राजनीतिमा जे पनि हुनसक्छ । स्थायी शत्रु र स्थायी मित्र राजनीतिमा हुँदैनन् । जसले हान्यो त्यसले जान्यो । अर्थात् फोहोरी खेल नै हो राजनीति । यी वाक्यलाई नेपाली राजनीतिका खेलाडीहरूले निरन्तर सिद्ध गरिरहेका छन् । यसै मेसोमा सिद्धान्तहीन चुनावी गठबन्धनले उत्पन्न गरेको अवसरवादको उत्कर्ष अभ्यास अकस्मात् र नाटकीय रूपमा आरम्भ भएर केही घण्टामा नै पटाक्षेप भएको छ । नाटकीय र अकस्मात् भए पनि यो स्वाभाविक हो भनेर मान्नुपर्ने हुन्छ ।
स्थापनाकालदेखि नै राजा ल्याउन उद्घोष गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी राजालाई अस्वीकार गर्ने, नेपाल कम्युनिष्ट पार्टी एमाले र राजालाई सिध्याउनुपर्छ भन्ने नेकपा माओवादी पार्टीको आश्चर्यजनक गठबन्धनबाट सरकारको गठन भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित गठबन्धनसँग कुनै सिद्धान्तको आधार भने पटक्कै छैन । हुनु आवश्यक पनि छैन । तर यसको मूलमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहं भूमिका भने महत्वपूर्ण हुन पुगेको छ । यस्तो असैद्धान्तिक गठबन्धनका प्रत्यक्ष चाणक्य हुनुभएको छ अध्यक्ष ओली । माओवादी अध्यक्षले करिब डेढ वर्षसम्म निरन्तर प्रतिगामी, प्रतिगमनको मतियार भनेर आरोप लगाइएका ओलीको योजना र समर्थनअन्तर्गत पुष्पकमल दाहालले नै नेतृत्व लिनु सामान्य होइन ।
प्रतिगामी वा हिजोका दिनमा दुई पटक संसद् विघटनको सिफारिश गर्नुभएका ओलीले माओवादीबाट राजनीतिक रूपमा सफाइ पाउनुभएको छ । अर्कोतर्फ ओलीले समेत डेढ वर्षसम्म निरन्तर विदेशीहरूका पक्षधर, भारतीय स्वार्थका प्रवक्ता जस्ता अनेक पदावलीबाट विभूषित गरिएका माओवादी अध्यक्ष दाहाल पनि ओलीबाट आरोपमुक्त हुनुभएको छ । डेढ वर्ष पहिले चुँडिएको कम्युनिष्ट धागोलाई जोड्ने काम मात्रै भएन धागोलाई अझ सशक्त बनाउन सुपर-ग्लुको समेत आविष्कार भएको छ । साना-ठूला सुपर-ग्लुका बोतल जस्तो भएर राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत, जसपा, जन उन्मुक्ति जस्ता पार्टीहरू एमाले-माओवादीका बीचमा टाँसिन पुगेका छन् । यो पनि राजनीतिक भाषामा उपलब्धिमूलक मान्नुपर्ने हुन्छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबाट डाँडा कटाइने, नांगेझार हुने कमसेकम अब ओली, प्रचण्डहरू जस्ता बारम्बार नेतृत्व सम्हाल्नेहरूले सजाय पाउने खतरा अन्त्य भएको छ । तर प्रदेशको ढाँचालाई नै अस्वीकार गर्नु भएका रविजीले गृह मन्त्रालयको जिम्मेदारी लिँदै गर्दा प्रदेश सरकारसँग कुन रूपमा आन्तरिक सम्बन्ध राख्नु हुने हो त्यो चासो यथावत् छ ।
संघीय प्रतिनिधिसभामा बत्तीस स्थानमात्रै पाएको माओवादीसँग जोरी खोज्दा नेपाली कांग्रेस पार्टी भने उत्तानो टाँग लगाउन बाध्य भएको छ । बढी स्थानको अहंकारका कारण कांग्रेसले केन्द्रीय सत्तामात्रै गुमाएन प्रदेश सरकार र भोलिका लागि आन्तरिक नेतृत्व विकासको क्रमलाई समेत अवरोध खडा गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अत्यन्त ठूलो महत्वाकांक्षा, उहाँको उपयोग गरी आफ्नो सुखद् र सहज राजनीतिक भविष्यको सिँढी चढ्न खोज्नेहरूको निकृष्ट आकांक्षाका कारण माओवादीसँग सहकार्य अन्त्य भयो र चुनावी गठबन्धन टुट्न पुग्यो । यसले के स्पष्ट गरेको छ भने चुनावी गठबन्धन देउवाको छैटौ पटक प्रधानमन्त्री प्राप्त गर्ने तृष्णा मात्रै थियो । आफ्नो क्षुधा मेट्नका लागि मात्रै देउवा गठबन्धनमा बाँधिएको र त्यो पूरा नहुने अवस्थामा भताभुंग होस् भन्ने सोच उहाँमा रहेको स्पष्ट देखियो ।
