देउवा र गगनलाई बधाई

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 16 mins

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाका बीचमा निर्वाचन सम्पन्न भई देउवाको विजयसमेत भइसकेको छ । ८९ मतमा देउवाले ६४ पाए भने गगनले २५ । चुनावमा एक जना जित्ने र अर्को हार्ने स्वाभाविक प्रक्रिया हो । विजय जसको भए पनि र केही मत नपुगेका कारण अर्कोले हार्नु परे तापनि चुनावले लोकतन्त्रको जग बलियो बनाउने काम गर्दछ । यो चुनावले पनि नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन मद्धत पुर्‍याएको छ । यो कार्यमा सरिक हुने देउवा र गगन दुवै बधाईका पात्र भएका छन् । निर्वाचनमा प्राविधिक र नैतिक विजय हुन्छ । कसैको प्राविधिक र नैतिक दुवै खाले विजय हुन्छ भने कसैको एकखाले मात्र । कोही हारे पनि नैतिकरूपमा विजय प्राप्त गर्दछन् ।

कांग्रेसको संसदीय दलको निर्वाचनमा त्यस्तै भएको छ । जसको प्राविधिक जित भए पनि र जसले नैतिक विजय हासिल गरे तापनि नेपालमा संसदीय दलको नेता चुन्न चुनाव हुने पार्टी नेपाली कांग्रेसमात्रै हो भन्ने कुरालाई पनि यो चुनावले स्थापित गरिदिएको छ । एकजना ७७ वर्षका र अर्का ४५ वर्षका नेताका बीचमा सौहार्द चुनाव हुनु त्यति सामान्य होइन जति आम पर्यवेक्षकले लिएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री भइसक्दा गगन विद्यार्थी नेता हुने रस्साकसीमै व्यस्त थिए तर समयले आज यी दुईका बीचमा प्रतिस्पर्धा गराएको छ र पनि नेपाली कांग्रेसमा यसलाई प्रतिशोधको भावनाले हेरिएको छैन । यसर्थ पनि दुवै नेतालाई बधाई ज्ञापन गर्नै पर्दछ ।

नेतृत्वको पुस्तान्तरण, रूपान्तरण र हस्तान्तरणका कुराहरू नेपाली कांग्रेसमा धेरै अघिदेखि सुनिँदै आएको कुरा हो । पार्टीमा पुस्तान्तरण भएरमात्र पुग्छ कि पुग्दैन भन्ने प्रश्न उठेमा त्यसको एकमात्र उत्तर हो-हुँदैन । पुस्तान्तरणपछि पार्टीको व्यापक रूपान्तरण हुन सकेमा मात्रै त्यसको सार्थकता हुन्छ । उमेरका हिसाबले युवापुस्तामा पार्टीको नेतृत्व आइपुग्ने तर पार्टी सञ्चालनका तौरतरिकाहरू उस्तै रहिरहने हो भने पुस्तान्तरण हुनु र नहुनुका बीचमा कुनै भिन्नता हुँदैन । पुस्तान्तरण हुन नसके पनि लामो समय नेतृत्वमा रहेका नेताले अब नेतृत्व हस्तान्तरण भए पनि गर्नै पर्दछ भन्ने चाहिँ दह्रो अभिमत कांग्रेसभित्र रहेको छ ।

नेतृत्वको पुस्तान्तरण, रूपान्तरण र हस्तान्तरणका कुराहरू नेपाली कांग्रेसमा धेरै अघिदेखि सुनिँदै आएको कुरा हो । पार्टीमा पुस्तान्तरण भएरमात्र पुग्छ कि पुग्दैन भन्ने प्रश्न उठेमा त्यसको एकमात्र उत्तर हो-हुँदैन । पुस्तान्तरणपछि पार्टीको व्यापक रूपान्तरण हुन सकेमा मात्रै त्यसको सार्थकता हुन्छ ।

