‘चुनौतीलाई अवसरका रूपमा लिनुपर्छ’

Read Time = 4 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व भू-राजनीतिमा देखिएको असन्तुलनलाई अवसरका रूपमा लिई विदेशी विनिमय सञ्चिति, राजस्व तथा उपभोगका लागि रेमिट्यान्समा निर्भर भएको नेपाली अर्थतन्त्रको संरचनात्मक सुधारमार्पmत् मुलुकलाई दिगो आर्थिक वृद्धिको बाटोतर्फ लैजानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा भारतको नयाँदिल्लीमा आयोजित ‘साउथ एसियाज पाथ टु रेसिलिन्ट ग्रोथ’ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सम्मेलनको हाई लेबल पोलिसी प्यानल डिस्कसनमा विशेषज्ञ वक्ताका रूपमा गभर्नर महाप्रसाद अधिकारीले कोरोनापछि नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै विद्युतीय कारोबारका कारण पारदर्शिता र सुशासन अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण निवारणमा टेवा पुगेको बताउनुभयो । उहाँले क्लोज मिटिङ ग्रुपमा कोषको नयाँदिल्लीस्थित तालिम केन्द्रले सार्क मुलुकका केन्द्रीय बैंकको क्षमता विकासमा महत्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै आगामी दिनमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोग थप प्रभावकारी बनाउन कोषलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पुस २२ गते आयोजित उक्त उच्चस्तरीय सम्मेलनकोे उद्घाटन सत्रमा कोषद्वारा प्रकाशित साउथ एसियाज पाथ टु रेसिलेन्ट ग्रोथ नामक पुस्तक सार्वजनिक गरिएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक एन्टोइनेट सेहीले पुस्तकमा समेटिएका विषयवस्तुको सारांश प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले समेत विशेषज्ञ वक्ताका रूपमा धारणा राख्नुभएको थियो ।

सम्मेलन उद्घाटन सत्रमा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले विशेष वक्ताका रूपमा सम्बोधन गर्दै सार्क मुलुकले झेल्नुपरेका वर्तमान आर्थिक चुनौतीका विषयमा धारणा राख्नुभयो । उहाँले मूल्य वृद्धि नियन्त्रण, बाहृय ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि, इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थतन्त्र निर्माणका लागि समन्वयलगायतका विषय सार्क क्षेत्रको नीतिगत प्राथमिकतामा पर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । राष्ट्र बैंकका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँगै सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?