देउवाको यो आत्मघाती, आत्मकेन्द्रित, सत्तास्वार्थमा निर्लिप्त सोचले नेपाली कांग्रेसलाई गम्भीर क्षति पुग्ने कुरामा सन्देह छैन ।
निर्वाचनका समयमा नै गरिएको असैद्धान्तिक गठबन्धबारे प्रशस्त बहस भएको थियो । अन्तिम सत्य सत्ता भन्ने मान्यतामा गठबन्धन भएको हुनाले यसबाट अवसरवाद विकास हुने निष्कर्ष धेरैको थियो । तर तथाकथित प्रतिगमनलाई परास्त गर्ने नाममा चुनावी गठबन्धन भयो । त्यो यथार्थमा एमालेलाई अर्को पाँच वर्षसम्म सत्तामा टेक्न नदिने प्रयास जति थियो त्यो भन्दा बढी नेपाली कांग्रेसका लागि सत्ताका लागि रणनीति । सत्ताका लागि त्यस्तो असैद्धान्तिक चुनावी गठबन्धन गरेपछि अहिले सत्ता साझेदारी गर्न नसक्ने र सत्ताबाट आउँदो पाँच वर्षका लागि विमुख हुने कच्चा खेल देउवाले किन खेल्नुभयो ? आखिर माओवादी अध्यक्षले पहिलो चरणमा प्रधानमन्त्री पद दाबी गर्नु भएको थियो । आफ्नो नेतृत्व स्वीकार्य भएमा नेपाली कांग्रेसलाई राष्ट्रपति, सभामुख र कमसेकम दश मन्त्रालयमा सहमति गर्न उहाँको आग्रह थियो ।
प्रदेशको नेतृत्व पनि नेपाली कांग्रेसका भागमा चारभन्दा बढीको संभावना थियो । पुष्पकमल दाहालको दाबी र प्रस्ताव जायज थियो । गठबन्धनबाट निर्वाचित भएकाहरूले आफ्नो पार्टीका उम्मेदवार संख्या एकल दाबी गर्नुको कुनै अर्थ छैन । गठबन्धनबाट विजयीहरू कुनै पनि एकल दलबाट होइनन् । सबै नै सबैका मतबाट विजयी भएका हुनाले ठूलो र सानो भन्ने कुरा हुँदैन । नेपाली कांग्रेसले धेरै स्थानमा उम्मेदवारी दिएको हुनाले केही सिट बढी जित्यो माओवादीको भन्दा । यसरी हेर्दा गठबन्धनमा सहभागी सबैका दाबीहरू जायज थिए र माधवकुमार नेपालको कुनै दाबी थियो भने त्यो पनि सही छ । तर माओवादीलाई कांग्रेस नेतृत्वले गलत बुझ्यो र परिणाम अर्कैतर्फ उन्मुख भयो ।
प्रचण्डको जायज प्रस्ताव भए पनि देउवा आफ्नो हठमा किञ्चित पछाडि हट्नु भएन । ज्योतिष वाक्यमा बढी विश्वास भएर हो कि अन्यकारणले हो उहाँको त्यो हठले नेपाली कांग्रेसका उत्साही सदस्यहरूलाई निराश पारिदियो र कांग्रेस पार्टीभित्र तीव्र असन्तुष्टिको भेल सुरु गरायो । सत्तामा पुग्नकै लागि केही दिन पहिले सम्पन्न पार्टी संसदीय दलको नेतृत्व लिने देउवासँग अर्को दुई वर्षसम्म पार्टीलाई सुधार गर्ने, संगठन विस्तार गर्ने कुनै इच्छाशक्ति देखिएन । प्रधानमन्त्री पदमा मात्रै उहाँको अर्जुन दृष्टि पुग्यो । तर असफल भयो ।
कांग्रेसको आगामी दिनको कदम के होला त्यसमाथि कुनै समयमा विमर्श हुनेछ । अहिले अनेक फरक रंग-रूपको गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा तेस्रो पटक आसीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नवनियुक्त सबै मन्त्रीहरूको कार्यकाल सफलहोस् । सुशासन, सामाजिक न्याय, मानव अधिकार तथा द्वन्द्व पीडितहरूको मागको सम्बोधन गर्ने सामथ्र्य दाहाल नेतृत्वमा रहनेछ भन्ने विश्वासका साथ बधाई तथा शुभकामना प्रकट गर्दछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच