काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ । महासमिति बैठक फागुन ७ गतेबाट सुरु भएको थियो । नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका चारवटै प्रस्तावहरू सर्वसम्मत पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन महासमिति बैठकले सर्वसम्मत पारित गरेको हो । चारवटै प्रस्तावहरूमाथि समूहगत छलफलपछि प्रदेश सभापतिहरूले सुझावसहित धारणा राखेका थिए । त्यसपछि आवश्यक संशोधनसहित ती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
बैठकमा महामन्त्री गगनकुमार थापाले चारवटै प्रस्ताव पारित गर्न प्रस्ताव गरेकोमा महासमिति सदस्यहरूले ताली बजाएर अनुमोदन गरेका थिए । हलबाट प्राप्त सुझावलाई समेटेर प्रस्तावलाई अन्तिम रूप दिने अधिकार केन्द्रीय समितिलाई दिइएको छ । बैठकको निष्कर्ष सुनाउँदै महामन्त्री थापाले भन्नुभयो, ‘बन्दसत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । प्राप्त सुझावहरूलाई केन्द्रीय कार्यसमितिले पारित गर्नेगरी महासमितिको बैठक सकिएको छ ।’ बैठकले चारवटै प्रस्तावहरू सर्वसम्मत रूपले पारित गरेको जानकारी दिँदै सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘प्रस्तावहरूमाथि सुझावहरू आएका छन् । ती सुझावहरूलाई पछि केन्द्रीय समितिले समावेश गरेर दस्तावेजहरूलाई अन्तिम रूप दिनेछ । अहिले चारवटै प्रस्तावहरू सर्वसम्मतले पास गरिएको छ ।’
बैठकमा महामन्त्री थापाले २०८४ को निर्वाचनमा गठबन्धन नगर्ने भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । तर, महासमिति बैठकले अहिले त्यसबारे कुनै निर्णय गरेन । तर, वर्तमान गठबन्धनलाई निरन्तरता दिएर जाने भन्नेमा दुईमत नरहेको प्रचार विभाग प्रमुख विश्वकर्माको दाबी छ । मुख्यतः महामन्त्री थापाको सांगठनिक प्रस्तावमा गठबन्धनलाई रणनीतिक विषय मात्रै बनाउनुपर्ने सुझाव हलबाट आएको थियो । यस्तै, पार्टीको आगामी महाधिवेशनको मिति पनि अहिले नै तोक्नु जायज नहुने पनि अधिकांश समूहको निष्कर्ष रहेको थियो ।
गठबन्धनलाई निरन्तरता दिने निर्णय
महामन्त्री गगन थापाले कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिनेसमेत बैठकले निर्णय गरेको जानकारी दिनुभएको छ । बैठकमा महामन्त्री थापाले भन्नुभयो, ‘वर्तमान सरकारमार्फत भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध वैधानिक रूपले सुशासन र राष्ट्रिय सदाचारको पद्धति सुरुवात गर्न सम्पूर्ण रूपले दृढ संकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलुकमा विद्यमान सबैखाले विभेद र हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ ।’ बैठकले तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति सचेत रहँदै, किसान, सहकारी बचतकर्ता, लघुवित्त पीडितको पीडालाई समाधान गरी न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । महामन्त्री गगन थापाले चुनावी गठबन्धन नगर्ने संकल्प महासमिति बैठकले लिनुपर्ने प्रस्ताव राखेको भए पनि प्रदेश सभापतिहरूले गठबन्धन नीति नभई रणनीति बनाउन सुझाव दिएका छन् । त्यही विषयमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच लामो रस्साकस्सी चलेको थियो । बैठकमा सुझाव दिँदै कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराउनुभयो । पार्टीले युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको सुझाव दिनुभयो ।
सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमति सदस्यबाट पार्टी र देशको बारेमा चिन्ता र चासो आउनु राम्रो रहेको विषय उठेको जानकारी गराउनुभयो । कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकाले इमानदार भएर कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘गठबन्धन गर्ने कि नगर्ने ? भन्ने विषयमा निर्णय लिन हतार हुन्छ ।
गठबन्धनभित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आयो । यो तत्कालीन समयले माग गर्ने विषय हो । अहिले नै गर्ने/नगर्ने अलि हतार हो । तीनै प्रस्तावलाई चलायमान र गतिशील बनाउनुपर्छ ।’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गठबन्धनको हाउगुजी बनाएर अतिरञ्जित गर्न नहुने बताउनुभएको छ । चौधरीले गठबन्धन गर्नेबारे चुनावअघि आवश्यकता र परिस्थिति हेरेर गर्ने कुरा भएको स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
केन्द्रीय समितिले परिमार्जनसहित अनुमोदन गर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पारित भएका प्रतिवेदन परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । महासमिति बैठकको समापन सत्रमा सभापति देउवाले प्रतिवेदनमाथि आएका राय सुझावलाई आत्मसात गर्दै केन्द्रीय समितिले अनुमोदन गर्ने जानकारी दिनुभयो । कांग्रेस महासमिति बैठकबाट भएका निर्णयलाई देश र विदेशबाट महत्वका साथ हेरिएको सभापति देउवाको भनाइ छ । उहाँले गठबन्धनलाई सुशासन कायम गर्ने दायित्व रहेको पनि स्पष्ट पार्नुभयो । सभापति देउवाले महासमिति बैठक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