तर, पुस्तान्तरण र रूपान्तरणको आवाज उठाउँदै आएकाहरू समेत विविध कारणले गगनलाई समर्थन गर्न असमर्थ रहेको देखियो । विगतदेखिका समर्थन र विरोधका स्वरहरूलाई मूल्यांकन गर्दा गगनका पक्षमा कम्तीमा पनि ३२ भोट खस्ने आँकलन गरिएको थियो तर घट्न पुग्यो । केही सांसद्मा लोभ पलायो भन्न सकिएला तर केही किन गुमाउनुपरेको हो भनी गगनले र उनका पक्षकाले विश्लेषण गर्दै आफूमा सुधार ल्याउनुपर्ने पनि निर्वाचन परिणामले देखाएको छ ।

हिजो सम्पन्न नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनावले संसदीय दलको नेता परिवर्तन गर्न त सकेन तर पाका नेता र युवा नेताबीचको निर्वाचनले नेपाली कांग्रेसभित्रको लोकतन्त्रलाई सबल बनाउन मद्दत पु¥याएको छ । प्रतिस्पर्धालाई लोकतन्त्रका गहनाका रूपमा नेपाली कांग्रेसमा लिइन्छ भन्ने कुरालाई पनि थप बल पुगेको छ । परिपक्व नेताहरूको शैली कमजोर हुँदै जाँदा पनि त्यसलाई चुनौती दिन अघि नसर्ने कांग्रेसका युवाहरू भन्ने परिचय बनिरहेका बेला केही युवाहरू अघि सरेर नेपाली कांग्रेसमा गतिशीलता ल्याउने प्रयास हुनुलाई सकारात्मक मान्नुपर्दछ ।

विचारमा पार्टी सशक्त हुँदासम्म नेता परिपक्व या युवा जो भए पनि त्यसमा प्रश्नहरू उठ्ने गर्दैनन् । पार्टीको सिद्धान्त अनुसार पार्टी चलिरहँदा सम्म पुराना नेताहरूलाई युवाहरूले चुनौती दिने मौका पाउँदैनन् । पार्टी गतिशील रहँदासम्म वरिष्ठ नेताहरू लगातार पदमा रहिरहे पनि कसैले औँला ठड्याउने हिम्मत गर्दैनन् । जब पार्टीमा शिथिलता आउँछ, त्यतिबेला केही हिम्मतिला युवाहरू जुर्मुराउँछन् । त्यसैको परिणाम हो गगनको उम्मेदवारी र धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरूको समर्थन ।

यिनको मात्र होइन, पहिलेको जस्तो पाका नेताहरूको विपक्षमा उभिन डराउने प्रवृत्तिलाई उधिन्दै अहिले खुलेयाम धेरै युवाहरू गगनका पक्षमा देखिनुले पनि पार्टीमा रहेको आन्तरिक लोकतन्त्रलाई उजागर गर्दछ । अर्कोतर्फ पार्टीमा परिवर्तनको चाहनालाई पनि बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरेहरूले आत्मसात् गरेर अघि बढेको प्रमाणित गर्दछ । शेरबहादुर देउवा र सुशील कोइराला या देउवा र रामचन्द्र पौडेलहरूका बीचमा मात्र होइन कांग्रेसभित्र देउवा र गगनका बीचमा पनि चुनाव हुन्छ भनेर देखाउन सक्नु पनि नेपाली कांग्रेसको एउटा सफलता नै हो ।

