बहुप्रतीक्षित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार

प्रधानमन्त्री ‘प्रचण्ड’ले आइतबार उद्घाटन गर्दै

हिमालय टाइम्स
Read Time = 8 mins

पोखरा । बहुप्रतीक्षित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार (भोलि) देखि सञ्चालनमा आउँदै छ । झण्डै पाँच दशकदेखि चर्चामा रहेको यो विमानस्थलमा आइतबार अर्थात् अंग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक उडान सञ्चालन गरिने भएको हो । यससँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । यसको सात महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन लागेको हो ।

राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको यस विमानस्थलको व्यावसायिक उडान सञ्चालन हुने भएपछि पोखरेली जनता उत्साहित बनेका छन् । आइतबार नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गर्दै हुनुहुन्छ । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको उल्लेख्य सहभागिता रहने विमानस्थल निर्देशक विक्रमराज गौतमले जानकारी दिनुभयो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिठ्ठेपानी डाँडा कटानको काम पनि अन्तिम चरणमा पुगेको छ । पहिलो चरणअन्तर्गत १६ मिटर कटान गरी यान्त्रिक उडान गरिएको थियो । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । ठेकेदार कम्पनी उमा एण्ड गाल्भा जेभीसँग वैशाख सम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमानस्थल सञ्चालनका लागि चुनौतीका रूपमा रहेको ल्याण्डफिल साइटमा मंसिर १८ देखि फोहोर फाल्न बन्द गरिएको छ । विमानस्थल सञ्चालनमा सहजीकरण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएकाले यसलाई सुव्यवस्थित रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । आइतबारको उद्घाटन समारोहलाई भव्यताका साथ सम्पन्न गर्नका लागि पोखरा महानगरपालिकाले विभिन्न उपसमिति गठन गरी प्रस्तुतिको तयारी पनि गरेको छ ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको थियो । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो । तथ्यांकअनुसार काठमाडौं आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसले पोखरालाई अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ । एरोथाई कम्पनीको जहाजले यही मंसिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरेको थियो । यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे/नगरेको परीक्षणका लागि गरिएको हो ।

नेपाली वायुसेवा कम्पनीहरू उत्साहित
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार (जनवरी १ तारिख) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरू उत्साहित देखिएका हुन् । वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् । कम्पनीहरूले नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको बताएका छन् । वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको आवश्यक सबै सेवा सुविधाहरू रहेको भन्दै आन्तरिक उडान गर्ने यात्रुहरूले समेत अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने भएको बताए । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउँदा एयरलाइन्स उत्साहित रहेको बताउनुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक सबै सेवा सुविधाहरू रहेको पनि बताउनुभयो । उहाँले आन्तरिक रूपमा उडान गर्ने यात्रुहरूले अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने बताउनुभयो । प्रवक्ता बर्तौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउँदा उडान रद्द हुने समस्या हट्ने बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनमा आएपछि पोखरामा मात्रै नभई नेपालको पर्यटनमा कोशेढुंगा सावित हुने दाबी गर्नुभयो ।

त्यस्तै, बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुचारु हुँदा उत्साहित भएको प्रतिक्रिया जनाउनुभयो । उहाँले बुद्धले पोखराबाट गर्ने सम्पूर्ण उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने सम्पूर्ण तयारी गरेको बताउनुभयो । प्रवक्ता कर्णले अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधाहरूले पनि वायुसेवा कम्पनी उत्साहित रहेको बताउनुभयो । उहाँले पोखरा विमानस्थलबाट रात्रिकालीन उडान गर्न मिल्ने हुँदा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा फेब्रुअरीको तेस्रो सातादेखि बुद्ध एयरले उडान भर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?