बैतडीका ३१ हजार बढी घरधुरी विद्युत्को पहुँचबाहिर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीमा ३१ हजार बढी घरधुरी विद्युत्को पहुँचभन्दा बाहिर रहेका छन् । विद्युत् विस्तारको काम सुस्त गतिमा हुँदा जिल्लाका ३१ हजार बढी घरधुरी विद्युत्को पहुँचभन्दा बाहिर रहेका हुन् । निर्माण व्यावसायीको लापरबाही र प्राधिकरणको उदासिनताका कारण विद्युत् विस्तारमा ढिलाइ हुँदा जिल्ला ३१ हजार २८१ घरधुरी विद्युत् सेवाबाट वञ्चित छन् । विद्युत् विस्तारको काम सुस्त गतिमा हुँदा जिल्लाका स्थानीयहरूले विभिन्न समस्या झेल्दै आएका पुर्चाैडी नगरपालिका–५ का स्थानीय लक्ष्मण बोहराले बताउनुभयो । ‘बिजुली नहुँदा सोलारको उज्यालोको भरमा बस्नुपर्ने बाध्यता छ’, उहाँले भन्नुभयो, ‘घाम नलागेको दिन सोलारले पनि काम गर्दैन त्यसपछि त अन्धकारमै बस्नुपर्‍यो ।’

विद्युत् नभएकै कारण सञ्चार सेवाबाट पनि बञ्चित हुनु परेको सिगास गाउँपालिकाका स्थानीय नरेन्द्र साउदले जानकारी दिनुभयो । अधिकांश टेलिकमका टावरहरू पनि सोलारकै भरमा सञ्चालन हुने भएकाले बादल लागेको दिन फोन सेवाबाट समेत वञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

बैतडीमा विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयले हेर्दै आएका ठूला विद्युतीय निर्माणका कामहरू सुस्त छन् । जिल्लाको पाटन र मेलौलीमा बन्ने भनिएका सबस्टेसनको काममा ढिलाइ भइरहेको छ । पाटन र मेलौलीको सबस्टेसनको ठेक्का पाएको आरके इन्टरनेसनलले लाइन विस्तार र शाखा लाइन विस्तारको काम सम्पन्न गर्ने ठेक्का भएको भए पनि सबस्टेसनको समेत काम सम्पन्न भएको छैन । जिल्लामा बन्ने भनिएका सबस्टेसन निर्माण र लाइन विस्तारमा ढिलासुस्ती भइरहेको मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्दले बताउनुभयो । विद्युतीकरणमा ढिलाइ हुँदा पालिकाबाट प्रवाह हुने सेवामा समेत समस्या हुने गरेको उहाँले जानकारी दिनुभयो ।

सिगास, शिवनाथ, पञ्चेश्वर गाउँपालिका तथा पुर्चाैडी नगरपालिका र मेलौली नगरपालिकामा विद्युत् सेवाको पहुँचभन्दा बाहिर रहेका छन् । दोगडोकेदार, सुर्नया र डिलासैनी गाउँपालिकामा आधा घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुगेको विद्युत् प्राधिकरण बैतडीका प्रमुख पवन भट्टले बताउनुभयो । सुर्नया र दोगडाकेदारमा सबस्टेसनको लागि भर्खरै मात्र ठेक्का भएको र मेलौली, पाटन, सुर्नया र दोगडोकदारमा सबस्टेसनको काम सकिएपछि मात्रै विद्युत् वितरणमा हुने उहाँले जानकारी दिनुभयो । ‘सबस्टेसनको काम धमाधम भएको अवस्थामा अबको दुई वर्षमा विद्युतीकरणमा सहज हुन्छ ’ उहाँले हिमालय टाइम्सलाई भन्नुभयो । ५० हजार ७२ घरधुरी रहेको बैतडीमा १९ हजार १९२ घरधुरीमा मात्रै विद्युत् पुगेको विद्युत् प्राधिकरण बैतडीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?