रेसुङ्गा नगरपालिकाद्वारा क्याम्पसलाई आर्थिक सहयोग

चेक हस्तान्तरण गर्दै नगरप्रमुख खिलध्वज पन्थी । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

क्याम्पसको आर्थिक अवस्था कमजोर हुन गएपछि गत भाद्र महिनामा आर्थिक संकटकालको घोषणा गरिएको थियो । त्यसलगत्तै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले यस आर्थिक वर्षमा क्याम्पसलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सोही अनुसार नगरपालिकाले रेसुङ्गा बुहुमुखी क्याम्पसलाई पहिलो किस्ता स्वरुप ५० लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बाँकी ५० लाख अर्को किस्तामा हस्तान्तरण गरिनेछ ।

आर्थिक सहयोगको चेक हस्तान्तरण गर्दै नगरप्रमुख पन्थीले जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा क्याम्पसमा आर्थिक दायित्व बढेकोले एक करोड आर्थिक सहयोग गर्ने कायपालिकामा निर्णय गरिएअनुरुप आर्थिक सहयोग गरेको बताउनुभयो । क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट सञ्चालन गर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘गुल्मीको भाग्य र भविष्यसंग जोडिएको रेसुङ्गा क्याम्पस समुन्नतिको आधार हो ।,’ नगरप्रमुख पन्थीले भन्नुभयो, ‘नगरपालिका शैक्षिक धरोहर जोगाउन प्रतिबद्ध छ ।’

क्याम्पसलाई माथि उठाउन आफूले पूर्ण रुपमा सहयोग गर्ने बताउँदै रोजगारी सिर्जना गर्ने नयाँ-नयाँ विषयको खोजी गरि कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘रेसुङ्गा क्याम्पस गुल्मी जिल्लाकै भाग्य र भविष्य हो । यसलाई जोगाउँदा हाम्रो भविष्य जोगिन्छ ।’ स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधार गरि अगाडि बढ्न सके गुल्मीको भविष्य सुरक्षित रहने उहाँले उल्लेख गर्नुभयो ।

रेसुङ्गा बुहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले क्याम्पसमा आफ्नो नेतृत्वमा शैक्षिक र आर्थिक अवस्थाको विषयमा सुक्ष्म अध्ययन गर्दा क्याम्पस आर्थिक रुपले धरासायी बन्दै गएको थाहा पाएपछि सबैसँग सहयोगको अपेक्षा राखेको बताउनुभयो । त्यसमध्ये रेसुङ्गा नगरपालिकाकाले आर्थिक सहयोग गरेको भन्दै धन्यवाद् ज्ञापन गर्नुभयो ।

क्याम्पसलाई नयाँ ढंगले अगाडी बढाउन लागिएको अध्यक्ष भलामीले बताउनुभयो । यसले मात्रै आर्थिक दायित्वपूर्ण नहुने भएकाले आगामी दिनमा पनि निरन्तर सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?