नेपालमा क्रियाशील कतिपय राजनीतिक दलहरूमा पार्टी सभापतिको विपक्षमा बोल्न समेत पाइँदैन । उनका विपक्षमा उम्मेदवारी दिएमा या उनको चाहनाविपरीतका मन्तव्य व्यक्त गरेमा पार्टीबाटै निष्काशित हुनुपर्ने अवस्थासमेत रहेका छन् । धेरै राजनीतिक दलहरूमा संसदीय दलको चुनाव नै भएन तर कांग्रेसमा स्वस्थ प्रतिस्पर्धा भएको छ । यसमा पार्टी सभापति शेरबहादुर देउवाले प्रदर्शन गर्नुभएको हार्दिकता, सहजता एवं सरलतालाई पनि अवमूल्यन गर्नु हुँदैन । पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टीको संसदीय दलको नेता आफैं हुँ भनेर डिक्टेटरसिप चलाउन सक्ने बहुमत हुँदाहुँदै पनि देउवाले लोकतान्त्रिक पद्धतिलाई त्याग्नुभएको छैन ।

गगनले उम्मेदवारी दिँदा हतारिएको भन्ने टिप्पणीहरू पनि आए । अनेक अफवाहका कुराहरू फैलाउने कामहरू पनि भए तर वास्तवमा गगनले त्यो बाटो समातेका छन्, जुन देउवाले सिकाएका थिए । देउवा ४९ वर्षको हुँदा गिरिजाप्रसाद कोइरालाको विकल्पमा उभिएका थिए । कोइरालाको ठाउँ लिने हिम्मत देखाएकै कारण ५० वर्षको नहुँदै देउवा प्रधानमन्त्री बनेका थिए । उनैलाई गुरु मानेर ४५ वर्षको उमेरमा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व लिन्छु भनेर गगनले भन्दा त्यसलाई बढाइचढाइ गरेर अनेक लाञ्छना लगाउने प्रयास हुनु नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीका लागि सुहाउने कुरा हुँदैन । उनको यो प्रयासलाई सह्राहना गर्नु नै पर्ने देखिन्छ ।

डा.शेखर कोइराला अघि सर्दा पुस्तान्तरण भए जस्तो अनुभूति हुन सकेको मानिँदैनथ्यो । नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणको प्रयास भने कोइरालाको नेतृत्वमा पनि सम्भव हुन्थ्यो । गगनको उम्मेदवारीले भने समग्र पार्टीमा परिवर्तन आउन नसके पनि पार्टीको एउटा धारभित्र हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको प्रयासले स्थान पाएको छ । मूल कुरा भनेको पार्टीको रूपान्तरण नै हो । रूपान्तरण यस अर्थमा कि पार्टीको सबलीकरण । पार्टीलाई जनताका बीचमा अन्य सबै राजनीतिक दलहरू भन्दा लोकप्रिय बनाउनु । मुलुकलाई अन्य विकसित मुलुकहरूले पक्डेको विकासको गतिमा दौडाउन प्रयास गरेको देखिनु । रूपान्तरण भन्नुको तात्पर्य आमनेपालीको दुःख निवारणार्थ पार्टीलाई क्रियाशील गराएको अनुभूति हुनु ।

अब गगनका चुनौती यिनै हुन् । पार्टीको समग्र नेतृत्व गर्न नपाए पनि दलभित्रको एउटा सबल पक्षको नेतृत्व गर्ने अवसर पाए । पार्टीको दोस्रो शक्तिशाली पद महामन्त्रीमा त छँदै थिए त्यसमाथि अहिलेको उनको उम्मेदवारी, पाएको समर्थनले पार्टीलाई क्रियाशील गराउन उनलाई थप बल दिएको छ । पाएको समर्थन र शक्तिलाई सकारात्मक दिशामा परिचालित गर्न सक्नु नै उनका लागि तथा समग्र पार्टीका लागि हितकर हुन्छ तर उनले कुन बाटो समात्छन् भन्ने हेर्न चाहिँ भविष्यका दिनहरू कुर्नै पर्ने हुन्छ ।

