चारआली जंगलमा भेटिएको दुई शवको पहिचान खुल्यो

मृतक श्रीमान/श्रीमति भएको पुष्टी, मृत्युको कारणबारे यसो भन्छ- प्रहरी

रासस
Read Time = 3 mins

झापा । झापाको मेचीनगरस्थित चारआली जंगलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उहाँकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो ।

लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको थियो भने शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ । प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ ।

सोमबार दिउँसो साढे २ बजे जंगलभित्र घाँस, दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । यसपछि प्रनाउ महतोका नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

लिम्बू दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ । उनीहरू मेचीनगर–१२ मा डेरा बस्दै आउनुभएको थियो । नेत्रकुमारले सन्जुसँग दोस्रो विवाह गर्नुभएको थियो । सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ ।

नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उहाँले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । ‘घटनास्थलमा हतियार भेटिएकाले हत्यापछि आत्महत्याको आशंका गरिएको हो’, उहाँले भन्नुभयोे, ‘शव परीक्षण रिपोर्टले मात्र यसको पुष्टि हुनसक्छ ।’

घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए । दुवै शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सोमबार साँझ धरान घोपा पठाइएको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?