आन्तरिक पर्यटकको रोजाइमा गाईखुरा महादेव मन्दिर

हिमालय टाइम्स
Read Time = 4 mins

दोलखा । दोलखाको मेलुङ गाउँपालिका-२ सुकाठोकरमा ऐतिहासिक तथा धार्मिक तीर्थस्थल गाईखुरा महादेव मन्दिर परिचित छ । यो गाईखुरा महादेवको मूर्तिमा गाईको पाइला, थुन र खुर, बाघको पञ्जा र शिवलिंग प्रष्ट देख्न सकिन्छ । दुई जीवित पहेँला नाग बेला-बेलामा शिलालाई बेरेर बस्छन् । यो शिला कसैले बनाएर राखेको भने हैन, गाईले आफैं दूध झारिरहेको अवस्थामा गोठालाले देखेर खनेर हेर्दा यो शिला पत्ता लागेको स्थानीयको भनाइ छ । कम्तीमा चार सय वर्ष पहिला यो मन्दिर फेला परेको थियो ।

गाईखुरा महादेवको मन्दिरमा गई रुद्री पूजा, आराधना गरी वरदान माग्दा मागेको वर पाइने विश्वास छ । साथै आपतविपद्, दुर्घटना हुनबाट जोगाउने, अकालमा मृत्यु हुनबाट बचाउने, सन्तान नहुनेले सोमबार आएर रुद्री पूजा, आराधना गरे सन्तान प्राप्ति हुने स्थानीय ९१ वर्षीय दिपबहादुर कार्कीले बताउनुभयो । अहिले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थीहरू आउने गर्दछन् । सडक सञ्जाल जोडिएसँगै दैनिक यो मन्दिरमा दर्शन गर्ने र रुद्री, वेद, सबा लाख बत्ती बाल्ने र घुम्नका लागि आउने धार्मिक पर्यटकको संख्या बढेको मेलुङ गाउँपालिकाका रामकृष्ण भण्डारी बताउनुहुन्छ । सदरमुकाम चरिकोटदेखि ३१ किलोमिटर यात्रा गरेर मन्दिर पुग्न सकिन्छ । विकटता तथा प्रचारप्रसारको कमीका कारण छायाँमा परेको स्वयं उत्पन्न गाईखुरा महादेव मन्दिरको विकासका लागि मेलुङ गाउँपालिकाले कम्पाउण्डलगायत विभिन्न कार्यक्रम तथा पूर्वाधार निर्माणको काम गरिरहेको गाउँपालिकाका प्रमुख धिरजकुमार थोकरले बताउनुभयो ।

गाईखुरा महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थानको रूपमा विकास गर्दै आन्तरिक तथा बाहृय पर्यटकहरूको वृद्धि गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणका लागि डिपिआर तयार गर्ने थोकर बताउनुहुन्छ । धार्मिक पर्यटकसँग सम्बन्धित काम गर्दै आएको गाईखुरा महादेव व्यवस्थापन संस्थाले पनि पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्‍याउँदै आएको छ । १० घरलाई होमस्टेको व्यवस्था गर्न माग गरिएको छ । मन्दिरमा भक्तजनले चढाएको एक लाख ६० हजार जम्मा भएको कोषाध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो । आफू र आफ्नो परिवारको सुरक्षाका लागि स्थानीयले पालैपालो पूजा गर्ने गरी केही समयदेखि अखण्ड दियो बाल्दै आएका छन् । कालिञ्चोक भगवती र दोलखा भिमेश्वर मन्दिर दर्शन गरी गाईखुरा महादेव मन्दिर पनि दर्शन गरेर फर्किने धार्मिक पर्यटक बढेका छन् । काठमाडौं कोटेश्वरबाट सिधै गाईखुरा मन्दिरसम्म बसको व्यवस्था छ र चरिकोट सदरमुकामबाट मन्दिरसम्मका लागि बसको व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?