मन्त्रीका लागि कुनै दलको पुच्छर बनेर सरकारमा जान राप्रपालाई हतारो छैन : अध्यक्ष लिङ्देन

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको छ ।

सोमवार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको हो ।

उहाँले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताउनु भयो । उहाँले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पार्नुभयो । अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताउनु भयो । उहाँले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सरकार निर्माणको प्रक्रिया शुरु भएको छ । राष्ट्रपतिबाट आहह्वान भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । कोही पनि हाम्रो साथीहरुले आत्तिनुपर्दैन । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन । हामी सोचि, विचारी निर्णय गर्छौ । अहिले न हामीलाई सरकारमा जान हतारो छ । न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौँ । के गर्दा उपयुक्त हुन्छ । के गर्दा हाम्रो मान्यताहरु स्थापित हुन सक्छन् । के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । त्यो सोचेर, बिचार गरेर हामी निर्णय गर्छौ । हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुप¥यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरु सबै ढुक्क रहन आग्रह गर्छु ।’

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा शुरु भएको बताउनु भयो । उहाँले आगामी दिनमा सतर्कतापूर्वक अगाडी बढ्दै पार्टीलाई पहिलो बनाउने बताउनु भयो । उहाँले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गर्नुभयो । पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उहाँले जनताको मन भने जितेको बताउनु भयो ।

लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो परिणामबाट म खुशी छैन । मैले परिकल्पना गरेको परिणाम यो होइन । मैले यतिको मात्रै अपेक्षा गरेको थिइनँ । मैले नैतिक रुपमा म अध्यक्षबाट राजीनामा दिएँ भनेर हालिदिउँ कि जस्तो लागेको थियो । यति सिटको राप्रपा कल्पना गरेको थिइनँ । म इमान्दारीपूर्वक भन्छु यो परिणामबाट म उज्यालो छैन । खुशी छैन । यो परिणाम आउन अध्यक्षको हिसाबले म जिम्मेवार छु । हामीले ठिक ढंगले आफूलाई परिचालित गर्न सकेनौँ । प्राविधिक रुपमा मत जित्न नसकेपनि हामीले मन जितेका छौँ । हामी प्रति आशा पलाएको छ । साथीहरुमा निराशा थियो । त्यस्तो साथीहरुलाई अहिले धेरै आयो नि भन्ने छ । तर हामीले ल्याउनुपर्ने यति मात्रै होइन । जित्नुपर्ने यति मात्र होइन । हामीले जे परिणाम प्राप्त गरेका छौँ । त्यसको जगमा टेकेर आगामी दिनमा राप्रपालाई मुलुकको पहिलो शक्ति बनाउँछौँ । राप्रपा मुलुकको पहिलो शक्ति बन्छ र हामीले हाम्रो जीवनकालमै हामीले हाम्रो मान्यताहरु स्थापित गर्छौं । जनताले आशाको दृष्टिले हेर्न थालिएको छ । साना तिना आशंका पनि बाँकी छन् । यो मत परिणामले के देखाउँछ भने तिमिहरु साच्चै सुध्रिएकै हो त ? हेरौँ न त एकचोटी । सुध्रिएको हो कि होइन जाँच्नको लागि हामीलाई टेक्ने अवसर प्राप्त भएको छ । यो हामीलाई हामी साँच्चिकै सुध्रिएको हो भन्ने देखाउने एउटा मौका हो । यसलाई त्यो मौकाको रुपमा हामीले उपयोग ग¥यौँ भने हामीले हाम्रो कार्यशैलीमा परिवर्तन गरेकै हो । र हामी अहिले जे भनिराखेका छौँ त्यो बाचा कर्मबाट पूरा गर्न तयार छौँ भन्नेकुरा आगामी कार्यशैलीबाट प्रमाणित ग¥यौँ भने राप्रपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन । अब यो यात्रा उकालो यात्रा प्रारम्भ भएको छ । यसलाई हामीले होसियारीपूर्वक, शतर्कतापूर्वक अगाडी बढाउनुपर्दछ ।’

अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिनुभयो । दुतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उहाँले त्यस्तो नगर्न आग्रह गर्नुभयो । उहाँले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिनुभयो । उहाँले भन्नुभयो – ‘अब तपाईहरुलाई कहिलेकाहीँ अन्तर्वार्तामा बोलाउँछन् । कहिले कुनै विदेशी दुतावासहरुले कार्डहरु पठाइराख्छ । ए मलाई फलाना दुतावासले बोलाएको छ भनेर खुरुर कुदेर गएर त्यहाँ रक्सी खानेले रक्सी खाने मासु खान पाउनेले मासु खान कुदिहाल्नु हुन्न । पार्टीलाई सोधेर जानुपर्छ । हिजोअस्ति तपाई व्यक्तिगत रुपमा जहाँ जानुहुन्थ्यो, जहाँ नाच्नुहुन्थ्यो केही छैन । तर अहिले केही मर्यादाहरु, केही जिम्मेवारीहरु छन् अब ।’

उहाँले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताउनु भयो । पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उहाँको भनाई छ । पार्टी सदस्यहरुले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?