एउटा प्रतीक्षाको अन्त्य

बुधबार बिहानको संसदीय दलका लागि भएको निर्वाचनपछि नेपाली कांग्रेस पार्टीभित्रको एउटा प्रतीक्षाको घडी अब समाप्त भएको छ । नेपाली कांग्रेस पार्टीमा संसदीय दलको नेता को चुनिएला भन्ने विषय सबैका लागि नियालेर प्रतीक्षा गरिएको विषय हो । यो नेपाली कांग्रेस पार्टीको मात्र होइन सबैभन्दा ठूलो पार्टी भएकाले यससँग अरू पार्टीको समेत सरोकार रहेको मानिन्थ्यो । सत्ता गठबन्धनको त यो सन्दर्भ मूल सरोकारमा रहने नै भयो । यसलाई नेपाली कांग्रेसको संसदीय नेता चुनिएपछि मात्र सरकार बनाउने प्रक्रिया अगाडि बढ्ने हो । त्यसै आधारमा अरू दलको समर्थन, विरोधको योजना बन्न सक्थ्यो, पार्टीको भन्दा व्यक्तिको भावना र विचारका आधारमा आफूले नेपाली कांग्रेस पार्टीसँग सम्झौता गर्ने योजना तिनको बन्ने थियो अब त्यसका लागि ती दलहरूलाई बाटो खुलेको छ ।

नेपाली कांग्रेसले पाएको भन्दा आमनिर्वाचनमा नेकपा माओवादी केन्द्रले एक तिहाइमात्र सिट जितेको छ तर माओवादी केन्द्रले नेपाली कांग्रेससँग पालोफेरोमा प्रधानमन्त्री चाहेको छ र त्यसका लागि उसले नेपाली कांग्रेसका नेता तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग गगनकुमार थापासँग भन्दा कम्फर्टटेबल ठानेको थियो जुन हालको नेपाली कांग्रेसको संसदीय निर्वाचनपछि उसले चाहेअनुसार भएको छ । नेपाली कांग्रेसको हिजोको संसदीय दलको नेता चयन सामान्य रूपमा दुईजना व्यक्तिबीचको प्रतिस्पर्धामात्र थिएन । यसतर्फ सर्वसाधारणको चासो थियो । चासो गगन थापाका कारणबाट पैदा हुन पुगेको थियो । उहाँले आफ्नो निर्वाचनको नारा नै आफू प्रधानमन्त्रीको उम्मेदवार हुँ भनेर प्रचारप्रसारमा जानाले पैदा भएको थियो ।

उहाँको यस नाराले उहाँलाई २०४८ सालको आमनिर्वाचनमा सबै शक्ति लागेर तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराए जसरी नै थापाका विरुद्ध सबै शक्ति लाग्लान् भन्ने थियो । यो कुरा थापालाई पनि थाहा नभएको होइन । विपक्षी उम्मेदवारभन्दा चार हजार मत बढी ल्याएर जित्ने प्रक्षेपण गर्नु भएका थापाले अन्तः साढे सात हजार मतान्तरले जित्नुभयो । यसबाट कि उहाँको पार्टीको उहाँलाई मन नपराउनेहरूको दैया नचलेका रूपमा यसलाई हेर्नु पर्नेहुन्छ, कि उहाँले आफूलाई संसदीय दलकको नेताको निर्वाचनमा हराउन नसक्ने हुँनाले उहाँका विरुद्ध आमनिर्वाचनमा त्यत्रो ठूलो शक्ति प्रयोग गर्नुपर्ने जरुरी नदेखेर त्यसरी शक्ति प्रयोग नगरिरएको रहेछ भनेर हाल नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन परिणामबाट पुष्टि हुन्छ ।

नेपाली कांग्रेसका नेताहरूमध्ये धेरैजनाले संसदीय दलमा आफ्नो उम्मेदवारी रहने बताउनुभएको थियो तर तीमध्ये अरूले उम्मेदवारी दिनुभएन । कसैको कतातिर कसैको कतातिर समर्थन रहेको थियो त्यो पहिलेदेखि नै सबैलाई जानकारी थियो । गगन थापाको संसदीय दलको प्रतिस्पर्धा रहन्छ भन्नेमा धेरैलाई पत्यार थियो र उहाँ विजयी भएर प्रधानमन्त्री बन्नुहुन्छ भन्नेमा पनि धेरैको पत्यार थियो तर केहीलाई उहाँले प्रतिस्पर्धा त गर्नु हुन्छ तर विजयी बन्न सक्नुहन्न भन्ने थियो । अन्ततः सत्य त्यही सावित हुनपुग्यो । यो प्रतिस्पर्धा दुई व्यक्तिको होइन दुई पुस्ताको हो भन्ने चाहिँ सबैलाई थाहा छ । यसपटक पनि नयाँ पुस्ताले नेतृत्व लिन नसकेको रूपमा यसलाई हेर्नुपर्ने हुन्छ ।

पार्टीको तेह्रौं महाधिवेशमा सभापति पदमा निर्वाचिन भएयता राम्रा काम गर्न नसकेका कारण पार्टी पछाडि धकेलिँदै गएको आरोप खेप्दै आउनुभएका सभापतिले चौधौं महाधिवेशनपछि पार्टीलाई केही मात्रामा सही लिकमा हिँडाउन सकेको भनेर उहाँको प्रशंसा हुनथालेको थियो । अरू दलसँग गठबन्धन गरेरै सही आपूm तृत्वमा रहेर निर्वाचन गराउँदाको केही फाइदा यसपटक पार्टी सभापति तथा प्रधानमन्त्रीले पाउनुभएको रहेछ भन्ने देखिन आयो । तर, २०४८ सालको आमनिर्वाचनमा जसरी भरखरको सुदूरपश्चिमको राजनीतिक पल्लर भनेर चिनिएको खाइलाग्दो र जल्दोबल्दो उमेरको शेरबहादुर देउवाले २०७९ सालको आमनिर्वाचन जितेको होइन ।

असी वर्ष आसपासको उमेरमा निर्वाचनमा विजयी हुनुभएको नेताका रूपमा जनताले पाउने नेतृत्वले अशातीत सफलता पाउन नसक्ला कि भन्ने आशंका जनतामा छ । निर्वाचनमा आफ्नो प्रतिस्पर्धी बनेको र आफूलाई मत नदिएको आधारमा अर्को समूहलाई पाखा लगाउने कार्य नहोस् भन्ने आमनेपालीको चाहना छ । नेपाली कांग्रेसलाई एक ढिक्का बनाउनेमात्र होइन अरू सबै पार्टीहरूलाई समेत मिलाएर शान्ति, स्थिरता र विकासका कार्यमा सबैसँग हालेमालो गर्दै अगाडि बढेको खण्डमा सबैको देशको भलाइ हुनेछ, हिजोको निर्वाचनबाट संसदीय दलको नेता चयन हुनु भएपछि उहाँलाई प्रधामन्त्री बन्ने बाटो खुला भएको छ । यसका लागि नेपाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई हार्दिक बधाई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?