गोरुगाडा अर्थात डल्लप : अन्नपात ओसार्नेदेखि विरामीलाई अस्पतालसम्म लैजान सहज

पहिला बेहुला–बेहुली बोक्न समेत गोरुगाडाको प्रयोग गर्ने चलन थियो ।

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 5 mins

बर्दिया । बर्दिया लगायतका तराई मधेश क्षेत्रमा गोरुगाडा अर्थात डल्लपको प्रयोग अझै पनि यथावत रहेको छ । भुगोलको एक कुनाबाट अर्को कुनासम्म पुग्न यातायातका अनेक साधनको विकास भएको यो २१ औ शताब्दीमा बर्दियामा भने किसानहरुले अझै पनि गोरुगाडाको प्रयोगलाई पहिलो प्राथमिकता दिँदै आएका छन् । यातायातको तथा सामान ढुवानीका लागी प्रयोग गरिने अन्य साधन हुँदा पनि बर्दियाका किसानहरुले गोरुगाडाको प्रयोगलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

आधुनिकतासँगै मानिस सुविधाभोगी बन्दै व्यावसायिक हुन थालेपछि गोरुगाडा हराउँदै गएको हो ।

तराईका बिभिन्न जिल्लाहरुमा परापुर्व कालदेखि चल्दै आएको गोरुगाडा अर्थात डल्लपको प्रयोग अहिले पनि केही स्थानिय स्तरमा यथावत नै रहेको छ । बर्दिया जिल्ला लगायत तराईका बिभिन्न जिल्लाहरुमा गोरुगाडाको प्रयोग यथावत छ । आफना पुर्खाहरुले घरको कामदेखि अस्पतालसम्म जानका लागि प्रयोग गर्ने गरेको गोरु गाडा अहिले पनि उत्तिकै प्रयोगमा छ ।

गाउँ घरमा खेतमा भएका अन्नपात घरसम्म पुरयाउन होस् या दुखबिमार पर्दा अस्पतालसम्म पुरयाउन होस् यसको प्रयोग हुने गरेको छ । न त कर तिर्नु पर्ने न त कुनै दस्तुर बुझाउनु पर्ने भएका कारण त्यसको प्रयोगले स्थानिय खुशी छन् । गुलरिया ६ का नक्कउ धोवीका अनुसार डल्लपको प्रयोग आफनो यातायातको साधन भएको बताउनु भयो ।

उहाँका अनुसार खेतमा रहेको अन्नवाली भित्रयाउन होस् वा विरामीलाई अस्पताल लैजान पनि यसको प्रयोग हुँदै आएको छ । सरकारले विभिन्न समयमा यातायात एव ढुवानीलाई सहज बनाउनका लागि नयाँ प्रविधि तथा विकासको कुरा गरिरहेतापनि बर्दियाका किसानसम्म त्यस्तो प्रविधि एवं सडक सञ्जालको पूर्ण विकास भइनसकेको अवस्थामा अझै पनि गोरुगाडाद्धारा संचालित लडिया चलाउन किसानहरु बाध्य छन् । हजुरबुवा जिजुबुवादेखि प्रयोग हुँदै आईरहेको टायरको चक्का भएकोलाई डल्लप भनिन्छ भने काठको चक्का भएकोलाई लडिया समेत भन्ने गरिन्छ ।

बर्दिया जिल्लाको ग्रामीण भेगहरुमा अहिले पनि त्यसको प्रचलन कायमै छ । आफनै घरमा हुने भएका कारणले जतिबेला चाहियो उतिबेला प्रयोग गर्न सकिने र त्यका लागि चाहिने राँगा अथवा गोरुले अन्य काम समेत गर्न सकिने भएकाले पनि यसलाई स्थानियले राम्रो सदुपयोग गरि रहेको देख्न सकिन्छ ।

पहिला–पहिला बिहेमा जन्ती लैजान र बेहुला–बेहुली बोक्न समेत गोरुगाडाको प्रयोग गर्ने चलन थियो । धेरै स्थानमा आधुनिकतासँगै गोरुगाडाको प्रयोग हराउँदै गरेको भएपनि यहाँ भने यसको अझै प्रचलनमा छ ।

सरकारले टेक्टर र बिभिन्न ढुावनीका साधनहरुको कर तिर्नुपर्ने ब्यवस्था गरेको छ । बार्षिक रुपमा सरकारलाई ढुवानीका साधनको कर तिर्नु पर्ने भएपनि घरमा भएको गोरु गाडाको कुनै कर समेत तिर्नु पर्दैन जसले गर्दा कृषकको व्ययभार समेत कम हुने गर्दछ । पटक पटक सरकारलाई कर तिर्दा समेत ठुलो रकम जाने भएकाले गाउँमा प्रचलनमा रहेको गोरु गाडाले कृषकलाई सहज बारबर्दिया नगरपालिका २ का लहानु थारुले बताउनु भयो ।

गोरुवाडाको निर्माण स्थानिय काठ रस्सी र टायर अथवा काठकै चक्काबाट गरिएको हुन्छ जसले गर्दा आयातित बस्तुको प्रयोग बारम्बार गर्नु पर्दैन र त्यसको प्रयोग आफुले चाहे अनुसार गर्न सकिने भएकाले पनि यसको प्रयोग गाउँघरमा गर्ने गरेको देखिन्छ । हुने खाने समुदायकाले टयाक्टरबाट ढुवानी गर्ने गरेको भएपनि दैनिक मजदुरी गर्ने र सामान्य परिवारहरुले डल्लपको नै प्रयोग गर्दै आइरहेका देखिन्छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?