काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले राष्ट्रियसभा सदस्य प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राख्नुभएको हो । उहाँले राष्ट्रियसभा र प्रतिनिधि सभाका सदस्यको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुखबाहेक अरू कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रियसभा सदस्यको संलग्नताबेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले दुवै सभाबाट उत्पत्ति हुने विधेयक पारित गर्ने अधिकार प्रतिनिधि सभालाई नभई संघीय संसद्को संयुक्त बैठकलाई हुनुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधिसभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताउनुभयो । उहाँले संघीय संसद्मा संयुक्त बैठकको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपतिको निर्वाचन संघीय संसद्को संयुक्त बैठकले गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधिसभा नियमावलीबमोजिम चल्न नसकेको जिकिर गर्नुभयो । उहाँले राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा सञ्चालनमा कार्यकुशलता देखाएको भन्दै प्रशंसासमेत गर्नुभयो ।
माओवादी सरकारमा हुँदासम्म गैरकानुनी काम भइरहन्छ : बस्नेत
नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले माओवादी केन्द्र सरकारमा रहँदासम्म गैरकानुनी काम भइरहने आरोप लगाउनुभएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बस्नेतले माओवादी केन्द्रको नेताका छोराहरू गैरकानुनी कारोबारमा संलग्न भएका सूचना पटक–पटक आइरहँदा पनि कारबाही नहुने बताउनुभएको हो । ‘माओवादी केन्द्रका नेताका छोराहरू गैरकानुनी कारोबारमा संलग्न भएका सूचना पटक–पटक आएका छन् तर माओवादी केन्द्र सरकारमा रहँदासम्म यस्ता गैरकानुनी कारोबारका अनुसन्धान नहुने र आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिइरहने हो ?,’ उहाँले भन्नुभयोे, ‘सत्ता र शक्तिको दुरुपयोग गर्दा यस्ता गैरकानुनी कारोबार गर्न सहज हुने बनाउन हो ?’ बस्नेतले सत्तामा रहेका परिवारका सदस्यहरू गैरकानुनी कारोबारमा संलग्न रहेको भनी विदेशी अदालतले समेत दोषी ठहर गरेको सूचना आए पनि गृह प्रशासन कारोबारमा संलग्नलाई अनुसन्धानको दायरामा नल्याई उन्मुक्ति दिनेतर्फ लागेको बताउनुभयो ।
राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता छ : दाहाल
राष्ट्रिय सभामा नेकपा (एमाले)का संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सधैँ राजनीतिक अस्थिरता हुने गरेको भन्दै राजनीतिक स्थिरताका लागि के गर्न सक्छौँ ? भन्ने कुरामा राष्ट्रिय सभाबाट काम गर्नुपर्ने बताउनुभयो । उहाँले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई फर्काउने बारेमा पनि सरकारले गम्भीर भएर सोच्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले बेरोजगारीकै कारण युवाहरू विदेश पलायन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रसियन सेनामा नेपालीहरू कसरी भर्ती भए ? बेरोजगारका कारण हो । प्रतिपक्षका नेताले भन्नुभएको छ । बेरोजगार र युवा पलायनको अवस्था डरलाग्दो छ । सुरु सुरुमा त जानकारी नभएर पनि कतिपय गएका छन् । पछिल्लो समय त जानकारी भएर पनि बाध्यताले पनि गएको अवस्था छ । यसका लागि सरकारका जिम्मेवारीहरू के हुन् ? भन्ने कुरा छ । सधैँभरि राजनीतिक अस्थिरता हुने र राजनीतिक स्थिरताका लागि के गर्न सक्छौँ, कस्ता कामहरू गर्न सक्छौँ ? भन्ने सन्दर्भमा हामीले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।’ संसदीय दलका नेता दाहालले संघीयतासम्बन्धी कानुनहरू कार्यान्वयन गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
देशको हितमा काम गर्न आवश्यक : सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताउनुभएको छ । बुधबार राष्ट्रियसभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले रुस-युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउने विषयमा सबै राजनीतिक दल सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । सत्ता आफ्नो ठाउँमा छोडेर देशको हितमा काम गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । उहाँले सधैँ आफूले भनेको नै हुन्छ भन्ने घमण्ड राख्न नहुने टिप्पणी गर्नुभयो । ‘हामीले सोचेको जस्तो सजिलो तरिकाले हाम्रा विचार सधैँ लागू हुन्छन् भनेर अहंकार कसैले नगरे हुन्छ’, सिटौलाले भन्नुभयो, ‘मैले भनेपछि त्यही कुरा लागू हुन्छ भन्ने कुरा नसोचे हुन्छ । समय त्यति सजिलो छैन ।’ उहाँले श्रमिकका समस्या समग्र रूपमा समाधान गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रान्तिविरुद्ध एकजुट हुन आवश्यक : सुवेदी
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले प्रतिक्रान्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने बताउनुभएको छ । बुधबार राष्ट्रियसभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । अहिले ‘प्रतिक्रान्तिका झिल्काहरू देखिइरहेको’ भन्दै उहाँले तीविरुद्ध सबै एकजुट हुन जरुरी रहेकामा जोड दिनुभयो । सरकारमा रहने वा नरहने विषय महत्वपूर्ण नभएको उहाँले उल्लेख गर्नुभयो । सुवेदीले अहिलेको महŒवपूर्ण विषय संविधानको रक्षा रहेको बताउनुभयो । ‘यो प्रतिक्रान्तिलाई सबै मिलेर परास्त गर्नुपर्छ । प्रतिक्रान्तिका झिल्काहरू देखा परिरहेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’, सुवेदीले भन्नुभयो, ‘सरकारमा कहिले को हुन्छ, कहिले को हुन्छ । ३० वर्षसम्म पञ्चायती शासनमा उनै सरकारमा थिए । ०४६ पछि अहिलेसम्म अहिलेका मुख्य पार्टीहरू सरकारमा छन् । सरकार अदलबदल भइरहन्छ । यो ठूलो र प्रमुख कुरा होइन । प्रमुख कुरा भनेको संविधानको रक्षा हो ।’
राष्ट्रियसभा अन्तर्गतका समिति सभापतिको निर्वाचन तोकियो
राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूको निर्वाचन मिति तोकिएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले मातहतका चार समिति सभापतिहरूको निर्वाचन मिति तय गरेको हो । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत ४ गते आइतबारको दिन तोकेको जानकारी गराउनुभयो । उहाँले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्याललाई निर्देशन दिनुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत २ गते शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच