पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा (भिडियाेसहित)

निर्माण थालिएको साढे पाँच वर्षपछि स्व.अधिकारीसहित पोखरेलीको सपना पूरा

हिमालय टाइम्स
Read Time = 16 mins

काठमाडौं । निर्माण सुरु गरिएको साढे पाँच वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । आइतबार एक विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले दीप प्रज्वलन गरी विमानस्थलको उद्घाटन गर्नुभएको हो । उद्घाटन अघि हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो । पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बुद्ध एयरको जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो । उद्घाटन कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको पनि उपस्थिति थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । यसको सात महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको हो । विमानस्थलबाट पोखराको पर्यटन क्षेत्रले थप लाभ लिने भन्दै स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन् । त्यसको छनक उद्घाटन समारोहमा ठूलो संख्यामा स्थानीयको उपस्थितिमा पनि प्रष्ट देखिन्थ्यो । सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि कोरोना संक्रमणका कारण विमानस्थलको काम रोकिएकाले म्याद थपेर काम भएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेसन (आइकाओ)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गरिएको छ । यो विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका ‘न्यारोबडी’ विमान उडान तथा अवतरण गर्न सक्छ । नेपालका विमानस्थलहरूमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानका यात्रुले एरोब्रिज प्रयोग गर्न पाउने भएका छन् । यहाँ जहाज चढाउन र झार्न भ¥याङ प्रयोग गर्नुपर्ने छैन । अब आन्तरिक उडान पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुन थालेको छ । जोमसोममा हुने उडान, अल्ट्रालाइट र हेलिकप्टर उडान मात्र पुरानो विमानस्थलबाट हुनेछ । नयाँ सुविधा सम्पन्न विमानस्थल प्रयोग गर्न पाइने भएपछि पोखरेलीहरू उत्साहित छन् । पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान रोकिने छैन । ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँछन् ।

पर्यटकीय सहरका रूपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य सहरसँग सिधा सम्पर्क कायम गर्न चार दशकअघि नै विमानस्थल बनाउने योजना अघि सारिएको थियो । साबिक छिनेडाँडा हाल पोखरा महानगरपालिका-१४ मा विसं २०३२ मा पहिलोपटक अन्तर्राष्ट्रिय विमानस्थलका लागि भन्दै तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । त्यसपछि विसं ०७१÷७२ मा थप ५२१ मध्येमा ५१५ रोपनी जमिन तथा ३५ घर टहरा अधिग्रहण गरिएको थियो । पछिल्लो पटक ‘आउटर पेरिफेरि रोड’का लागि भनेर पुनः ५९ रोपनी जमिन तथा ३४ घरटहरा अधिग्रहण गरिएको थियो ।

विमानस्थल शिलान्यास हुँदा रविन्द्र अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समितिका संयोजक हुनुहुन्थ्यो । पछि सांसद हुँदै उहाँ मन्त्रीसमेत बन्नुभयो । सांसद भएकै बेला विकास समिति सभापति बनेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा परिणत गर्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बेला २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर अधिकारीको निधन भयो । अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समिति सदस्य, विकास समिति सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम नै ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ राख्न पोखरेलीले मागसमेत गरेका थिए ।

लामो समय अघिको योजनाअनुरूप सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सिएएमसी इञ्जिनियरिङबीच व्यापारिक सम्झौता भएको थियो । त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच सहुलियत ऋण सम्झौता भएको थियो । चीनको एक्जिम बैंकले सन् २०१७ को मे ३१ मा ऋण स्वीकृत गरेकामा सन् २०१८ फेबु्रअरी २५ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम बैंकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चिता भएपछि विसं २०७४ मा मात्रै सिएएमसी इञ्जिनियरिङले निर्माण थालेको थियो ।

गएको वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गर्नुभएको थियो । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण भएको हो । चिनियाँ कम्पनी सिएएमसीईले २०१७ नोभेम्बर १ मा यो विमानस्थल निर्माण थालेको थियो । यो विमानस्थल तीन हजार ८९९ रोपनी जग्गामा फैलिएको छ । २०३२ सालमै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताउनुभयो । ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा आइतबारदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ,’ उहाँले भन्नुभयो, ‘यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।’

प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शंकरराज पाठक आफ्नो गुरु भएको भन्दै प्रधानमन्त्री दाहालले उहाँको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले चीनसँगको सीमा नाका खुलाई सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिंगो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गर्नुभयो ।

‘म गण्डकी प्रदेशबाट निर्वाचित भई प्रधानमन्त्री बनेको छु, यहाँका जनताले मलाई तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सेवा गर्ने अवसर दिनुभएको छ, यसका लागि धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो । सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूलमन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने उहाँको भनाइ थियो । ‘मैले यसअघि लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे, अब आर्थिक विकास, समृद्धि तथा सुशासन प्रवद्र्धन गर्दै देशलाई विकासको गतिमा अघि बढाउनेछु,’ उहाँले भन्नुभयो ।

‘विकास, समृद्धि र सुशासन आजको आवश्यकता हो’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास, समृद्धि र सुशासन आजको आवश्यकता रहेको बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । अर्थतन्त्रमा केही समस्या भए पनि काबुभन्दा बाहिर नरहेको उल्लेख गर्दै उहाँले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवा लगायतका गन्तव्यसँग जोड्नुपर्ने बताउनुभयो ।

यस्तै, उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताउनुभयो । मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उहाँको भनाइ थियो ।

कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब २२ अर्ब रुपैयाँमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्नुभएको हो । ‘म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछु’, उहाँले भन्नुभयो । सो अवसरमा उहाँले सम्पूर्ण पोखरेली, परिकल्पनाकार शंकरराज पाठक तथा विमानस्थल निर्माणमा खट्ने सबैलाई हार्दिक धन्यवादसमेत दिनुभयो ।

अन्तर्राष्ट्रिय उडानमा अन्योल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारबाट औपचारिक उद्घाटन गरिए पनि अन्तर्राष्ट्रिय उडानमा भने अन्योल कायमै देखिएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने कुरामा नेपाल नागरिक उड्डयन प्राधिकरण नै प्रष्ट देखिएको छैन । बुद्ध एयरले एक महिनाअघि नै अन्तर्राष्ट्रिय उडान अनुमति मागे पनि भारतबाट अहिलेसम्म खबर नआउँदा अन्योल देखिएको हो । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानका लागि चासो देखाएका थिए । तर, भारतले बनारस उड्न सोझो रुट नदिएकाले अहिले उडान नहुने भएको हो । धेरैले पहिलो दिन नै अन्तर्राष्ट्रिय उडान हुने बताइरहेका थिए । तर, नेपालकै हिमालयन एयरलाइन्सले आइतबार काठमाडौंबाट पोखरामा ठूलो जहाज अवतरण गरेको छ । प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार अन्तर्राष्ट्रिय उडान आइतबारै नहुने भएको हो । ‘फेब्रेअरीबाट दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी छ’, उहाँले भन्नुभयो, ‘दुबई, कतार, जजिरा लगायतले उडानमा इच्छा देखाएका छन् । यहीँकै बुद्धले भारतमा उडान भर्ने अनुमति मागे पनि अहिलेसम्म अन्योल छ ।’ उहाँका अनुसार अन्तर्राष्ट्रिय उडान हुन अझै एक महिना बढी लाग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?