बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

Read Time = 6 mins

रूपन्देही । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने नाराका साथ बिहीबारदेखि बुटवलमा औद्योगिक मेला सुरु भएको छ । रूपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सव उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले व्यापारघाटा बढिरहेको, आयात नियन्त्रण नभई झनै बढेर गएर विदेशी मुद्रा सञ्चितिमा अभूतपूर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताउनुभएको हो ।

मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडीबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने उहाँको भनाइ । राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘अब जडीबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले खेतीयोग्य जमिन बाँझो नराख्न युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादन बढाउन सके व्यापारघाटा कम गर्न सकिने बताउनुभयो । राष्ट्रपति भण्डारीले निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थितरूपमा सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । विमानस्थल व्यवस्थितरूपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकाससँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिने उहाँको भनाइ छ । साथै राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरून् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय औद्योगिक प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्ने, उद्योगको प्रवद्र्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई चेतना जगाउने, स्वदेशी उत्पादन प्रवद्र्धन र बजारीकरणमा समेत सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।

गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय संस्थामा वृद्धि भइरहेको ब्याजदर घटाउन आग्रह गर्दै त्यसो नभएमा सरकारले हस्तक्षेप गर्ने चेतावनी दिनुभयो । मुलुकमा भइरहेका आर्थिक मन्दीका कारण उद्योग व्यापार व्यवसाय पलायन हुने अवस्था आएकाले बैंक तथा वित्तीय संस्था गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ । मन्त्री खाँणले भन्नुभयो, ‘उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्ने सरकारको दायित्व हो । तपाईंहरूका साथमा सरकार र सरकारका सबै अंगहरू हुनेछन् भन्ने विश्वास दिलाउन चाहन्छु, यो हामी सबैको साझा दायित्व हो ।’

मेला आयोजक मूल समितिका संयोजकसमेत रहनुभएका रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा गरेको वृद्धि, खुला सीमालगायतका कारण यस क्षेत्रका उद्योगी व्यवसायी मारमा परको भन्दै समस्या समाधानका लागि मन्त्री खाँणको ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

बुटवल मण्डपमा आयोजना गरिएको मेलामा विभिन्न १० पेभिलियनमा चार सय ५० स्टल राखिएको छ । १३ दिनसम्म सञ्चालन हुने मेला सात लाखले अवलोकन गर्ने र २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा रहेको आयोजक मूल समितिका सहसंयोजक जीवकान्त काफ्लेले बताउनुभयो । मेला प्रवेश टिकटदर ६० रुपैया र विद्यार्थीलाई ५० रुपैयाँ रहेको छ भने बिक्री भएको प्रत्येक टिकटबाट गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका लागि चार रुपैयाँ र शिक्षा क्षेत्रका लागि चार रुपैयाँ छुट्याइएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?