वैकल्पिक सडकको चर्चा भने कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?