अनुप स्मृति आमन्त्रित गोल्डकप : नेर्पा र इनरुवाबीच पहिलो खेल

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको पहिलो खेल नेर्पा भर्सेस इनरुवाबीच हुने भएको छ ।

१७ पुषदेखि २४ पुषसम्म दिक्तेलस्थित माटिकोरे खेलमैदानमा हुने प्रतियोगितामा नेर्पा स्पोर्टस क्लब नेर्पा र एजुकेटेक इनरुवा इभेन्ट सुनसरीबीच प्रतिस्पर्धा हुने भएको हो ।

माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा हुने प्रतियोगिताको दोश्रो खेल दिक्तेल फुटबल क्लब र खोटाङ फुटबल एकेडेमीबिच हुने आयोजकले दिक्तेलमा खेल तालिका बुधबार सार्वजनिक गर्दै जानकारी दिएको छ ।

प्रतियोगिताको तेश्रो खेल चियाबारी फुटबल क्लब इलाम भर्सेस दिप्रुङ चुईचुम्मा गाउँपालिका र खारम्बु स्पोर्टस क्लब खार्मी भर्सेस मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगाबिच हुनेछ । नेर्पा स्पोर्टस क्लब नेर्पा र एजुकेटेक इनरुवा इभेन्ट सुनसरीमध्ये विजेतासँग साकेला गाउँपालिका र दिक्तेल फुटबल क्लब र खोटाङ फुटबल एकेडेमीमध्ये विजेतासँग मितेरी युवा क्लब मोरङ खेल्ने आयोजकले जानकारी दिएको छ ।
गोल्डकप विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार, सेमिफाइनलिष्ट दुई टिमले २५/२५ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउनेछन् । मेन अफ द टुनामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, हरेक प्रतियोगिताका म्यान अफ द म्याचले नगद दुई हजार पुरस्कार पाउनेछन् ।

गत संस्करणहरुको बाँकी रकम, विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीको प्रचारप्रसारबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत अनुप राईको २०६८ जेष्ठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोक नजिक सवारी दुर्घट्नामा ज्यान गएपछि उनको सम्झनामा प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गरिदै आएको सह–संयोजक सगुन ताम्राकारले बताउनुभयो ।

पहिलो र दोश्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिडका कारण तेश्रो संस्करण लम्बिएको ताम्राकारको भनाई छ । यसअघि २०७३ चैत २३ गतेदेखि २७ गतेसम्म पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण सञ्चालन भएको थियो । प्रथम संस्करणमा एक लाख ११ हजार १११ र दोश्रो संस्करणमा एक लाख ५१ हजार १११ पुरस्कार राशी राखिएको थियो । संस्करणसँगै पुरस्कार राशी पनि बृद्धि गरिँदै लगिएको हो ।

दुई संस्करण गोल्डकपको रुपमा सम्पन्न भएको अनुप स्मृति गोल्डकपलाई तेश्रो संस्करणसँगै आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?