डा.शेखर कोइरालाले आफ्नो विचार समूहबाट उनलाई प्रस्ताव गरे । त्यो समूहमा रहेका गगनभन्दा वरिष्ठ, समकालीन र कनिष्ठ सबै नेताहरूले उनलाई सहर्ष स्वीकार गरे । गगनको नेतृत्वमा आफू रहन तयार रहेको सन्देश दिए । यी सबै नेताहरूको विश्वासलाई टुट्न नदिई नेपाली कांग्रेसलाई जनप्रिय पार्टी बनाउने अभियानमा सफल हुन सक्नुपर्ने ठूलो चुनौती गगनको काँधमा आएको छ । अर्को चुनावसम्म यी सबैको भरोसालाई कायम राख्दै थप समर्थन जुटाउन सफल भएमा मात्रै अहिलेको उम्मेदवारीले सार्थकता पाउने छ तर यसमा गगन सफल हुन्छन् कि हुँदैनन् भन्ने हेर्न पनि केही समय कुर्नै पर्दछ ।

अब कांग्रेसभित्रका प्रतिस्पर्धाहरू सकिएका छन् । प्रतिस्पर्धा बाँकी छ त कांग्रेसलाई कसरी सबल बनाउने भन्ने कुराको । प्रतिस्पर्धा गर्नुपर्ने छ त कांग्रेसका सिद्धान्त, विचार र आदर्शलाई समयानुकूल व्याख्या गर्दै युवा पुस्ताको आकर्षण गराउने कुराको ।

अब कांग्रेसभित्रका प्रतिस्पर्धाहरू सकिएका छन् । प्रतिस्पर्धा बाँकी छ त कांग्रेसलाई कसरी सबल बनाउने भन्ने कुराको । प्रतिस्पर्धा गर्नुपर्ने छ त कांग्रेसका सिद्धान्त, विचार र आदर्शलाई समयानुकूल व्याख्या गर्दै युवा पुस्ताको आकर्षण गराउने कुराको । त्यसैले चुनावी तिक्तता केही छ भने त्यसलाई बिर्सेर जितेका नेता र दोस्रो स्थान पाएका नेता मिलेर देशका समस्याका बारेमा संसद्मा केन्द्रित भए भने सबैको कल्याण हुने थियो । आम जनताका पीर मर्कामा मलम लगाउन दुवै नेता क्रियाशील हुनु नै आजको आवश्यकता हो र यसो गरेमा नेपाली कांग्रेसको त भलो हुने नै थियो, साथसाथै देशले पनि मुहार फेर्ने अवसर पाउने थियो ।

मतदाता बढेका बेला अघिल्लो चुनावमा भन्दा यसपटक नेपाली कांग्रेसले सात लाख मत बढाउनुपर्ने थियो तर सात लाख मत घटे । गठबन्धन गरी निर्वाचनमा होमिदा अझ बढी उम्मेदवारले प्रत्यक्षमा चुनाव जित्नुपर्ने थियो तर भएन । यी सबै कुराको विश्लेषण गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनाव लडेर लार्जेस्ट पार्टी हुने अवस्थामा पुर्‍याउने दायित्व कांग्रेस केन्द्रीय समितिको भए तापनि बढी जिम्मेवारी सभापति र महामन्त्री भएका कारण यी दुवैमा छ । अब त्यतातिर अग्रसर हुनेछन् भन्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्यार्थी संघको नेतृत्व मनोनयन होइन, अधिवेशन गराउनु छ । तरुण दलमा भागबण्डा होइन निष्पक्ष निर्वाचनका माध्यमबाट पदाधिकारी चयन गर्नुपर्ने छ । भ्रातृसंस्थाहरू धेरैको चुनाव नभएको लामो समय बितेको छ । विधानमै तोकिए पनि कांग्रेसका विभागहरू गठन हुन सकेका छैनन् । अब यस्ता सन्दर्भहरूमा छलफल चलाएर निष्कर्ष निकाली पार्टीलाई गतिशील बनाउनुपर्ने छ । हेरौँ, नेताहरू विवादमै रमाउने हुन् कि सर्वोपरि हितमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. सिद्धान्त विचार आदर्श यो गफ मात्र हो!

रिलेटेड न्युज

छुटाउनुभयो कि ?