रास्कोट नगर प्रहरी भर्नाविरुद्धको रिटमा सुनुवाइ सुरु

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाले कानुनबिनै नगर प्रहरी भर्ना प्रक्रिया अघि बढाएपछि सो सम्बन्धमा अदालतमा परेको रिटमा प्रारम्भिक सुनुवाइ भएको छ ।

उत्षप्रेणयुक्त परमादेश माग गरिएको रिटमाथि मङ्गलबार प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले दुवै पक्षलाई छलफलका लागि पुस ७ गते बोलाएको छ । नगरपालिकाले ऐन नबनाई नगर प्रहरी व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कार्यविधि-२०७९ का आधारमा नगर प्रहरी भर्ना आह्वान गरेपछि उच्च अदालतमा रिट दायर भएको थियो ।

नगरपालिकाले सूचना जारी गर्दै शान्तिसुरक्षा र अमनचयन कायम गर्न नेपालको संविधानको अनुसूची ८ मा उल्लिखित स्थानीय तहको एकल अधिकार प्रयोग गरी प्रतिस्पर्धाका आधारमा सेवा करारमा नगर प्रहरी नियुक्त गर्न भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ । नगरपालिकाले मङ्सिर १८ गते १५ दिने म्यादसहितको सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सूचनामा खुला आठ, महिला तीन, दलित दुई र शहीद तथा बेपत्ता परिवारबाट दुई गरी १५ जना माग गरिएको छ ।

सूचनामा भूपू प्रहरी (नेपाल प्रहरी, सशस्त्र), म्यादीले अवकाश तथा अनुभवको प्रमाणपत्र र पूर्वजनमुक्ति सेनाका हकमा अनमिनले सूचीकृत गरेको प्रमाणपत्र भएकाले आवेदन दिन पाउने उल्लेख गरेको छ ।

ऐनबिना नै सूचना आएपछि अधिवक्ता राजबहादुर बोगटीले रास्कोट नगरपालिकाको नगर प्रहरी करार सेवामा लिने विज्ञापन असंवैधानिक र गैरकानुनी भएको दाबी गर्दै गत सोमबार उच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

निवेदक बोगटीले कामु मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन भने अस्वीकार गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?