वामगठबन्धनको सम्भाव्यता

हालै आमनिर्वाचन समाप्त भएर त्यसको परिणामसमेत आइसकेको छ । अब दलहरू सरकार बनाउने अभ्यासमा छन् । कुनै एउटा दलको स्पष्ट बहुमत नपुगेको र नेपाली कांग्रेस तथा नेकपा एमाले केही सिटले अगाडि-पछाडि भएका छन् । सत्तारुढ गठबन्धनको पनि बहुमत पुगेको छैन र वामशक्तिहरू एकातिर लाग्दा पनि बहुमत पुग्न सक्दैन । जसले सरकार बनाए पनि साना दलहरूलाई समेट्न सक्नुपर्ने हुन्छ । चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सामेल गराउने हो भने चाहिँ बहुमत पु¥याउन नसकेर बीचैमा अड्किएका दलहरूलाई सजिलो हेनेछ तर त्यो सम्भावना कम देखिन्छ । हाल वामपन्थी शक्तिहरू एकातिर समेटिएर सरकार बनाउने प्रयास भइरहेको छ ।

तर, यो सम्भावना कम छ । हिजो झण्डै दुई तिहाइ बहुमत छँदाछँदै आपसी कलहबाट फुटेर टुक्रा-टुक्रा भएका वामशक्तिहरू पुनः एकै ठाउँमा आउलान् भन्ने कल्पना गर्न सकिँदैन । युद्ध, प्रेम र राजनीतिमा सबै कुरा जायज छन् र त्यसको सम्भावना सधैँ रहिरहन्छ भन्ने हो भने पनि वामपन्थी शक्तिका बीच यसरी पुनर्मिलन भइहाल्यो भने एकातिर त्यसलाई एउटा दुर्लभ घटना मान्नुपर्ने हुन्छ भने अर्कातिर यदि उनीहरूबीच एकता भइहाल्यो भने त्यो पहिले जसरी नै अल्पअवधिमै फुटेर छरपष्ट हुन्छ भन्ने अनुमान गर्न पहिलेको घटनाले सजिलो बनाएको छ । उनीहरूबीच मेल हुन सकेको भए वामशक्ति नेपालमा अजेय शक्ति नै सावित हुनसक्थ्यो ।

सम्पत्ति जम्मा गर्नेहरू वामपन्थी हुन सक्दैनन् भन्ने चिनियाँ राष्ट्रपति सी जिन पिङको भनाइभन्दा फरक देखा परे हाम्रो देशका वामपन्थीहरू र सम्पत्ति थुपारेर विलासी जीवनतर्फ आकृष्ट भए । यही कारणले उनीहरूबीच झगडा भयो ।

नेपाली राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चतुर खेलाडीका रूपमा लिइन्छ । म्याकिलाबेलीको शासकमा ब्वाँसाको जस्तो कुटिलता र धुर्तता अनि गाईको जस्तो सरलता पनि हुनुपर्छ भन्ने भनाइ ओलीमा सार्थक हुन आउँछ । वाम गठबन्धनलाई भन्दा सरकार बनाउन सत्तारुढ गठबन्धनलाई नै सजिलो छ तर यसलाई भड्काउन र जनताको ध्यान अर्कातिर मोड्नकै लागि उहाँबाट वामगठबन्धनको कार्ड फ्याँकिएको हो भन्दा अन्यथा हुनेछैन । यसकै लागि उहाँले नेकपा माओवादीका केही प्रभावशाली नेताहरूसँग भेटाघाट गर्नुभएको छ । एमाले र माओवादी केन्द्रका नेताहरूबीच सरकार बनाउने विषयमा छलफल भएको छ तर यो प्रयास राजनीतिमा सम्भावन खोज्ने क्रममा गरिएको प्रयासमात्र हो । यसको कुनै औचित्य छैन ।

नाममा वाम भएका जति सबै एकै ठाउँ रहन सकेका भए नेपालमा वामपन्थीहरूको वर्चश्व निरन्तर रहन सक्नेथियो । पहिलेदेखि नै सानासाना चिरामा विभाजित हुँदै अनेकौँ टुक्रामा टुक्रिएका हुनाले नै उनीहरूमा सांगठनिक सबलता हुन नसकेको हो । २०७४ सालको निर्वाचनमा दुई तिहाएको निकटमा पुगेर पनि सरकार बनाएको केही वर्षमै भागबण्डा नमिलेकाले उहाँहरू जसरी सडकमा जानुभयो त्यसले नेकपाको राजनीतिको विदु्रप रूप देखायो । गालीगलौजको सीमा रहेन । पार्टी नै विभाजन गराएर अर्कै पार्टी दर्ता गर्ने काम भयो । माओवादी केन्द्र पहिलेकै रूपमा फर्कियो भने माधवकुमार नेपालले नेकपा समाजवादी पार्टी स्थापना गर्नुभयो । १० सिट जितेर पनि उहाँको पार्टी राष्ट्रिय पार्टी बन्न सकेन ।

गठबन्धन नगरी निर्वाचनकमा भाग लिएको भए प्रत्यक्षतर्फ यति सिट जित्न उहाँको पार्टीलाई मुस्किलै पर्नेथियो । गठबन्धनले नेपाली कांग्रेसबाहेक माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीलाई हानी भएको छैन लाभ नै हात लागेको छ । नेपालको राजनीतिलाई तहसनहस पार्ने केपी शर्मा ओलीसँग मिलेर सरकार बनाउँदा उहाँहरूलाई केही लाभ हातलागी हुनसक्ँदैन र वामपन्थी शक्तिहरू सबै मिल्दा पनि सरकार बनाउने बहुमत पुग्दैन । त्यस कारण यो प्रयास असान्दर्भिक छ । नेपाली राजनीतिको ध्यान अर्कातिर मोड्नमात्र उहाँले यस्तो प्रयास गर्नुभएको हो । अर्कातिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनकै सरकार बन्छ भनिसक्नु भएको छ । जसले गर्दा वर्तमान गठबन्धन तोडिँदैन भन्ने थाहा हुन्छ ।

जसको गठबन्धनबाट उहाँहरू पनि आफ्नो राष्ट्रिय पार्टीको अस्तित्व जोगाउन सक्षम हुनुभएको छ उहाँहरूबाट त्यस प्रकारको कृतघ्नता होला भन्ने कल्पना हुन सक्दैन । अहिलेसम्म केपी ओलीले अरूको कुरा छोडिदिऊँ वामपन्थीहरूलाई गालीगलौज गरेका कुराहरूको टिपोट गरिएको मात्र भए पनि धेरैवटा पुस्तक तयार हुनेथिए । अहिले आएर उहाँहरूका बीचमा सरकार निर्माणका लागि एकता होला भनेर कल्पना गर्नु नै बेकार छ । कहाँको कसलाई ल्याएर उहाँले बहुमत सावित गर्नसक्नु होला ? त्यस कारण उहाँका प्रस्तावमा सम्भावना देख्ने चाहने वामपन्थी पार्टीहरूको दृष्टिकोण पनि कम्तीमा यसका लागि दोषी नै हो भन्दा बढी मानिने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?