पीडैपीडामा किसान

कृषि व्यवसायमा संलग्न व्यक्तिहरू नै किसान हुन् । हाम्रो धर्मशास्त्रले किसानलाई पञ्चपितामध्ये एक मानेको छ । पञ्चपितामा पिता, ससुरा, गुरु, राजा र किसान पर्दछन् । पिताले जन्मदिएको, ससुराले छोरी दिएको, राजाले भय हरण गरेको, गुरुले शिक्षा दिएको कारण उहाँहरूलाई पिता मानिएको हो । किसानले अन्न उब्जाउ गरी आफू पालिने र जगतलाई पाल्ने गरेका कारण किसानलाई पनि पिता मानिएको छ । पुराना मानिसहरू उत्तम खेती, मध्यम व्यपार, निर्घिणी जागिर भन्ने गर्थे । यति महत्वपूर्ण भएर पनि हाल कृषि पेशा अवहेलित र उपेक्षित बन्दै गइरहेको छ । पहिले-पहिले सबैजसो मानिस कृषिमै आश्रित हुन्थे तर हालका दिनमा मानिस विभिन्न पेशामा संलग्न छन् । धेरैजसो युवापुस्ता वैदेशिक व्यवसायमा देशबाहिर गएका छन् । यहाँ बुढाबुढीमात्र छन् । खेती गर्नका लागि खेताला पाइँदैनन् ।

त्यस कारणले नेपालका कतिपय खेतबारी बाँझै छन् । बारीहरू जंगलमा परिणत हुँदै गएका छन् र जंगली जनावरहरूको त्रास बढिरहेको छ । सीमित ठाउँमा गरिने खेतीले अब खान पुग्दैन । जबकि एकताका नेपाल खाद्यान्न निकासी गर्ने मुलुकमा पथ्र्यो । अहिले केही सीमिति ठाउँमा व्यावसायिक खेती हुनेगरेको छ तर त्यसका आफ्नै खालका विभिन्न अप्ठ्यारा छन् । एक त उत्पादन गर्नुभन्दा अगाडि नै अनेकौं समस्या छन् । भनेको बेला बिउ, मल तथा कीटनासक विषादी उपलब्ध हुँदैन । जुन बेला जे वस्तु चाहिने हो त्यस बेला नपाइनाले खेती हुनसक्ने कुरै भएन । सरकारले किसानलाई उपलब्ध गराउनुपर्ने यस्ता वस्तु समयमै उपलब्ध हुनसके निश्चय उत्पादन बढ्न जानेछ । खेतीका लागि कृषि औजारको पनि उत्तिकै महत्व हुन्छ ।

यस्ता सामग्री सरकारबाटै किसानका लागि उपलब्ध हुनुपर्ने हो । यस्तै कार्यका लागि आवश्यक पर्ने हो कृषिसामग्री संस्थान । यीलगायत सिँचाइको व्यवस्थासमेत हुनसक्यो भने उत्पादन वृद्धि हुने कुरा निर्विवाद छ । यहाँबाट विदेशमा गएर पनि यस्तै खेती किसानीमै संलग्न रहने नेपालीहरूका कथाव्यथा पढ्न पाइन्छ । त्यही काम यहाँ गर्ने हो भने त्यसबाट एकातिर नेपालीहरू नै लाभान्वित हुन पाउने छन् भने अर्कातिर त्यस खालका व्यवसाय गर्ने व्यक्ति वा समूह लाभान्वित हुन सक्छन् । अर्कोतिर अनेकौं दुःख गरेको उत्पादनको बजार पनि किसानले पाइरहेका हुँदैनन् । अहिले पनि हामी परम्परागत कृषि प्रणालीमै छौँ । गाउँको कोही किसानले गरेको उत्पादन गाउँकै मानिसलाई बाँडेर खाने परम्परा हो नेपालीहरूको ।

यसकारण गाउँघरमा कोही व्यक्तिले कुनै व्यावसायिक उत्पादन गरेको खण्डमा गाउँलेहरूको अपेक्षा किनेर खानेतिर भन्दा त्यसै दिन्छ कि भन्नेतिरै हुन्छ । कुनै-कुनै उत्पादन तुरुन्तै बजार पुर्‍याएर बेच्नुपर्ने खालका हुन्छन् । तिनलाई भण्डारण गरेर राख्न मिल्दैन । विशेषगरी तरकारी वर्गका उत्पादन उत्पादन सँगसँगै बिक्रीवितरण गर्दै जानुपर्ने हुन्छ । कुनै-कुनैलाई सुकाएर राख्न सकिए पनि त्यसको महत्व पहिलेको अवस्थाको जस्तो नरहन सक्छ र केही त त्यसरी राख्न पनि मिल्दैन । सागलाई सुकाएर गुन्द्रुक बनाउन सकिए पनि सागको जति महत्व गुन्द्रुकको रहँदैन । आलु, अदुवा जस्ता कन्दमूललाई केही महिनासम्म राख्न सकिन्छ । दुग्ध पदार्थलाई पनि समयमै बिक्रीवितरण गर्नैपर्छ । गर्मी महिनामा त दूधको व्यापार चुनौतीपूर्ण हुन्छ तर त्यसलाई पनि दूधबाट दही र दहीबाट घ्यू बनाएर आयआर्जन गर्न सकिन्छ ।

प्रश्न हो त्यस्ता उत्पादनको बजार र खपतको । खेतीका लागि फराकिला जग्गाजमिन गाउँघरतिरै पान्छन् । शहरी क्षेत्रमा त्यस्ता जग्गाजमिन कमै पाइन्छन् । अनि त्यस्ता उत्पादनको उपभोग्ता भने शहरी क्षेत्रमा बसोबास गर्छन् । त्यसैले समस्या सिर्जना हुन्छ उत्पादनलाई बजारसम्म कसरी लाने भन्ने । किसान आफैँ बजारसम्म पुग्नसक्दैनन् र उपभोक्ता आफैँ किसानले उत्पादन गर्नेस्थल वा बारीसम्म पुग्न सक्दैनन् । त्यसैले यस्ता समस्यालाई राम्ररी बुझेका बिचौलियाहरूको दबदवा सुरु हुन्छ । यस्ता बजारमुखी अर्थ प्रणालीमा तिनकै हैकम चलेको हुन्छ । किसानलाई लागत उठाउनै धौ–धौ पर्छ भने उपभोक्ता चर्को मूल्यमा किनेर खान बाध्य हुन्छन् । यस्तो अवस्थाबाट किसानलाई राहत दिन सरकारले तिनको उत्पादन लिइदिन सक्नुपर्छ । सरकारले नै उपभोक्तसम्म पुर्‍याउने व्यवस्था मिलाउन सके किसानका दूरावस्थाको पनि अन्त्य हुनसक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?