कोरियाबाट आइपुगे उन्नत जातका गाई तथा साँढे

Read Time = 5 mins

काठमाडौं । हेफर इन्टरनेशनलले नेपाललाई दिएका उन्नत जातका साँढे र गाईको पहिलो लट बिहीबार काठमाडौंमा आइपुगेको छ । हेफर दक्षिण कोरियाले अनुदानमा नेपाललाई दिएका एक सय २१ गाई र साँढेमध्ये पहिलो लटमा छवटा साँढे र ३६ गाई गरी ४२ वटा चार्टर फ्लाइटमार्फत् ल्याइएको हो । जसमा चारदेखि नौ महिनाका बाच्छाबाच्छी रहेको ढुवानीकर्ता कम्पनी मेट ग्रुप प्रालिका प्रबन्ध निर्देशक सरिन केसीले हिमालय टाइम्सलाई बताउनुभयो । बाँकी गाई पनि एक हस्ताभित्र आइसक्ने उहाँले जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागको मागअनुसार हेफरले यी गाई तथा साँढे उपलब्ध गराएको हो । हेफरले २० होलेस्टेन साँढे र एक सय एक होलेस्टेन गाई दिएको छ भने दिएका गाई र साँढेमध्ये २० वटा साँढे सरकारले चितवन, पोखरा, लहानलगायतका प्रजनन् केन्द्रमा राख्नेछ भने बाँकी गाई सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाका किसानलाई हस्तान्तरण गर्ने बताइएको छ ।

हेफर र कमलामाई नगरपालिकाले गाई राख्न त्यहाँ ५० वटा गोठलगायत पूर्वाधार तयारी अवस्था राखेका छन् । मुख्य लगानी नगरपालिकाको भए पनि अन्य सबै प्राविधिक सहयोग हेफरले गर्नेछ ।

हेफर दक्षिण कोरियाले अनुदानमा नेपाललाई दिएका एक सय २१ गाई र साँढेमध्ये पहिलो लटमा छवटा साँढे र ३६ गाई गरी ४२ वटा चार्टर फ्लाइटमार्फत् ल्याइएको हो ।

प्रत्येक गाई र साँढेमा चिप्स जडान गरिएका छन्, जसमार्फत् दक्षिण कोरियाबाटै गाईको स्वास्थ्यलगायतका कुरामा निगरानी हुनेछ भने रेखदेखको जिम्मा पशुसेवा विभाग र कोरिया सरकारको हुने बताइएको छ । हेफर दिएका गाई र साँढेबाट मिल्की परियोजना सञ्चालन हुने र उक्त कार्य हेफर इन्टरनेशनल, पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्डले संयुक्तरूपमा गर्ने बताइएको छ ।

हेफर इन्टरनेशनलका सञ्चार संयोजक प्रवीण गुरुङका अनुसार एक सय २१ गाई र साँढेमध्ये सरकारलाई २० साँढे र २० गाई तथा बाँकी किसानलाई वितरण गरिनेछ । हेफरले उन्नत जातको पाँच हजार डोज सिमेन (वीर्य) पनि उपलब्ध गराउने भएको छ । दूध तथा दुग्धजन्य पदार्थको अभाव कम गर्न हेफरले नेपाललाई गाई तथा साँढे सहयोग गरेको हो । सरकारले गत फागुनमा अमेरिकाबाट पनि उन्नत जातका सातवटा साँढे ल्याएको थियो । सरकारले विगत लामो समयदेखि छिमेकी मुलुक भारतबाटै उन्नत जातका गाई, भैंसी ल्याउन पहल गर्दै आएको भए पनि सफल हुन सकेको छैन । नेपालमा उन्नत जातका दुधालु गाईभैंसी नहुँदा मागअनुसार दूध उत्पादन बढ्न सकेको छैन भने दूधको उत्पादन लागत भने बढेर गएको छ । जसका कारण अभावका बेला कच्चा दूधसमेत भारतबाट आयात हुने गरेको छ । नेपाल डेरी एसोसिएसनका अनुसार हाल नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेको छ भने उत्पादित दूध आधा अर्थात् ३१ लाख लिटर बजारमा आउने र आधा उत्पादनकर्ता किसानले प्रयोग गर्ने गरेका छन् । बजारमा आएकोमध्ये १७ प्रतिशत औपचारिक क्षेत्रमा लेबलिङ प्याकेजिङ भएर आउँछ भने ३३ प्रतिशत खुलारूपमा बिक्री हुन्छ ।

कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको योगदान नौ प्रतिशत रहेको छ भने किसान तहमा छ लाख कृषक परिवार र करिब ४० हजारभन्दा बढीले उद्योगस्तरमा रोजगारी पाएका छन् । डेरी क्षेत्रबाट वार्षिक एक अर्बभन्दा बढी राजस्व उठ्ने गरेको छ । दूध क्षेत्रबाट दैनिक छ करोडभन्दा बढी रकम शहरबाट गाउँमा प्रवाह हुने गरेको छ । एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालका अनुसार यस क्षेत्रमा निजी डेरी उद्योगको मात्रै ४० अर्बभन्दा बढी लगानी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?