राष्ट्रपति पौडेलको जीवनी

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँका श्रीमती सविता पौडेल तथा चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) र एक छोरा (चिन्तन) हुनुहुन्छ ।

मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका पौडेलको स्थायी बसोबास तनहुँको व्यास–८ बेलथुम्की हो । हाल काठमाडौँ महानगरपालिका–१६ बोहोराटारमा बस्दै आउनुभएका पौडेलले शास्त्री (संस्कृत साहित्य, २०२४) र स्नातकोत्तर तह (नेपाली साहित्य २०२७) उत्तीर्ण गर्नुभएको छ । पौडेललाई अध्ययनशील, बौद्धिक, सादगी, जुझारु एवम् सङ्घर्षशील व्यक्तिका रूपमा लिइन्छ ।

विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गर्नुभएका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ जेठ/असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनका लागि प्रतिनिधि हुनुभएको थियो । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरी प्रधानमन्त्री विपी कोइरालालगायत नेतालाई जेलमा राखिएकामा त्यसको विरोध गर्दै पौडेल प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभएको हो ।

विसं २०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतले २०१९–२०२० सालमा भएको उपत्यकाव्यापी विद्यार्थी आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा पौडेल गिरफ्तार हुनुभएको थियो ।

नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६) को जिम्मेवारी सम्हाल्नुभएका पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ जिल्ला समितिको संयोजक (२०३७), कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख (२०४०) र २०४३ सालमा कांग्रेस केन्द्रीय सदस्य हुनुभएको थियो ।

नेपाली कांगे्रस पार्टीको केन्द्रीय महामन्त्री २०६२–२०६४, केन्द्रीय उपसभापति २०६४–२०७२ र कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) हुनुभएका पौडेल २०७२ सालमा कांगे्रस पार्टीको कार्यवाहक सभापति हुनुभएको थियो । भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा २०१८ सालमा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोग्नुभएका पौडेल विद्यार्थी आन्दोलनका क्रममा पटकपटक गिरफ्तार हुनुभएको थियो । विद्यार्थी आन्दोलनसहित नेपाली कांग्रेस पार्टीको जिल्लादेखि केन्द्रसम्म विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा पौडेलले १४ वर्षभन्दा बढी जेलजीवन व्यतीत गर्नुभएको थियो ।

पौडेल २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४ र २०७० सालमा लगातार प्रतिनिधिसभा निर्वाचन तथा संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ तनहुँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको हो ।

पौडेल पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, २०४९ सालमा कृषिमन्त्री र २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँले २०५६ साल र त्यसपछि उपप्रधानमन्त्री तथा सूचना/सञ्चारमन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्रीका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३–२०६४_, कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४–२०७०) समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन्’को सम्मान (सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

यसैगरी, सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूल प्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गर्नुभएका पौडेल विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुनुहुन्छ ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?