जनकपुरद्वारा विराटनगर पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनकपुर रोयल्सका ललित राजवंशीले पाँच विकेट लिएको खेलमा जनकपुरले विराटनगरलाई पराजित गरेको छ । जनकपुरका ललितनारायण राजवंशीले चार ओभरमा एक मेडनसहित आठ रन खर्चेर पाँच विकेट लिनुभएपछि विराटनगरले १९.४ ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो ।

विराटनगरका सिकन्दर राजाले १८ बलमा दुई चौका र चार छक्कासहित सर्वाधिक ३८, ओपनर अर्जुन साउद २१ बलमा दुई चौका र एक छक्कासहित १८, उपकप्तान रोहित पौडेलले २९ बलमा तीन चौका र एक छक्कासहित ३२ रन जोड्नुभयो ।

विराटनगरले दिएको १४१ रनको लक्ष्य पछ्याएको जनकपुरले अन्तिम बलमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो । जनकपुरका लागि चाडविक वाल्टनले अविजित ६९ रनको अर्धशतकीय इनिङ खेल्नुभयो तथा ट्रेभोन ग्रिफिथले २५ रन बनाउनुभयो ।

त्यसबाहेक शरफुदिन असरफले २३ रन बनाउँदा आदिल आलमले अविजित १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरका लागि नन्दन यादव, हुसेन तलात र रिजन ढकालले समान ११ विकेट लिनुभयो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमै भएको अर्को खेलमा फारवेस्ट युनाइटेडले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको छ । ९९ रनको विजयी लक्ष्य पछ्याएको फारवेस्टले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

फारवेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० तथा देव खनालले १७ र भीम सार्कीले ११ रन बनाउनुभयो । काठमाडौंका लागि अनिल खरेलले दुई तथा अजमतुल्लाह उमरजाई, अविनाश बोहरा, रायन बर्ल र बसिर अहमदले समान एक-एक विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा नौ विकेट गुमाएर ९८ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले ४५, ज्ञानेन्द्र मल्लले १३, सन्तोष कार्कीले १२ रन बनाउनुभयो । फारवेस्टका लागि उमर अलिले तीन तथा हजमतुल्लाह शाहिदी, भुवन कार्कीले समान दुई-दुई विकेट लिनुभयो ।

दोस्रो खेलमा पहिलो हार बेहोरेको काठमाडौं दुई खेलमा दुई अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । दोस्रो खेल खेलेको फारवेस्टले पहिलो जित हात पारेको छ । पहिलो खेलमा फारवेस्ट लुम्बिनी अलस्टारसँग पराजित भएको थियो । फारवेस्ट दुई खेलमा एक अंकसहित अंकतालिकाको चौथो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?