कैलालीमा पर्ने ११ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमास्तम्भको अनुगमन गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी सहितको समूहले जिल्लाको भजनी, कालाकुण्डा र खक्रौलास्थित सीमास्तम्भको अनुगमन गरेको हो ।

नेपाल-भारत सीमाअन्तर्गत कैलालीमा पर्ने ११ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने छ । जसमध्ये चार वटा सीमास्तम्भ मर्मतको काम नेपालको भागमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार सात वटा सीमास्तम्भ भारतले मर्मत गर्नेछ । नेपालले मर्मत गर्नुपर्ने सीमास्तम्भको अवस्था के–कस्तो छ भन्ने बारे बुझ्नका लागि अनुगमन गरिएको उहाँले बताउनुभयो ।

जिल्लाको खक्रोला भन्सारमा राजश्व चुहावट नियनत्रणको बैठक समेत भएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । खक्रौला भन्सार कार्यालयका प्रमुख विमलकुमार शाह नै तस्करीमा लागेको आरोपपछि प्रमुख जिल्ला अधिकारी थापा खक्रौला पुग्नुभएको हो । तर शाह फरार रहेका प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । उनीसँग फोन सम्पर्क समेत भएको छैन ।

प्रमुख जिल्ला अधिकारी थापाको समूहले हुलाकी राजमार्ग निर्माण गर्ने कार्यमा भएका अवरोधहरू सल्टाउनका लागि पनि छलफल गरेको छ । हुलाकी राजमार्ग आयोजनाको कार्यालयले अवरोध रहेको गुनासो गरेपछि सो समस्या समाधानका लागि अनुगमनसहित छलफल गरिएको हो ।

यस्तै जिल्लाको घोडाघोडी नगरपालिकाका मृतक जीतबहादुर डङ्गौराका परिवारलाई राहत स्वरुप दुई लाख रुपियाँ पनि वितरण गरेको छ । आगलागीबाट डङ्गौराको मृत्यु भए पनि उहाँका परिवार राहत पाउनबाट छुटेका थिए । छुटेको परिवारलाई राहत रकम दिइएको छ । मृतककी श्रीमती चरनदेवी डङ्गौरा थारुलाई राहत रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?