दुई पार्टीको हानथापकाबीच गिरी र महरा को बन्लान् लुम्बिनी प्रदेशको मुख्यमन्त्री ?

हिमालय टाइम्स
Read Time = 4 mins

बुटवल । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन सुरु भएसँगै अव प्रदेश सरकारको नेतृत्व लिन एमाले र माओवादी केन्द्रबीच हानथाप सुरु भएको छ ।  दुवै दलले संसदीय दलको नेता चयन गरेसँगै मुख्यमन्त्री आफूले पाउनुपर्ने दावी गर्न थालेका छन् ।

यद्यपि दुई दिनअघि मात्रै एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको राजधानी दाङ आएका बेला यहाँको सरकारको नेतृत्व एमालेले लिने बताउनु भएको थियो। तर, अहिले भने दुवै पार्टीका संसदीय दलका नेता मुख्यमन्त्रीका लागि केन्द्रका नेतासँग लविङ गरिरहेका छन् ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेले पोलिटब्यूरो सदस्य एवं प्रदेशका सह–इन्चार्ज लिला गिरीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले डिल्लीबहादुर चौधरी र माओवादीले जोखबहादुर महरालाई संसदीय दलको नेता बनाएको छ ।

एमाले महासचिव पोखरेलले भने अनुसार नै भयो भने एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्नुहुनेछ । गत साता माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेश सरकार गठनका विषयमा छलफल भएको थियो ।

जसमा प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा एमाले, लुम्बिनी र सुदूरपश्चिममा माओवादी र मधेश प्रदेशमा जनता समाजवादी पार्टीलाई नेतृत्व दिने विषयमा कुराकानी भएको बताइएको छ ।

लुम्बिनी माओवादीको भागमा पर्यो भने संसदीय दलका नेता महरा मुख्यमन्त्री बन्नुहुनेछ । प्रदेशका एमाले नेताहरू भने ठूलो दलको हैसियतले आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएका छन् ।  चुनावअघि एमाले केन्द्रले मुख्यमन्त्रीको आश्वासन दिएकाले गिरी प्रदेश सभामा आउनु भएको थियो ।

माओवादी संसदीय दलका नेता महरा पनि आफू मुख्यमन्त्रीकै लागि प्रदेशमा उठेको बताउँदै आउनु भएको छ । अध्यक्ष दाहालले पनि आफूलाई मुख्यमन्त्रीको आश्वासन दिएकाले ढुक्क रहेको उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेश सभामा तीन स्वतन्त्र सहित १० दलका ८७ सांसद छन् । जसमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तीन–तीन तथा नेकपा (एकीकृत समाजवादी) का एक सांसद छन् ।

सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । संघीय सरकारलाई समर्थन जनाएका एमाले, माओवादी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमत पार्टी जोड्दा ५२ सांसद पुग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?