रुकुम पश्चिममा मध्यपहाडी लोकमार्ग भासियो

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम खण्डको ठाउँ ठाउँमा समेत भासिएको छ । कमजोर निर्माण सामग्री प्रयोग भएका कारण भासिएको स्थानीयबासीको भनाइ छ ।

रुकुमपश्चिम खण्डको  मुसीकोट नगरपालिकाका वडा नं ६ को दवाङ, वडा नं ७ को सागिने र रोटीलगायतका स्थानमा सडक भासिएको वडा नं ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयाे । सडक भासिँदै जाँदा सवारी दुर्घटनाको जोखिम बढेको र हरेक वर्ष सडक भासिँदै गएको उहाँले बताउनुभयाे । सडक भासिनुका कारण र दीर्घकालीन समाधानका उपायबारे बेलैमा सोच्न जरुरी रहेको उहाँको भनाइ छ ।

हरेक वर्ष एक दुई मिटर गहिरो भएर सडक भासिने गरेकाे स्थानीय बताउँछन्  । उक्त क्षेत्रमा रहेको पानीको मुहानको दीर्घकालीन प्रभाव जाँच गरेर हाल सञ्चालन भइरहेको भन्दा भित्री भूभागबाट सडक खोलिएमा दिगो हुने उनीहरूको भनाइ  छ।

सवारी चालक राम विकले भासिएको सडकखण्डमा गाडी पार गराउन मुस्किल हुनुका साथै भासिएको भूभागमा गाडी वारपार गराउँदा दुर्घटनाको जोखिम बढेको  बताउनुभयाे । मोटरसाइकल, जिप, हाइस र अन्य साना गाडी उक्त स्थानमा ठोक्किने गरेका छन्। अत्यन्त सावधानीपूर्वक उक्त ठाउँमा गाडी आवतजावत गराउनुपरेको चालक विकले बताउनुभयाे । भासिएको सडकखण्ड समयमै सुधार तथा मर्मत हुनुपर्ने उहाँको माग छ।

मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख युवराज पोखरेलले रुकुमपश्चिमको सडकखण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीलाई तत्कालका लागि गिट्टी हालेर भए पनि सडक मर्मत गर्न निर्देशन दिएको बताउनुभयाे । भासिएको सडकखण्डको भू-भागमुनि पानीको मुहान रहेको विषयमा स्थलगत अध्ययन गरेर निष्कर्ष निकालिने कार्यालय प्रमुख पोखरेलले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?