प्रदेश-१ का मुख्यमन्त्रीको सपथ आज, सानो मन्त्रिमण्डल बनाउने तयारी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ । उहाँ आइतबार साँझ मात्रै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

कार्कीले एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

दाबी अनुसार प्रदेश प्रमुख परशुराम खापुङले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । कार्की आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा जुट्नुभएको छ ।

प्रदेश १ मा कुल सांसदको संख्या ९३ छ । जसअनुसार सरकार बनाउन ४७ जनाको बहुमत चाहिन्छ । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी सत्ता पक्षमा ६० जना पुगेका छन् ।

यस्तो छ कार्कीको राजनीतिक यात्रा

२०२१ असोज ११ मा झापाको गौरादह नगरपालिका-३ मा जन्मिनुभएका कार्कीले एसएलसी सम्मको अध्ययन गौरादहकै जनता माविमा गर्नुभएको थियो । कार्की विद्यालयमा अध्ययनरत रहँदै तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध हुनुभयो । यसैबीच २०३६ जेठ १० मा जनमत संग्रहको घोषणा गरियो । यसपछि देशभरि पञ्चायतविरोधी राजनीतिक गतिविधि तीव्र बन्यो । कार्की यही बेला माले पार्टीको सम्पर्कमा आउनुभयो ।

स्कुले जीवन सकेपछि उहाँ कानुनको अध्ययन गर्न धरानको महेन्द्र बहुमुखी क्याम्पस २०४२ सालमा पुग्नुभयो । त्यहाँ उहाँले आइएलको पहिलो ब्याजसम्म मात्र अध्ययन गर्नुभयो । त्यसपछि काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस भर्ना हुन जानुभयो । कार्कीले कानुनमा स्नातकोत्तर तह (एल एल एम)सम्मको अध्ययन पूरा गर्नुभएको छ ।

उहाँ २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुनुभएको थियो । यसअघि क्याम्पसमा प्रारम्भिक कमिटी, काठमाडौं जिल्ला कमिटी, बागमती अञ्चल कमिटी, विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य र मेची अञ्चल समन्वय कमिटीको सदस्य लगायतका जिम्मेवारी उहाँले सम्हालिसक्नु भएको छ ।

कार्की २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गर्नुभएको हो । त्यस महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि उहाँले २०७१/२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इञ्चार्जको जिम्मेवारी बहन गर्नुभयो । पार्टीको संरचना २०७४ पछि संघीयता अनुसारको भएपछि उहाँले प्रदेश १ को प्रचार विभागको प्रमुखको भूमिका पनि निर्वाह गर्नुभयो ।

उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट प्रत्यक्ष निर्वाचित हुनुभयो । यसपछि २०७४ फागुन ३ गते कार्कीले प्रदेशको स्थापनाकालीन मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाउनुभयो । उहाँ हाल नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह-इञ्चार्जका भूमिकामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?