दाग लागेको मन्त्रीलाई घर पठाऔँ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम गर्न नसक्ने र विवादित मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताउनुभएको छ । बिहीबार पार्टीको महासमिति बैठकको समापन कार्यक्रममा बोल्दै महामन्त्री थापाले दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताउनुभएको हो । पार्टीबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्रीसम्म सबै जनप्रतिनिधिले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्ने स्पष्ट पार्दै महामन्त्री थापाले भन्नुभयो, ‘म जस्तो सांसद होस् वा मन्त्री होस् प्रत्येकले रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुसी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अहिले पार्टीको कतिपय ठाउँमा दाग लागेको छ तर, ऐना पुछेर दाग जाँदैन । अनुहारको दाग मेटाऔँ ।’
यही व्यवस्थाभित्र रहेर सबै असन्तुष्टिलाई समाधान गर्छौं : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकले पार्टीलाई एकढिक्का भएको सन्देश दिएको बताउनुभएको छ । महासमिति बैठकको समापन समारोहमा बोल्दै महामन्त्री शर्माले भन्नुभयो, ‘महासमिति बैठकमा हामीले दर्जनौँ विषयहरूमा छलफल गर्यौँ, र अब यो देशलाई सुशासन र समुन्नतिको यात्रामा लिएर जानलाई कांग्रेस एकढिक्का भएर अगाडि बढ्छ भन्ने सन्देश दिने ठाउँमा आइपुगेका छौँ । हामीले प्रण गरेका छौँ कि, अबका १५ वर्षपछि नेपाललाई समुन्नतिको एउटा उचाइमा पुर्याउनेछौँ र त्यसका लागि प्रतिबद्ध छौँ ।’ राजनीतिमा रूपान्तरणका लागि कांग्रेसले राजनीतिक प्रस्तावहरू पनि पारित गरेको जानकारी दिँदै महामन्त्री शर्माले भन्नुभयो, ‘अहिले धेरै देखिएको असन्तुष्टिहरूलाई भर्याङ बनाएर कसैले आगामी निर्वाचनमा सरकारमा जाने सपना देखेको छ । कसैले अवस्था होइन व्यवस्था नै खराब भनेर पुरानै राजतन्त्रलाई ल्याउने परिकल्पना गरिरहेका छौँ । तर, हामी यही व्यवस्थाभित्र रहेर सबै असन्तुष्टिलाई समाधान गर्छौं ।’
महासमिति बैठकले बृहत् एकताको सन्देश दिएको छ : सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महासमिति बैठकले पार्टीभित्र बृहत् एकताको सन्देश दिएको बताउनुभएको छ । महासमिति बैठकको समापनमा आफ्नो धारणा राख्दै नेता सिटौलाले बैठकले कांग्रेसभित्र एकता रहेको सन्देश दिएको दाबी गर्दै भन्नुभयो, ‘यो महासमिति बैठकले कांग्रेसभित्र बृहत् एकताको सन्देश दिएको छ, आगामी निर्वाचनमा कांग्रेसले बहुमतका साथ परिणाम निकाल्ने गरी यसबाट ताकत प्राप्त भएको छ भन्ने लागेको छ । महासमिति बैठक ऐतिहासिक रूपमा सम्पन्न भएको छ । यो बैठकबाट हामीबीचको तीतोमिठो मेटिएको छ । हामीबीचको असमझदारी मेटिएको छ । अब हामी एकताबद्ध भएर अघि बढ्नेछौँ ।’
एकताको आधार निर्माण गर्न मेरो सबै प्रयत्न रहनेछ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र एकताका आधारहरू निर्माण गर्नुपर्ने दायित्व सबैमा रहेको बताउनुभएको छ । महासमिति बैठकको समापन कार्यक्रममा बोल्दै नेता कोइरालाले भन्नुभयो, ‘एकताको आधारहरू निर्माणहरू गर्नुपर्ने दायित्व सबैको काँधमा छ । मेरो सारा प्रयत्न यसैमा छ । महासमिति बैठकले भविष्यको कांग्रेसको जीवन्तता प्रदान गरेको छ । बैठकपछि नेता कार्यकर्ता ऊर्जा लिएर कर्मभूमिमा फर्कने अपेक्षा छ । आफूभित्रको लोकतान्त्रिक चरित्रलाई जनतामाझ प्रस्तुत महासमिति बैठकमार्फत भएको छ । यो देशमा केही हुँदैन भन्ने भाष्य निर्माण भएको छ, त्यसलाई चिर्न राज्य संयन्त्र मात्रै पर्याप्त नहुने भएकाले पार्टी संगठन व्यापक रूपमा परिचालन हुनुपर्छ ।’
बन्दसत्रमा गगन थापा समर्थकको नाराबाजी
नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा बिहीबार लफडा भएको छ । बागमती प्रदेशका सभापति इन्द्र बानियाँले संयुक्त छलफलपछि निष्कर्ष सुनाउने क्रममा तनाव सिर्जना भएको हो । गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई लिएर चुनावी गठबन्धन गर्ने या नगर्ने ? भन्ने विषयमा विवाद भएको बताइएको छ । बानियाँले गण्डकी र बागमती प्रदेश समूहमा भएको छलफलको निष्कर्ष पेस गर्न सुरु गरेसँगै हलमा महामन्त्री थापा समर्थकले नाराबाजी गरेका थिए । बानियाँले गठबन्धनको विषय रणनीतिक मात्रै हुनुपर्ने बताउनुभएको थियो । महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरे पनि गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरूले नाराबाजी जारी राखे । उनीहरूले गगनको प्रस्ताव पास हुनुपर्ने भन्दै होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी बोलाउनु परेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच