सम्झनामा महान् फुटबलर पेले

ब्राजिलद्वारा तीनदिने राष्ट्रिय शोकको घोषणा

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । महान् फुटबलर पेलेको निधन भएको छ । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । केही वर्षयता उहाँले मिर्गौला र प्रोस्टेटको समस्या झेलिरहनु भएको थियो । उहाँले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाउनुभएको थियो । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो । यसैगरी, सन् २००० मा पेले फिफा प्लेयर अफ द सेञ्चुरीको उपाधिबाट सम्मानित हुनुभएको थियो । सत्र वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्नुभएका पेलेको वास्तविक नाम भने एजिडिसरन एरेन्टस डो नासिमेन्टो हो ।

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउनुभएको छ । उहाँले आफ्नो २१ वर्षे फुटबल करिअरमा एक हजार ३६३ खेलमा कीर्तिमानी एक हजार २८१ गोल गर्नुभएको छ । देशका लागि उहाँले ९२ खेलमा ७७ गोल गर्नुभएको छ ।

पेले पछिल्लो समय क्यान्सरबाट पनि पीडित हुनुहुन्थ्यो । उहाँ ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मिनुभएको थियो । पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो । १५ वर्षको उमेरमा पेले ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध हुनुभएको थियो । त्यसपछि उहाँले पूरै व्यावसायिक खेल करिअर नै सान्तोसमा नै बिताउनुभयो । पेलेको निधनसँगै ब्राजिलमा तीनदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

बुवासँग विश्वकप जित्ने वाचा
सन् १९५० मा विश्वकप उपाधिका लागि भएको खेलमा ब्राजिल उरुग्वेसँग २-१ गोल अन्तरले पराजित भयो । जसका कारण पूरै देश शोकमा डुबेको थियो । त्यतिवेलै १० वर्षीय पेलेले आफ्ना बाबु दोन्दिन्हो रोएको देख्नुभयो । उहाँले आफ्ना बाबुलाई ‘किन रोएको’ भनेर सोध्नुभयो । उत्तरमा बाबुले भन्नुभयो, ‘ब्राजिलले वल्र्डकप गुमायो ।’ दोन्दिन्हो आफैँ पनि फुटबल खेलाडी हुनुहुन्थ्यो । कहिल्यै कोही रोएको नदेख्नुभएका पेलेले पहिलोपटक आफ्ना बाबु रोएको देख्नुभयो जुन घटनाले विश्वकप गुमाउनु भनेको ठूलो घटना रहेछ भन्ने लाग्यो । बुवालाई सम्झाउँदै उहाँले त्यतिबेलै भन्नुभयो, ‘चिन्ता नगर्नु बुवा । म हजुरलाई वल्र्डकप जितेर दिन्छु ।’

शताब्दीकै महान् खेलाडी पेले फुटबलका जादुगर
एक महान् खेलाडी पेले जसले आफ्नो देशलाई मात्रै चिनाउनुभएन फुटबललाई नै अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनुभयो । उहाँको सम्झना मात्रै अब हामीमाझ रहेको छ । शताब्दीकै महान् खेलाडी मानिने पेलेलाई फुटबलका जादुगर भनेर पनि चिनिन्छ ।

सन् १९५७ मा १७ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गर्नुभएका पेलेले सन् १९५८ को विश्वकप खेल्नुभएको थियो । स्विडेनमा भएको यो विश्वकप ब्राजिलले जित्दा पेलेले मुख्य भूमिका खेल्नुभएको थियो ।

समूह चरणमा एक गोल पनि नगर्नुभएका पेलेकै गोलमा क्वार्टर फाइनलमा ब्राजिलले वेल्सलाई १-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा फ्रान्सलाई ५-२ गोलले पराजित गर्दा पेलेले ह्याट्रिक गोल गर्नुभयो । फाइनलमा स्विडेनलाई ५-२ गोलले पराजित गर्दा पेलेले दुई गोल गर्नुभएको थियो । पेलेले यो विश्वकपमा ६ गोल गर्नुभयो ।

सन् १९६२ मा ब्राजिलले दोस्रोपटक विश्वकप जित्दा पनि टिममा हुनुहुन्थ्यो, पेले । तर, यो विश्वकपमा भने उहाँ आफ्नो क्षमताअनुसार खेल्न सक्नुभएन । उहाँले समूह चरणको खेलमा मेक्सिकोविरुद्ध एक गोल गर्नुभएको थियो ।

सन् १९७० मा ब्राजिलले तेस्रोपटक विश्वकप जित्दा पेले चम्किनुभयो । तेस्रोपटक विश्वकप जित्ने क्रममा फाइनलमा इटालीलाई ४-१ गोलले हराउँदा पेलेले एक गोल गर्नुभएको थियो । ३० वर्षीय पेलेले त्यो विश्वकपमा चार गोल गर्नुभएको थियो । पेलेले चारपटक विश्वकप फुटबल खेल्नुभयो । जसमा १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई दिलाउँदा १९६६ को विश्वकपमा भने ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो ।

५० वर्षको उमेरमा ब्राजिलको कप्तान
पेले एकपटक मात्र ब्राजिलको कप्तान बन्नुभयो । यसअघि उहाँले हरेकपटक क्लब र देशको टिमको कप्तानी गर्न अस्वीकार गर्नुभएको थियो । राष्ट्रिय टिमबाट संन्यास लिएको १९ वर्षपछि सन् १९९० मा उहाँले एक मैत्रीपूर्ण खेलमा कप्तानी गर्नुभएको थियो । ब्राजिलको प्रतिस्पर्धा ‘रेस्ट अफ द वल्र्ड’ टिमसँग भएको थियो । उक्त खेल पेलेको ५०औँ जन्म दिनमा खेलाइएको थियो ।

बाहिर पठाउँदा रेफ्री आउट
सन् १९६८ जुन १८ मा पेलेको क्लब र कोलम्बियाको ओलम्पिक क्लबबीच मैत्रीपूर्ण खेल चलिरहेको थियो । खेलका क्रममा रेफ्रीले गुइलेरमो वेलाक्केजले पेलेलाई मैदानबाहिर पठाइदिनुभयो (रेड कार्डको प्रयोग सन् १९७० पछिबाट मात्र सुरु भएको हो) । उहाँमाथि फउल गरेको आरोप थियो । बेलाक्केजले आफूमाथि पेलेले दुव्र्यवहार गरेको पनि आरोप लगाउनुभएको थियो । तर, रेफ्रीको यो निर्णयको विरोध भयो । सेन्टोसका खेलाडीले रेफ्रीलाई घेरे । स्टेडियममा उपस्थित दर्शक पनि रेफ्रीको निर्णयको विरोध गर्न थाले । सन् २०१० मा एउटा अन्तर्वार्तामा वेलाक्वेजले आफू मैदानबाहिर जानुपरेको बताउँदै सिट्टी लाइन्समेनलाई दिएर पेलेलाई मैदानमा फिर्ता बोलाएको बताउनुभएको थियो ।

तथ्यांकमा पेले
नांगो खुट्टा हिँड्नुपर्ने गरिबीबाट माथि उठेर आधुनिक इतिहासको सबैभन्दा महान् र चर्चित खेलाडी बन्न सफल ब्राजिलका महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा बिहीबार रातिदेखि सधँैका लागि चिर निद्रामा जानुभएको छ । यस्तो छ पेलेसम्बन्धी फुटबलको कही तथ्यांक :-

  • उहाँ १९५८, १९६२ र १९७० गरी तीन विश्वकपको उपाधि जित्न सफल हुनुभयो भने तीनपटक फिफा विश्वकपको उपाधि जित्ने एक मात्र खेलाडी बन्नुभयो ।
  • उहाँ १७ वर्षको उमेरमा विश्वकप ट्रफी जित्ने सबैभन्दा कान्छो खेलाडी बन्नुभयो । जुन कीर्तिमान अझै कायम छ ।
  • क्लब र देशका लागि ८१२ आधिकारिक खेलमा ७५७ गोल गर्नुभयो । जुन पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले तोड्नुभएको थियो । त्यसअघि दशकौँसम्म खडा भएको कीर्तिमान हो यो ।
  • ब्राजिल फुटबल संघ (सिबिएफ) र सान्तोसका अनुसार पेलेले एक हजार ३६७ खेलमा कुल एक हजार २८३ गोल गरेका छन् । तथापि, फिफाले एक हजार ३६६ खेलमा एक हजार २८१ गोल गरेको जनाएको छ । अन्य स्रोतहरूका अनुसार केही फरक तथ्यांक पनि छन् । त्यसमा कस्तो कस्तो खेललाई समावेश गरिएको छ भन्नेमा निर्भर हुन्छ ।
  • ब्राजिलको लागि ९२ आधिकारिक खेलमा ७७ गोल गरेका छन् । ब्राजिलबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी उहाँ हुनुहुन्छ । पेलेको कीर्तिमानसँग नेमारले कतार विश्वकपमा बराबरी गर्नुभएको थियो । नेइमारले ब्राजिलबाट ७७ गोल गरिसक्नु भएको छ । -एजेन्सीको सहयोगमा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?